ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कसरी बन्ने लखपति ! नियमित बचत, लगानी अनि कन्जुस्याई : अधिकांश धनाढ्यहरुको आनीबानी

२०७९ साउन, १७  
समाचार र यो पनि स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar अभियान संवाददाता

साउन १७, काठमाडौं। धनसम्पत्ति, जग्गा जमिन प्रशस्तै भएका मानिसहरु सम्पत्तिको उचित व्यवस्थापन गर्न नजान्दा कंगाल बनेका थुप्रै उदाहरण छन् । दुई छाक खान अनि एक सरो लुगा लगाउन अनेकौं सास्ती खेप्नु पर्ने अवस्थाका मानिसहरु करोडपति बनेका पनि छन् ।

धनी बन्न के गर्नु पर्ला ? धनाढ्यहरुको आनीबानी कस्तो हुन्छ होला ?  पैसा वा धनसम्पत्तिबारे उनीहरुको धारणा कस्तो होला ? यस्तो खालको सोच हामी सबैमा आउँछ । २२५ जना लखपतिसँग गरेको कुराकानीका आधारमा धनाढ्यहरुको आनीबानीबारे पुस्तक लेख्ने लेखक टम कोर्लेले ३ खाले धनाढ्य भेटेका छन् अनि उनीहरुको बानीमा केही समानता पाएका छन् ।    

बचतकर्ता/लगानीकर्ता :
जागिर वा अन्य कुनै काम जे भएपनि अधिकांश धनाढ्यहरुमा बचत गर्ने बानी छ । यसरी बचाएको पैसा लगानी गर्ने उनीहरुको दैनिकी नै हो । यिनीहरु हरहमेशा आफ्नो सम्पत्तिलाई बढाउने ‘स्मार्ट’ तरिका सोचिरहेका हुन्छन् । 

कम्पनीमा पदोन्नति :
कोर्लेले कुराकानी गरेका अधिकांश धनाढ्यहरु ठूलो कम्पनीमा काम गर्थे । अनि आफ्नो अधिकांश समय र ऊर्जालाई उनीहरु कर्पोरेट ल्याडर (पदोन्नतिको भर्याङ्) कसरी चढ्न सकिन्छ भन्नेमा प्रयोग गर्थे । उच्च तलब भएको शीर्ष कार्यकारी पदमा नपुग्दासम्म उनीहरुको आरोहण जारी रहेको कोर्लेले पाएका छन् । 

प्रतिभाशाली :
जसले जे काम गरेपनि उनीहरु आफ्नो काममा साह्रै पोख्त थिए । उनीहरुको ज्ञान र विज्ञताका लागि कम्पनीले पनि उनीहरुलाई उच्च तलब दिएको थियो । 

स्वप्नद्रष्टा :
यो समूहमा रहेका हरेक व्यक्तिको आ–आफ्नै सपना छ । कसैले आफ्नै व्यवसाय खोल्ने सपना देखेका छन् । कसैको सपना सफल अभिनेता बन्ने छ । कसैलाई प्रख्यात संगितकार बन्ने रहर छ भने कोही चर्चित लेखक बन्न चाहन्छन् । आफ्नो जीवनयापनका लागि गरिरहेको कामलाई पनि यिनीहरु उत्तिकै मन पराउँछन् अनि यिनीहरुको लगाव र रुचीले व्यक्तिगत आम्दानी पनि बढाएको पाइएको छ । 

आफूले कमाएको पैसा अलि-अलि भएपनि जोगाउनु त पर्छ नै, थोरै रकमलाई धेरै बनाउने हो भने जोखिम मोलेर लगानी गर्न पनि सक्नुपर्छ । उद्यमशीलता र कलाकारिता क्षेत्रको लगाव पूरा गर्ने हो भने यो अपरिहार्य छ ।

तर, आफूले कुराकानी गरेका ८८ प्रतिशत धनाढ्यहरुले आफ्नो दीर्घकालीन वित्तीय सफलतालाई विचार गरेर लगानी गर्ने गरेको कोर्ले बताउँछन् । उनले कुराकानी गरेका धनाढ्यहरुले १२ देखि ३२ वर्षको बीचमा औसतमा ३० लाख देखि ७० लाखसम्मको नेटवर्थ जम्मा पारेका छन् । 

कोर्लेले भेटेका अधिकांश धनाढ्यका बानीमा केही समानता पाइन्छ । धनीहरुको आनीबानी हेरेर हामीले पनि त्यस्तै खालको बानीको विकास गर्न वा सोही अनुरुपमा व्यवहारमा लागू गर्न सक्छौं । धनाढ्य्हरूमा पाइएका तीन प्रमुख बानीहरु यस प्रकार छन् । 

१. नियमित रुपमा बचत गर्ने 
हरेक महीना तलब आउने बित्तिकै सबैले आफ्नो तलबको २० प्रतिशत वा सो भन्दा बढी हिस्सा नियमित रुपमा बचत गर्ने गरेका छन् । अधिकांशले आफूले पाएको तलबको निश्चित अनुपात मात्रै झिक्ने गरेका थिए ।

बाँकी रकममध्ये आधा रोजगारदाताले प्रायोजन गरेको सेवानिवृत्ति कोषमा राख्थे अनि बाँकी आधा छुट्टै बचत खातामा जम्मा गर्ने गरेका थिए । बचत खातामा जम्मा भएको रकमलाई पनि ब्रोकरेज खाता लगायत लगानी खातामा हालेर लगानी गर्थे  । तपाईले अहिले तलबको २० प्रतिशत नै जोगाउन पर्छ भन्ने छैन । आफ्नो आवश्यकता अनुसार सानो अनुपातमा नियमित रुपमा बचत गर्ने बानी बसाल्न सक्नु हुन्छ । यसले भविष्यको वित्तीय लक्ष्यहरु हासिलमा मद्दत मिल्नेछ । 

२. बचतको निश्चित हिस्सा नियमित रुपमा लगानी गर्ने 
यिनीहरुले नियमित रुपमा आफूले बचत गरेको पैसा लगानी गर्ने भएकोले समय बित्दै जाँदा पैसा चक्रिय रुपमा बढ्दै जान्छ ।

लगानी शुरु गर्दा रकम त सानो हुन्छ । तर नियमित रुपमा लगानी गरेको १० वर्षपछि पैसा बढेर निकै धेरै भइसकेको हुन्छ । उमेर घर्किदै जाँदा उनीहरुको औसत सम्पत्ति बढेर ३३ लाख भएको कोर्ले बताउँछन् । उद्यमशीलताको सपना देखेर व्यवसाय शुरु गर्नेहरुले आफूले बचाएको रकम उद्यमको शुरुआती दिनमा लगानी गर्दैनन् । सबैले यसलाई कार्यपूँजीको रुपमा राखेको पाइयो । अधिकांश व्यवसायहरु शुरु गरेको केही समयपछि आवश्यक नगद प्रवाह नभएर डुब्ने गरेका छन् । नियमित रुपमा बचाएको रकमलाई कार्यपूँजीको रुपमा चलाउँदा धेरैले व्यवसायमा सफलता हात पारेको पनि कार्लो बताउँछन् । 

३. अति नै कञ्जुस
कोर्लेले कुराकानी गरेको अधिकांश लखपति अति नै कन्जुस थिए । पहिलो तलब पाउँदादेखि नै उनीहरुले मितव्ययी भएर खर्च गर्न थालेका थिए । आफूले खर्च गर्ने पैसाप्रति उनीहरु निकै सजग थिए । पैसा गुणस्तरीय सामान अनि सेवामा मात्रै खर्चन्थे । अनि जस्तो सुकै खरिदारी र किनमेल गर्दा पनि मोलतोल गरेर सकेसम्म कम पैसा तिर्ने गरी गर्थे । 

हुन त कञ्जुस्याई गरेकै भरमा कोही पनि धनी हुँदैन । यो चाँहि हामीलाई अचम्मित बनाउने धनीहरुको बानी हो । कन्जुस्याई गर्दा अलि धेरै रकम बचत गर्न सकिन्छ । जति धेरै बचत गर्यो उति नै लगानीका लागि धेरै रकम जम्मा हुन्छ । एजेन्सी

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement