ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अनुदान कुम्ल्याएपछि फार्म बन्द

२०७९ साउन, १७  
बागमती प्रदेश
NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतमा ‘सरकारी अनुदान लिन’ खोलिएका कृषि तथा पशुपालन फार्महरू धमाधन बन्द हुन थालेका छन् । सरकारी अनुदान कुम्ल्याउनकै लागि सञ्चालनमा ल्याइएका फार्म अनुदान लिइसकेपछि बन्द हुन थालेका हुन् ।

केही वर्षअघि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)बाट डेढ करोड रुपैयाँ अनुदान पाएको पर्वतको महाशिला गाउँपालिकाको नमूना बाख्रा फार्म अनुदान पाएको एक वर्षपछि बन्द भयो । महाशिला–१ होस्राङ्दीमा बाख्राको स्रोत केन्द्रको रूपमा विकास गराउन भन्दै सञ्चालनमा ल्याइएको बाख्रा फार्म बन्द भएको हो । २०७४ सालमा आयोजनाबाट अनुदान पाएको उक्त फार्ममा अहिले झार र सिस्नो उम्रिएको छ भने पक्की संरचना खण्डहर बनेका छन् । २०० रोपनी क्षेत्रफलमा बाख्रापालनका लागि बनेका ६ ओटा खोरमा अहिले बाख्रा छैनन् ।

पहुँचको भरमा पाएको अनुदानको दुरुपयोग भएको स्थानीय भीमप्रसाद काफ्लेले बताए । दुई छाक खानका लागि जोहो गर्न खाडी जानुपर्ने बाध्यता रहेको गाउँपालिकामा करोडौं रुपैयाँका फार्म अलपत्र पारिएको काफ्लेले बताए ।

त्यतिबेला बाख्रापालनका लागि भनेर संरचना बनाएको आफूले देखेको तर, बाख्रा नदेखेको दाबी उनले गरे । ‘अहिले बुझ्दा अनुदान पाउनकै लागि संरचना बनाइएको हो कि भन्ने लाग्छ,’ उनले भने, ‘अहिले बाख्रा नै छैनन् ।’ संरचना बनाएको केही समयसम्म करीब ५० ओटा बाख्रा राखिए पनि अहिले भवन मात्र रहेको स्थानीय कला भट्टराईले बताए । स्थानीय २९ जनाको शेयर र प्याक्टको अनुदानमा शुरू गरिएको सो परियोजना अलपत्र परे पनि हालसम्म कुनै पनि सरकारी निकायले अनुगमन गरेको छैन ।

स्थानीय २९ जनाले होस्राङ्दी, उराम, भोक्सिङका कृषकको साझेदारीमा सञ्चालन गरेको फार्म आर्थिक समस्याले बन्द भएको हुन सक्ने महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । यद्यपि सो फार्मका मुख्य सञ्चालक उनै हुन् ।

अनुदानसहित ३ करोड रुपैयाँ लागत अनुमान गरेर उनले फार्म सञ्चालनको तयारी गरेका थिए । तर, अनुदान पाएपछि व्यक्तिले लगानी नगर्दा अनुदानको सदुपयोग नभएको उनले बताए ।

फार्ममा ५०० माऊ बाख्रा पाल्नेगरी बनाइएका घाँस संकलनदेखि पानी खुवाउनेसम्मका संरचना छन् । अनुदान उपलब्ध गराउने समयमा भने फार्ममा बाख्रा रहेको भेटेरिनरी अस्पताल एवं पशु विज्ञ केन्द्र पर्वतले बताएको छ । केन्द्रका प्रमुख रामजी पौडेलले अनुदान उपलब्ध गराउँदा फार्ममा बाख्रा रहेको, तर अहिले भने अनुगमन नभएको स्वीकारे । यस्तै, जिल्लाको कुश्मा नगरपालिका–२ को अर्मादीमा सञ्चालनमा आएको कुखुराको मासु प्रशोधन केन्द्र अहिले आंशिक रूपमा विक्री भइसकेको छ । कृषक लालबहादुर हरिजनले सञ्चालन गरेको उक्त फार्म अनुदान आफूले लिएर अन्य व्यक्तिलाई शेयर विक्री गरेको पाइएको छ । अम्बोटमा रहेको उनको नमूना व्यावसायिक कृषि फार्म समेत अनुदान आएपछि विक्री गरिएको छ ।

यससँगै ठूलो अनुदान पाएका जिल्लाका अन्य ठाउँका फार्म पनि बन्द भएका छन् । कतिपय फार्म अनुदान पाएपछि विक्री गरिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement