ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मन्त्री तथा सचिवलाई प्रमले भन्नुभयो : ‘जनअपेक्षा अनुसार बजेट कार्यान्वयन गर्नू’

२०७९ साउन, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बजेट खर्च गर्न सरकार चुकेको भन्दै चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी मन्त्री तथा विभागीय मन्त्रालयका सचिवहरूलाई प्रभावकारी रूपमा बजेट कार्यान्वयनमा जुट्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले मंगलवार बजेट कार्यान्वयन, अर्थतन्त्रमा देखिएका समस्या, आगामी निर्वाचन तथा विपत् प्रतिकार्य लगायत विषयमा छलफल र निर्देशन दिन प्रधानमन्त्रीले सबै मन्त्री र सचिवहरूको बैठक डाक्नुभएको थियो ।

विकासमा देखिएका समस्या पहिचान गरी सम्बोधन गर्न सरकार तयार रहेको बताउँदै प्रम देउवाले जनताको अपेक्षाअनुसार कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । मन्त्री र सचिवका बीचमा सहकार्य राम्रो नभएको, मन्त्रीहरूको बोलीमा एकरूपता नभएको लगायत विषयमा उहाँले गठबन्धनको बैठकमा पटक–पटक कुरा उठाउँदै आउनुभएको थियो ।

सरकारको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाका बारेमा समेत प्रम देउवाले अधिकारीहरूसँग जानकारी लिनुभएको थियो । बैठकमा मुख्यसचिव शंकरदास बैरागीले विकास खर्च कमजोर हुनुका कारण कतिपय नीतिगत अड्चन रहेको भन्दै त्यसलाई सम्बोधन गर्ने तयारी भइरहेको बताएका थिए ।

प्रम देउवाले यसअघि २१ पुसमा पनि यस्तै संयुक्त बैठक राखेर जनताको अपेक्षाअनुसार काम गर्न भन्दै निर्देशन दिनुभएको थियो । तर अघिल्लो आवमा झन् कमजोर विकास खर्च भएको देखिन्छ । चालू खर्च भने उच्च बन्दै गएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७८/७९ मा पूँजीगततर्फ रू. ३ खर्ब ७८ अर्ब ९ करोड बजेट विनियोजन गरेको सरकारले २ खर्ब १६ अर्ब ३७ करोड (५७ दशमलव २३ प्रतिशत) मात्र खर्च गरेको छ । कोभिडकालमा बाहेक सामान्य अवस्थाको विकास खर्चको स्थिति हेर्दा गत आवको खर्च दशककै सबैभन्दा कमजोर छ । आव २०७०/७१ मा सरकारले ७५ प्रतिशत पूँजीगत बजेट खर्च गरेको थियो । आव २०७३/७४ मा पूँजीगत खर्चको अनुपात बढेर ८४ प्रतिशत र आव २०७५/७६ मा ८६ प्रतिशतसम्म पुगेको देखिन्छ ।

यसले सरकारको कार्यसम्पादन क्षमतामाथि प्रश्न उठाउँदै आएको छ । सरकारले खर्च बढाउन बजेट सम्बन्धित अधिकारीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने गरे पनि त्यो उपलब्धिविहीन सावित भएको तथ्यहरूले देखाउँदै आएका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement