ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मधेश प्रदेश औद्योगिक सम्मेलन आयोजना

२०७९ साउन, १८  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी बाराको सिमरामा मधेश औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेश प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड शीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो । मंगलवार शुरू भएको सम्मेलन बुधवार समापन हुनेछ ।

सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको छ । संघको अध्यक्षमा वीरेन्द्र संघई रहेका छन् । परिसंघले संगठन विस्तार गर्ने क्रममा बारा–पर्सा उद्योग संघ गठन गरेको हो ।

औद्योगिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मूल आधार भएको बताए । उद्योगमैत्री वातावरणविना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न नसकिने उनको भनाइ छ ।

उद्योगको स्थापनादेखि सञ्चालनसम्म उत्पन्न विभिन्न समस्यालाई समाधान गर्न प्रदेश सरकार एकद्वार प्रणालीमार्फत अघि बढेको भन्दै उनले वीरगञ्जमा उद्योग विभाग स्थापनाको निर्णय गरेको जानकारी दिए । प्रदेशमा रोजगारी बढाउन उद्योगीहरूलाई उनले आग्रह गरे । ‘सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा मधेश प्रदेश रहेको छ । यहाँका युवालाई उचित तालीमको व्यवस्था गरी स्वदेशमै रोजगारी उपलब्ध गराउन प्रदेश सरकारको योजनामा सहकार्य गर्न उद्योगीहरूलाई आग्रह गर्छु,’ उनले भने ।

सम्मेलनमा नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष सतीशकुमार मोरले मधेश प्रदेशका उद्योगीले अन्य प्रदेशमा बिजुली उत्पादन गरेर मधेश प्रदेशमा ल्याउन सक्ने बताए । त्यसका लागि पावर ह्वीलिङलगायतको व्यवस्था आवश्यक पर्ने उनले बताए । अन्य प्रदेशका विद्युत् उत्पादकसँग मधेश प्रदेशका उद्योगहरूले सोझै विद्युत खरीद गर्न पाउनेगरी व्यवस्था मिलाउन उनले आग्रह गरे ।

परिसंघका उपाध्यक्ष राजेश अग्रवालले समृद्धिका लागि निजीक्षेत्रसँग निरन्तर वार्ता, छलफल आवश्यक पर्ने बताए । लगानीकर्तालाई लगानी ल्याउने, विस्तार गर्ने वातावरणमा सहजीकरण आवश्यक पर्ने भन्दै उनले निजीक्षेत्रलाई नयाँ कानून र नियमावलीको बारेमा जानकारी गराउनुपर्ने बताए । ‘उत्पादन लागत घट्यो भने मात्रै नेपाली उद्योग स्वदेशी एवं अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी हुन सक्छन्,’ उनले भने, ‘पूर्वाधार विकासको महत्त्वपूर्ण आधार हुँदाहुँदै हाम्रा लागि यो ठूलो चुनौती पनि रहँदै आएको छ । विशेष आर्थिक क्षेत्र र औद्योगिक कोरिडोरका लागि नयाँ अभियानले उद्योगहरूको लागत प्रतिस्पर्धी बन्न सहयोग गर्नेछ ।’

परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वाधार विकासको महत्त्वपूर्ण आधार भएकाले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकता, नीतिगतलगायत सुधारका लागि सरकार एवं सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन परिसंघले नेपाल पूर्वाधार सम्मेलन आयोजना गर्दै आएको बताए । आगामी भदौ २३ र २४ गते चौथो नेपाल पूर्वाधार सम्मेलन हुने जानकारी उनले दिए । सम्मेलनमा भाग लिन मधेश प्रदेश सरकारसहित उद्योगी व्यवसायीलाई उनले आग्रह गरे ।

सम्मेलन उद्घाटनमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले मधेश प्रदेशमा ठूलो आर्थिक सम्भावना रहेको बताइन् । यो सम्मेलन सार्वजनिक निजी संवाद र सहयोगको लागि महत्त्वपूर्ण प्लेटफर्म भएको उनको भनाइ थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement