ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पूँजीहीन पूँजीवादी बन्नबाट बचौं

२०७९ साउन, १८  
लेख | दृष्टिकोण
Image Not Found
author avatar रामप्रसाद गौतम

पूँजी मानव निर्मित उत्पादनको एक साधन हो जुन प्रकृतिमा निःशुल्क पाइँदैन । कुनै निःशुल्क चिजलाई पनि थप व्यवस्थित गरेर लगानी गरे मात्र पूँजीका रूपमा विकसित हुन्छ । नदीको पानी भूमिको अंश हो भने नहर कुलो बनाएर खेतमा लगेको पानी जसले उत्पादनको मात्रा बढाउँछ, त्यो पूँजी हो । पूँजी मानवीय श्रम, बुद्धि मेहनतबाट बनेको हुन्छ ।

निजीक्षेत्रले भौतिक पूँजीको प्रयोग थप कमाइका लागि गर्छ तर सरकारले प्रायः जनसेवाका लागि गर्छ ।

पूँजी निजीक्षेत्रले निर्माण गर्छ भन्ने आम मान्यता छ र सरकारसँग पनि पूँजी हुन्छ तापनि जनताले स्वतन्त्र रूपमा पूँजीको परिचालन गर्ने छूट भएको अर्थ व्यवस्थालाई मात्र पूँजीवाद भन्ने गरिन्छ । उस्तै प्रकृतिको पूँजी सरकारको माध्यमबाट परिचालन गर्नुलाई साम्यवाद वा समाजवादका रूपमा परिभाषित गरिन्छ । सरकारको पूँजीमा त्यसको अभिवृद्धिको उत्प्रेरणा कसैसँग हुँदैन । सरकारले कर्तव्यका रूपमा सार्वजनिक पूँजी सञ्चालन गर्छ भने निजीक्षेत्रले थप नाफा बढाउने उत्साहका रूपमा पूँजी परिचालन गर्छ ।

बितेका ३ सय वर्षमा पूँजीको निजी प्रयोगको बढ्दो दरले उत्पादनको मात्रामा व्यापक विस्तार भयो । पूँजी परिचालनमा देखिएको व्यक्तिगत साहस, जोखिम ग्रहण गर्ने क्षमता, उच्च स्तरको निर्णयका कारण गरीब पनि धनी भएका छन् । यसको कारण पूँजी निर्माण र परिचालनमा दिइएको अधिकतम स्वतन्त्रताको प्रतीक थियो ।

पूँजी माथि भनिएजस्तै मानव निर्मित उत्पादनको साधन हो । यसका मुख्य ३ स्वरूप छन् :

भौतिक, वित्तीय र बौद्धिक पूँजी ।
निजीक्षेत्रले भौतिक पूँजीको प्रयोग थप कमाइका लागि गर्छ तर सरकारले प्रायः जनसेवाका लागि गर्छ । सरकारले प्रयोग गरेको भौतिक पूँजीले दीर्घकालमा लाभ दिए पनि निजीक्षेत्रले प्रयोग गरेको पूँजीले गरेको जस्तो तत्काल उत्पादकत्व दिन सक्दैन । निजी पूँजीको उत्पादकत्व दर र त्यसको गति तीव्रताले गर्दा पूँजीवादमा निजीक्षेत्रको मात्र अधिकार भएको जस्तो गरी व्याख्या गरिन्छ । जसरी भनिए तापनि पूँजी निजी तथा समाजवाद दुवै क्षेत्रमा परिचालन भएको हुन्छ । निजीक्षेत्रले प्रयोग गर्ने पूँजीमा अनावश्यक खर्च कम हुँदा उत्पादकत्व बढी हुन्छ । प्रविधि परिवर्तनको प्रक्रिया पनि सहज हुन्छ ।

वीर अस्पतालमा प्रयोग हुने सिटीस्क्यान मेशिन र निजी अस्पतालमा प्रयोग हुने सिटीस्क्यान मेशिनको मूल्य बराबर भए पनि निजीले १५ दिनभित्र मेशिन किनेर कमाइ शुरू गर्न सक्छ भने वीर अस्पतालले महीनौं लगाउँछ । यस्तै अन्तरले पूँजीवाद निजीक्षेत्रमा बढी प्रभावकारी देखिन्छ । पूँजीवादले उत्पादन बढाउँछ, प्रविधि सुधार गर्छ तर यसले मानव मानव बीचमा ठूलो असमानता पैदा गर्छ । यति हुँदाहुँदै पनि पूँजीपतिहरूले नीति निर्माण गर्ने बेलामा आफू अनुकूल निर्णय गर्न लगाएर अर्थतन्त्रलाई प्रभाव पार्ने गरेको छ भन्ने आलोचना पनि उठिरहेको छ ।

दोस्रो प्रकारको पूँजी वित्तीय हो । यसमा नगद, चेक, प्रतीत पत्र, ऋणपत्र, शेयर आदि पर्छन् । वित्तीय पूँजी परिचालनको क्षमताले पनि पूँजीवादमा निजीक्षेत्रले अत्यधिक लाभ कमाइरहेको हुन्छ । बैंक, वित्तीय संस्था आदि उद्योग वा वाणिज्य होइनन् तर पनि यस्ता संस्थाले वित्तीय पूँजी निर्माण गरिरहेका हुन्छन् । यसैगरी तेस्रो हो : बौद्धिक पूँजी । ज्ञान, बुद्धि, प्रतिभा र खोज अनुसन्धानबाट कमाइ गर्नु बौद्धिक पूँजी हो ।

विश्वमा सामन्तवादको अन्त्यपछि पूँजीवादको जन्म भयो । पूँजीवादको जन्म सामन्तवादी अर्थ व्यवस्थाले दिएको हो । अधिकांश चलाख र दूरदर्शी सामन्तवादीहरू नै पछि गएर उद्यमीका रूपमा पूँजीवादी बनेका हुन् ।

पूँजीवादका सम्पूर्ण स्वतन्त्रता आम युवालाई प्राप्त भए पनि नेपालमा उद्यमी बन्नेमा भन्दा सरकारी जागीर खाने वा विदेश जानेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । यसको कारण वस्तुनिष्ठ भएर व्यक्तिव्यक्तिअनुसार खोजबिन हुन जरुरी छ ।

नेपालमा के कारणले युवा उद्यमी बन्न चाहेका छैनन् भन्ने कुरा जिल्ला र व्यक्तिअनुसार अलगअलग बुझ्न जरुरी छ । जरोबाट समस्या खोज्ने र त्यसको समाधान गर्नु आवश्यक छ । नेपालको आर्थिक प्रणाली पूँजीवादी भए तापनि यसको मुख्य समस्या विश्व बजार सुहाउँदो गुणस्तरीय वस्तु उत्पादन गर्न नसक्नु हो । पहिलो, प्रविधिमा विश्व बजारसँग प्रतिस्पर्धा हुन सकेको छैन । दोस्रो, कुनै उद्योगलाई बहुराष्ट्रिय कम्पनी बनाउने सोचसमेत कुनै उद्योगले लिन सकेको छैन ।

कुनै वस्तुको निर्यातमा विश्वलाई जित्ने गरी नीति, रणनीति बनाउन सक्ने हो भने एउटा वा दुईओटा वस्तुले पनि नेपालको अवस्था निकै सुध्रिन्छ । तर, अहिलेसम्म यस्तो कुनै उपाय देखिएको छैन । दक्षिण कोरियालाई सामसुङ र हुन्डाईको व्यापारले विकसित देशको हाराहारीमा उभ्याएको छ । बंगलादेशमा तयारी पोशाकको व्यापारले १९ करोड जनतालाई पाल्न सहयोग पुर्‍याएको छ । हाम्रो भौतिक, वित्तीय तथा बौद्धिक पूँजीलाई केही निर्यातमूलक उद्योगमा केन्द्रित गरौं जसको बजार दिगो र स्थायी हुनुका साथै तुलनात्मक रूपमा उत्पादन पनि अन्य देशको भन्दा सस्तो होस् ।

विश्व बजार निरन्तर माग बढिरहने र नेपालले चाहेमा उत्पादन बढाउन पनि सक्ने केही कृषि उत्पादनका सम्बन्धमा दीर्घकालीन सोच बनाउन आवश्यक देखिन्छ । भटमास र तोरीको उत्पादन क्रान्तिकारी रूपमा गरेर तेलको निर्यात यस वर्षको ६३ अर्ब र २०७८ सम्ममा बढाएर ३ खर्बको हाराहारीमा पुर्‍याउन सकेमा नेपालको पूँजीवादले पहिलो चरणमा सार्थकता लिनेछ । नेपालको समृद्धिको यात्रा तेलहनबाट लिनुपर्छ किनभने विश्वमा बजार भएको र नेपालमा सम्भावना भएको वस्तु तेलहन देखिएको छ ।

नेपाल पूँजीवादी अर्थतन्त्र भएको देश हो तर यहाँ आयातमुखी अर्थतन्त्र हाबी भएको छ । निर्यातमुखी अर्थतन्त्रतर्फ अलिकति प्रयास बढाउन सकेमा मात्र पूँजीवाद वास्तवमा सार्थक र सहयोगी हुनेछ ।

जे होस्, निर्यात बढाउन एक वा दुई वस्तुमा जोडदार रूपमा लाग्नु जरुरी छ । अन्यथा हामी सधैं पूँजीहीन पूँजीवादी हुनेछौं । बजारको माग हेरेर वस्तुको उत्पादन गर्न सक्ने देशमात्र पूँजीवादी भनिन लायक हुन्छ । निजीक्षेत्रले पनि आफ्नो भूमिकालाई वस्तुनिष्ठ बनाउन जरुरी छ ।

लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement