ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नागरिक उड्डयनको बजेट साढे ४१ अर्ब

२०७९ साउन, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९/८० का लागि ४१ अर्ब ८५ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ । आम्दानीको लक्ष्यलाई दोब्बर वृद्धि गर्दै प्राधिकरणले आइतवार सार्वजनिक गरेको बजेट तथा कार्यक्रममा पूँजीगत बजेट गत आवको भन्दा कम छ ।

प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुधार तथा गौतमबुद्ध, पोखरा र अन्य विमानस्थलको पूर्वाधार सुधारलगायतमा चालू आवका लागि २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको छ । आम्दानी लक्ष्य बढाएर १४ अर्ब ३२ करोड ३८ लाख रूपैयाँ पुर्‍याएको छ । गत आव २०७८/७९ मा प्राधिकरणको पूँजीगत बजेट ३२ अर्ब ३ करोड ५८ लाख रूपैयाँ थियो । विनियोजन गरेको बजेटको आधा अंश पनि खर्च भएको छैन । 

प्राधिकरणका अनुसार गत आवमा विनियोजित बजेटको ४१ दशमलव ७० प्रतिशत (१३ अर्ब ३६ करोड रूपैयाँ) खर्च भएको छ । गत आवमा लक्ष्यभन्दा १६ दशमलव ६७ प्रतिशत बढी आम्दानी गरेको प्राधिकरणले चालू आवमा १४ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । प्राधिकरणले गत आवमा ६ अर्ब ३८ करोड २९ लाख आम्दानी लक्ष्य राखेकोमा ७ अर्ब ४४ करोड ७१ लाख रूपैयाँ आम्दानी गरेको छ । 

गत आवमा प्राधिकरणको कुल बजेट ४३ अर्ब ६७ अर्ब ७७ लाख रूपैयाँ थियो । प्राधिकरणले विमानस्थल पूर्वाधार विकास, विमानस्थल सञ्चालन, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरणलाई बजेट तथा कार्यक्रमको प्राथमिकतामा राखेको छ । यसैगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) मा अन्तरराष्ट्रिय टर्मिनल भवन निर्माण, सोही विमानस्थलको पार्किङ वे तथा टर्मिनल भवनको गुरुयोजना बनाउने पनि बजेटमा उल्लेख छ । यस्तै टीआईएकै आन्तरिक टर्मिनल भवनको आगमन हलको निर्माणलाई पनि प्राथमिकतामा राखेको छ । 

बहुवर्षे ठेक्काअन्तर्गतको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा टर्मिनल निर्माण, नयाँ समानान्तर ट्याक्सी वे, एप्रोन र अन्य निर्माण गर्ने, सुरक्षा भवन र विमानस्थलमै पर्ने सडक तथा पुलको काम सम्पन्न गर्ने लक्ष्य छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्ने रिट्ठेपानीको डाँडा कटान, नदी नियन्त्रण जस्ता काम गरिने उल्लेख छ । 

निजगढ अन्तरराष्ट्रिय विमानस्थल बनाउने विषयमा प्राधिकरणले सरकारलाई सिफारिश गर्ने योजना अघि सारेको छ । गत जेठमा सर्वोच्च अदालतले दिएको आदेशअनुसार यो आयोजनालाई अघि बढाउन सिफारिश गरिने प्राधिकरणले जानकारी दिएको छ । बजेट तथा कार्यक्रम प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रस्तुत गरेका हुन् । 

प्राधिकरणले चालू आवमा महेन्द्रनगर, विराटनगर, रारा, जुम्ला, भरतपुर र रामेछाप विमानस्थलमा नयाँ टर्मिनल भवन बनाउने भएको छ ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement