ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

किन नेपाली कामदारले नेपालमै काम गर्दैनन् ?

कमाइभन्दा रहर र बाध्यताले विदेश जाने पनि प्रशस्त

२०७९ साउन, १७  
लेख | दृष्टिकोण
Image Not Found
author avatar डा. लोकनाथ भुसाल

नेपालको श्रम बजारमा वार्षिक ५ लाखको हाराहारीमा श्रमशक्ति प्रवेश गर्छन् । श्रमशक्ति सर्वक्षणअनुसार बेरोजगारीको दर ११ दशमलव ६ प्रतिशत छ । रोजगारीको खोजीमा करीब ४० लाख युवाशक्ति विदेशमा रहेको तथ्याङ्क छ । वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशतभन्दा धेरै शीपविहीन जनशक्ति छ । शीप नहुँदा वा आवश्यक नपर्ने हुँदा २–३ लाख खर्चेर श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले गर्ने काम म्यानुअल (शारीरिक) प्रकृतिको हुने गर्छ । यस्तो कामबापत पाउने ज्याला स्वाभाविक रूपले कम हुने गर्छ । लागतको तुलनामा हुने वास्तविक औसत आर्जन कम नै हुने गर्छ । एकातिर नेपाली कामदार रोजगारीको खोजीमा प्रतिवर्ष ठूलो संख्यामा विदेश जाने गरेका छन् भने अर्कोतिर लाखौंको संख्यामा विदेशी कामदारले नेपालमा काम गरेको पाइन्छ । नेपालीहरूले वैदेशिक रोजगारीमा जाँदा आर्थिक र अन्य लागत उठाउनुपर्छ । यस क्रममा कति कामदार ठगीमा पनि पर्ने गरेका छन् भने कतिको घरपरिवारको सुखशान्ति नै उजाड हुने गरेको छ ।

कतिपय अवस्थामा समान प्रकृतिका काम र तुलनायोग्य सेवासुविधा नेपालमै उपलब्ध हुँदा पनि त्यस्तो काम नेपाली कामदारले देशभित्रै नगरेर चर्को शुल्क तिरेर विदेश जाने गरेको अवस्था छ ।

देशभित्रै उपलब्ध विदेशीले गर्ने काम नेपाली कामदारले नगरी लागत र जोखिम मोलेर वैदेशिक रोजगारीमा जाने नेपालीहरूको बढ्दो प्रवृत्तिले नेपालको श्रम बजारमा गम्भीर अवस्थाको सृजना गरेको छ । रोजगारीका कतिपय क्षेत्रमा नेपाली कामदारको अभाव भएको छ भने यस्ता काममा विदेशी कामदार लगाउनु पर्दा देशको धन बाहिरिएको छ । विकास निर्माणका काममा स्थानीय नागरिकको स्वामित्व र अपनत्व हराउँदै गएको छ । यसै सन्दर्भमा यस आलेखमा नेपाली कामदारले नेपालमा काम नगर्ने, तुलनायोग्य प्रकृतिका काम र आय आर्जन गर्न लाखौं खर्चेर वैदेशिक रोजगारीमा जाने र त्यही काम विदेशी कामदारले नेपालमा गर्ने नेपाली श्रम बजारको विद्यमान विशिष्ट अवस्थाका कारणहरूको चर्चा गरिएको छ ।

पहिलो, कतिपय क्षेत्रमा शीपयुक्त नेपाली कामदारको कमी हुँदा नेपाली निर्माण व्यवसायी र उद्योगपतिहरूले विदेशी कामदारलाई काममा लगाउने गरेका छन् । यसबाट नेपालको शिक्षा प्रणाली र शीप विकास कार्यक्रममाथि प्रश्न उठ्ने गरेको छ । सैद्धान्तिक पक्षको बोलवाला भएकाले शिक्षा र शीपले पाल्छ भन्ने चेतनाको कमीका कारण नेपाली कामदारको शीप प्राप्त गर्नेतर्फ उत्साहको कमी देखिन्छ । युवाहरूमा सानो शीप प्राप्त गरेर काम गर्नेभन्दा माथिल्ला तहका डिग्री प्राप्त गर्ने र ठूलो काम खोज्ने प्रवृत्ति बढ्दो छ । तर, नेपालको सानो श्रम बजारमा सबैलाई ठूलो काम मिल्दैन । सरकार र निजीक्षेत्रले पनि शीप विकासमा यथोचित ध्यान दिन नसक्नाले पनि देशमा शीपयुक्त जनशक्तिको कमी भएको हो । नेपाली कामदारलाई देशभित्रकै श्रमबजारमा आकर्षित गर्न श्रम बजारको बदलिँदो स्वरूपअनुसारको शीपयुक्त जनशक्तिको विकास गर्नुको विकल्प देखिँदैन ।

दोस्रो, नेपाली कामदारहरूले शीप नचाहिने सानातिना काम देशभित्रै गर्न नचाहनु हो । विदेशमा दाम पाउने निम्नस्तरको काम पनि गर्ने तर देशभित्र सानातिना काम गर्न लाज मान्ने प्रवृत्ति युवाहरूमा विद्यमान छ । विदेशी कामदारले नेपालमा फोहोरबाट मोहोर बनाएका छन्, जबकि कतिपय नेपाली कामदार विदेशमा सरसफाइको काममा संलग्न छन् । २०७७ सालमा नवलपरासी जिल्लामा रहेका २३ ओटा इँटा उद्योगमा मात्र २ हजार २ सय जना विदेशी कामदारले काम गरिरहेका थिए । इँटा बनाउने काम किन नेपाली कामदारले गरेनन् ? शायद यो काम उनीहरूका लागि सानो भयो, समाजको अगाडि लाज लाग्ने भयो वा यस्तो काम नेपालमा उपलब्ध भएको कतिपय कामदारलाई जानकारी भएन । बाजुराको नेपाली कामदारलाई नवलपरासीमा इँटा बनाउने काम उपलब्ध छ भन्ने जानकारी भएको भए उनी शायदै स्याउ टिप्न भारतको सिम्ला जान्थे होला । आश्चर्य के छ भने वैदेशिक रोजगारीमा जाने कतिपय नेपालीले नेपालमा विदेशी नागरिकले गर्नेभन्दा पनि निम्नस्तरको र कम ज्यालामा काम गर्ने गरेको भुक्तभोगीले बताउने गरेका छन् । नेपालमा सानो कामलाई हेयको दृष्टिले हेर्ने र हरेक कामलाई सम्मान गर्ने संस्कृतिको कमीका कारणले यस्तो अवस्था आएको हो ।

तेस्रो, नेपाली रोजगारदाताको नाफा कमाउने उत्कट चाहनाले पनि नेपाली कामदारले नेपालमा काम नगरेका हुन् । उद्योगी–व्यवसायीको उद्देश्य नाफा कमाउनु हो । नाफा कमाउन लागत घटाउनु पर्छ । सस्तो ज्यालाका कामदार उनीहरूको प्राथमिकतामा हुने गर्छन् । नेपाली कामदारको तुलनामा विदेशी कामदारले थोरै ज्यालामा काम गर्ने तयार भएमा निर्माण व्यवसायीले विदेशी कामदार नै छनोट गर्छन् र गरिरहेको देखिन्छ । सिक्टा, महाकाली सिँचाइलगायत सरकारी लगानीका ठूला विकास निर्माणका आयोजनामा पनि १५ लाख विदेशी कामदारले काम गरिरहेको बताइन्छ । यस्ता कामदारले नेपाली कामदारले भन्दा कम ज्यालामा काम गरिरहेको बताइन्छ । विदेशी कामदारलाई नेपाली श्रम कानून लागू नहुने र उनीहरू संगठित पनि नहुने भएका कारण पनि व्यवसायीहरूले विदेशी कामदारबाट काम लिने गरेको पाइन्छ । सरकारी निकायबाट यसको प्रभावकारी नियमन गरी स्थानीय तहहरूमा सूचीकृत भएका नेपाली श्रमिकलाई काममा परिचालन गर्नु जरुरी छ ।

चौथो, नेपाली कामदारमा काम गर्ने संस्कृतिको कमीले गर्दा पनि नेपालीहरू वैदेशिक रोजगारको जालोमा फसेका हुन् । व्यवसायीहरूले नेपाली कमादार राजनीतिक रूपमा संगठित हुने, काम गर्नुपर्ने समयमा बारम्बार बिदामा बस्ने, अतिरिक्त समय काम नगर्ने, घरपरिवारको समीपमै रहने भएकाले चाडबाडको समयमा पनि काममा अनुपस्थित रहने लगायत कारणले पनि विदेशी श्रमिकलाई काम दिने गरेका छन् । धेरै सेवासुविधा खोज्दा रोजगारी नै गुमाउनुपर्ने जोखिम नेपाली कामदारले उठाउनु हुँदैन । रोजगारदाताले पनि नाफाका लागि नेपालीको गाँस खोस्नु हुँदैन । यसका लागि कामदार र रोजगारदाता दुवै पक्षका कमीकमजोरीमा सुधार गरी देशभित्रको काम स्वदेशी कामदारलाई नै सुनिश्चित गर्ने कानूनी र व्यावहारिक प्रयास आवश्यक देखिन्छ ।

पाँचौं, प्रदर्शन प्रभावका कारण पनि नेपालीहरूले तुलनायोग्य काम नेपालभित्र नगरिरहेको अवस्था छ । वल्लोपल्लो घरका युवा वैदेशिक रोजगारीमा गएपछि बीचको घरका युवालाई पनि वैदेशिक रोजगारीमा जाने दबाब छ । अरूले दाम कमाएर ल्याएर जीवनस्तरमा सुधार गरेको देखेपछि त झनै दबाब पर्छ नै चाहे त्यति नै स्तरको जीवनयापन स्वदेशमा काम गरेर नै कायम गर्न सकियोस् । घरका उत्पादनशील खेतबारी बँझ्याएर विदेशिनेको लर्को ठूलै देखिन्छ । त्यसैले कतिपय युवाका लागि वैदेशिक रोजगारी बाध्यता नभएर रहर पनि भएको छ । यस्तो गलत रहरले देशका गाँउघर र पाखापखेरा बन्जर बन्दै छन् । त्यसो त कतिपय युवाले वैदेशिक रोजगारीको स्वाद चाखेर नेपालमै रोजगारी वा स्वरोजगारीमा पसिना बगाउन लागेको पनि देखिन्छ ।

अन्त्यमा, कामदार कहाँ काम गर्छन् वा बसोवास गर्छन् भन्ने बारेमा अर्थशास्त्रको तान्ने र ठेल्ने (पुस–पुल) सिद्धान्तले सेवासुविधा बढी हुने ठाउँ वा देशमा काम गर्ने वा बसोवास गर्ने र सेवासुविधा कम हुने ठाँउमा काम नगर्ने वा बसोवास नगर्ने भनेर स्पष्ट पारेको छ । कतिपय अवस्थामा समान प्रकृतिका काम र तुलनायोग्य सेवासुविधा नेपालमै उपलब्ध हुँदा पनि त्यस्तो काम नेपाली कामदारले देशभित्रै नगरेर चर्को शुल्क तिरेर विदेश जाने गरेको अवस्था छ । यसका मुख्यमुख्य कारणमाथि औंल्याइएको छ । नेपालको श्रम बजारमा यसको नकारात्मक प्रभाव परेकाले यी कारणको निदानमा नै नेपालको श्रम बजारको अस्तित्व, नेपालको स्वाभिमान र आत्मनिर्भरता जोडिएको छ । छिमेकीको तुलनामा सानो श्रम बजार र अर्थतन्त्र रहेको नेपालमा नेपाली कामदारलाई नै शीपयुक्त र संस्कारित बनाई देशभित्र नै रोजगारी प्रदान गर्ने वातावरण सृजना गरिनुपर्छ । रोजगारदाताले पनि देशभक्तिको भावनाबाट अलिकति स्वार्थलाई छोड्नुपर्छ । यसले विप्रषणले ल्याउने विकृति (डच रोग) विरुद्ध काम गर्नुका साथै नेपाली कामदारलाई वैदेशिक रोजगारीका तमाम शोषण र अन्यायबाट मुक्त गरी स्वदेशी अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण कोसेढुङ्गाको भूमिका निर्वाह गर्नेछ । यस्तो महत्त्वपूर्ण विषयमा गहन अध्ययन पनि हुनुपर्ने देखिन्छ ।

राष्ट्रिय योजना आयोगमा कार्यरत डा. भुसालका यी विचार निजी हुन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement