ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

केन्द्रीय बैंकहरूले धमाधम बढाउन थाले ब्याजदर, घरजग्गाको मूल्य बढ्ने क्रम राेकिएला ? 

२०७९ साउन, १६  
अन्तरराष्ट्रिय
NA

काठमाडौं । विश्वभर अकासिएको महँगी नियन्त्रण गर्न केन्द्रीय बैंकहरूले धमाधम ब्याजदर बढाउन थालेका छन् । योसँगै धितो कर्जाको ब्याज बढेको छ । यसको प्रभावले घरजग्गा बजार विस्तारै चिसिन थाल्ने जानकारहरूकाे अनुमान छ । 

जुनमा अमेरिकाकाे घरजग्गा काराेबारले पनि यही कुरालाई पुष्टि गर्छ । जुनमा त्यहाँकाे घरजग्गा बजारमा माग उल्लेख्य स्तरमा घटेको छ । घरजग्गाको मागमा तीव्र कमी आएपछि घरको मूल्य पनि सुस्ताएको छ । गत वर्षको सोही अवधिको तुलनामा मूल्य अझै पनि उच्च नै भए पनि जुनमा मूल्यवृद्धि कीर्तिमानी स्तरमा सुस्ताएको मोर्टगेज सफ्टवेयर, डेटा र विश्लेषक कम्पनी ब्ल्याक नाइटले बताएको छ ।

मूल्यवृद्धिको वार्षिक दर १९ दशमलव ३ प्रतिशतबाट घटेर समीक्षा अवधिमा १७ दशमलव ३ प्रतिशतमा आएको छ । आपूर्ति र मागबीच असन्तुलनका कारण मूल्यवृद्धि अझै पनि उच्च नै छ । वर्षौंसम्म घरजग्गा बजारमा चरम अभाव थियो । कोरोना भाइरसको महामारीको समयमा माग अकासिएपछि यो असन्तुलन झनै खराब बन्यो । 

सन् २००७/०९ को आर्थिक मन्दीको समयमा पनि एकै महीनामा जम्मा १ दशमलव १९ प्रतिशत अंकको मात्रै कमी आएको थियो । समग्रमा घरजग्गा बजार बलियो भएकोले देशभरमा भने घरको मूल्य एकैनासले घट्ने अपेक्षा गरिएको छैन । तर, धितो कर्जाको उच्च दरले यसमा पक्कै पनि प्रभाव पार्नेछ । जुनमा ३० वर्षको स्थिर धितोकर्जाको औसत दर ६ प्रतिशत माथि उक्लिएको मोर्टगेज न्यूज डेलीले बताएको छ । 

त्यसयता यो घटेर ५ प्रतिशतभन्दा तल आएको भए पनि यो वर्ष शुरु हुँदाको बेलाभन्दा निकै उच्च हो । देशभरमा यसअघि सबैभन्दा धेरै मूल्य भएको स्थानको बजारमा तीव्र कमी आएको छ । क्यालिफोर्नियाको सान जोसमा औसत घरको मूल्य गएको दुई महीनामा ५ दशमलव १ प्रतिशत अर्थात् ७५ हजार डलर कम भएको छ । 

सियाटलमा पनि गएका २ महीनामा मूल्य ३ दशमलव ८ प्रतिशत अर्थात् झन्डै ३० हजार डलरले घटेको छ । घरजग्गाको मूल्यमा उच्च कमी आउने अन्य तीन बजार सन फ्रान्सिस्को, सान डियगो र डेनभर हुन् । घरको आपूर्तिमा उच्च वृद्धि भएकै समयमा मूल्य सुस्ताएको छ । गएको दुई महीनामा अमेरिकामा घरको आपूर्ति २२ प्रतिशतले बढेको ब्ल्याक नाइटले बताएको छ । विक्री नभएर बसेका घरको संख्याचाहिँ सन् २०१७–१९ को स्तरभन्दा ५४ प्रतिशत कम भएको बताइएको छ । 

घरजग्गा बजार सामान्य स्तरमा आउने गरी इन्भेन्टरी बढ्न कम्तीमा पनि एक वर्षभन्दा बढी लाग्ने विश्लेषकहरू बताउँछन् । मूल्यमा आएको कमीले औसत घरमालिकहरूलाई सन् २००८ को महामन्दीको बेलामा जस्तो प्रभावित नबनाउने बताइएको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement