ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

खाद्यान्न भनेर चुरोट आयात गर्ने कम्पनीलाई १० करोड जरीवाना

२०७९ साउन, १८  
मधेश प्रदेश
NA

वीरगञ्ज । दुबईबाट खाद्यान्न सामग्री (मुङको दाल) भनेर चुरोट आयात गर्ने कम्पनीलाई सरकारले १० करोड रुपैयाँ जरीवाना तोकेको छ । । भन्सारमा खाद्यान्न घोषणा गरेर विदेशी ब्रान्डका चुरोट आयातकर्ता कालिका इन्टरप्राइजेज कम्पनीलाई भन्सार कार्यालय वीरगञ्जले १० करोड ७२ लाख रुपैयाँ जरीवाना तोकेको हो ।

दुबईबाट भारतसम्म पानी जहाजमा र भारतको कोलकाताबाट रेलमार्ग हुँदै मुङको दाल भनेर गत १३ जेठमा वीरगञ्ज भन्सारमा ल्याइएको सामानमा भन्सार कार्यालयका अधिकारीहरूलाई शंका लागेको थियो । ‘जीईएसयू ५०४८८०३४५ जी१’ नम्बरको कन्टेनरमा ल्याइएको उक्त सामानमा शंका लागेपछि भन्सार कार्यालयले जाँच गर्दा ठूलो परिमाणमा विदेशी ब्रान्डको चुरोट फेला परेको थियो ।

दालको कन्टेनरभित्र चुरोट आयात गर्ने कम्पनी काठमाडौं टोखाको कालिका इन्टरप्राइजेज प्रालिका सञ्चालक टोखाकै नवराज गिरीलाई भन्सार ऐन अनुसार जरीवाना तोकिएको भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष न्यौपानेले जानकारी दिए । गिरीलाई भन्सार ऐन अनुसार बिगो जरीवाना १० करोड ७२ लाख तोकिएको न्यौपानेले बताए । २६ हजार ६१० किलो दाल घोषणा गरिएको कन्टेनरमा १४ हजार ८२५ किलो मात्र दाल थियो ।

यसबाहेक ५८ लाख ३८ हजार ४०० खिल्लीका ४०० कार्टोन विदेशी चुरोट फेला परेको थियो । उक्त बिगो जरीवानाबापतको रकम तिरेपछि सो कम्पनीले माल लैजान पाउने कार्यालयको भनाइ छ । अन्यथा कानून अनुसार कारबाही गरिने कार्यालयले बताएको छ ।

कार्यालयका अनुसार बन्दरगाह नाकामा विभिन्न मालसामान भित्र्याउने तीनओटा फरक–फरक रङको लेन हुन्छ । उक्त कन्टेनर पहेँलो लेनबाट आएको थियो । कन्टेनरको  अगाडि र पछाडिको भागमा मुङ दालको बोरा र बीचमा भने चुरोटका कार्टोन राखेको भेटिएको थियो । कन्टेनरबाट इन्डोनेसियन ब्रान्ड गुडाङ गरम र बेलायती ब्रान्ड मोन्ड भेरियन्सका चुरोट फेला परेको थियो ।

भन्सार ऐनको दफा  ५७ अनुसार घोषणा गरिएको वस्तु र परिमाण फरक भेटिएकाले नियमानुसार बिगो जरीवाना गरिएको र नियमानुसार कारबाही प्रक्रिया अघि बढाइएको कार्यालयका अनुसन्धान अधिकृत भूपेन्द्र कार्कीले बताए । जरीवाना तोकिएपछि भन्सार कार्यालयले कम्पनी सञ्चालकहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरिएको छ । रासस

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement