ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुन्दर रुप्से झरना पहिरोका कारण कुरूप

२०७९ साउन, १८  
गण्डकी प्रदेश
Image Not Found

म्याग्दी (अस) । अन्नपूर्ण चक्रीय पदमार्गको प्राकृतिक रूपमै सुन्दर र आकर्षक पर्यटकीय स्थल रुप्से झरनाको सौन्दर्य बाढी र पहिरोका कारण कुरूप बनेको छ । वर्षेनि आउने बाढी र पहिरोको कारण प्राकृतिक स्रोत नासिँदै जान थालेपछि झरनाको मौलिक स्वरूप समेत लोप हुँदै गएको छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा पर्ने सो झरना अत्यन्तै आकर्षक र मनमोहक थियो । तर, २०७७ साल साउन ५ गते परेको वर्षाका कारण आएको बाढी र पहिरोका कारण झरनाको सौन्दर्य बिग्रिएको हो । त्यसयता झरनाको प्राकृतिक स्वरूप नासिने क्रम बढ्दै गएको छ ।

समुद्री सतहबाट झण्डै १ हजार ८ सय मिटरको उचाइमा रहेको सो झरना कालीगण्डकीको खोँचले बनाएको अन्धगल्छीदेखि केही माथि छ ।

हिमालपारिको जिल्ला मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्धगल्छीमा मुस्ताङ आवतजावत गर्ने पर्यटकहरू पुगेर अवलोकन गर्छन् । शालिग्राम पाइने एकमात्र पवित्र कालीगण्डकी नदीले निर्माण गरेको अन्धगल्छीको गहिराइ ६ हजार ९६७ मिटर छ ।

संसारको सातौं अग्लो चुचुरो धौलागिरी र अन्नपूर्ण हिमालको बीचमा रहेको सो गल्छी समुद्री सतहबाट १ हजार २ सय मिटरको उचाइमा छ । गल्छीको अवलोकन गर्न दैनिक आन्तरिक एवं बाह्य पर्यटकहरू पुग्ने गरेका छन् ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि ३० किलोमिटर उत्तरमा पर्ने रुप्से छहरा तथा अन्धगल्छी पुग्न यातायातका साधनमार्फत  करीब ३ घण्टा र  पैदलमार्फत यात्रा गर्दा करीब १ दिन लाग्छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत पर्ने अन्धगल्छी र रुप्से झरनामा बेनीबाट सवारीसाधनमार्फत ३ घण्टामा सजिलै पुग्न सकिन्छ । मुस्ताङ जाने पर्यटकहरू सवारीसाधन रोकेर झरनामा फोटो खिच्छन् ।

बेनी–जोमसोम–कोरला सडकखण्ड कालीगण्डकी कोरिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा रमाउने योजना बनाएका हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरूले २०७७ साउन यता भने रुप्सेको पुरानो सौन्दर्यलाई देख्न पाएका छैनन् ।

२०७७ साउनमा रुप्से झरनामा आएको बाढीले झरनाको सौन्दर्य मात्र होइन एक होटेल, पुल र एक्स्काभेटर समेत बगाएको थियो । स्थानीय कृष्णबहादुर पुनले रुप्से झरनालाई पुरानै स्वरूपमा फर्काउन निकै श्रम र लगानी आवश्यक पर्ने बताए ।

अहिले रुप्से झरना उजाड र कुरूप बनेको उनको भनाइ छ । विसं १९७५ सालमा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिएको थियो । अहिले प्रचलनमा नरहे पनि रुप्से झरनाको प्रचारप्रसार त्यति बेलादेखि नै भएको स्थानीय वृद्धवृद्धाहरू बताउँछन् ।

‘रुप्से झरनामा रमाउन गण्डकी प्रदेशबाट मात्रै होइन, देश विदेशबाट आएका मानिसहरूको समेत भीड हुने गर्दथ्यो,’ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले भने, ‘पुलनजिकै गाडीको भीड हुन्थ्यो ।’

झरनाको दायाँ र बायाँको भागमा मानिस रमाउँदै तस्वीर लिन तछाड मछाड गहुने गरेकोमा पछिल्लो समय त्यो सबै एकादेशको कथा जस्तै बनेको उनको भनाइ थियो ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement