ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

टी अक्शन बजारको गफमात्रै, एकअर्कालाई दाेष थुपार्दै सरकार र व्यावसायी

२०७९ साउन, १८  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । करीब ८ वर्षअघि टी अक्शन बजार स्थापनाका लागि केही काम शुरू भए पनि बजार कार्यान्वयनमा आउन सकेको छैन । सरकारले अक्शन बजार सञ्चालन गर्न बजेट छुट्ट्याएर चियाको गुणस्तर परीक्षणका लागि ल्याबसमेत स्थापना गरेको थियो । अक्शन बजार स्थापना गर्न सके नेपाली चियाले विश्व बजारमा राम्रो स्थान पाउन सक्ने राजनीतिज्ञदेखि व्यवसायीसम्मले बताइरहँदा त्यसतर्फको काममा खासै प्रगति भएको देखिएको छैन । 

नेपालमा १३ वर्षदेखि अक्शन बजारको कुरा चल्दै आएको हो । करीब ८ वर्षअघि अक्शन बजार सञ्चालनका लागि चिया व्यावसायी सुरेश मित्तलको अध्यक्षतामा एउटा समिति बनेको थियो । उक्त समितिमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन शाखा अधिकृत इन्द्र अधिकारी सदस्य सचिव थिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयसमेतको सहयोगमा समितिले अक्शन ‘गाइड लाइन’ तयार गर्दै १ करोड रूपैयाँ लगानीमा झापाको बिर्तामोडमा अक्शन बजारका लागि आवश्यक पर्ने ल्याब र सफ्टवेयर विकास गरेको थियो । 

नेपालमा चिया उत्पादन गर्ने सबै उद्योगी, व्यावसायीलाई अक्शन बजारमा समेट्ने उद्देश्य थियो । सोहीअनुसार लगभग सबै उद्योगीलाई आबद्ध पनि गराइयो । तैपनि अक्शन बजार शुरू हुन सकेको छैन । 

हिमालयन अर्थोडक्स चिया उत्पादक संघका महासचिव डिल्लीराम बाँस्कोटा गफ गरेजति काम भइदिएको भए उहिल्यै अक्शन बजार सञ्चालन भइसक्ने बताउँछन् । सरकार र व्यावसायी दुवैलाई अक्शन बजार एकदमै आवश्यक छ । तर, दुवै पक्षका अडानका कारण शुरू हुनै लागेको बजार पनि अधुरै रहन पुगेको उनी बताउँछन् ।

अक्शन बजार सञ्चालन हुन नसक्नुमा सरकार र व्यावसायी दुवैले एकअर्कालाई दोषारोपण गर्दै आएका छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रवक्ता डा. दीपक खनालले अक्शन बजारका लागि चाहिने लगभग सबै पूर्वाधार तयार भइसकेपछि व्यावसायीले गोदाममा राखेको चिया बैंकमा धितो राखेर कर्जा लिन पाउनुपर्ने, अक्शन मार्केटमार्फत चिया निर्यात गरेबापत सरकारबाट अनुदान पाउनुपर्नेजस्ता माग राख्दै अक्शन बजारमा आउन नमानेको बताए । व्यावसायीका माग कृषि मन्त्रालयमार्फत सम्बोधन गराउन बोर्डले पहल थाले पनि त्यो पूरा भएन । 

सरकारले माग पूरा गर्नेतर्फ ध्यान नदिएको र अक्शन बजारसँग ऊ आफै डराएको व्यावसायीको आरोप छ । अक्शन बजार लागू भए हरेक कारोबार पारदर्शी हुन्छ । आफ्नै बगानमार्फत उत्पादित चियाको कारोबारसमेत पारदर्शी हुने भएपछि सरकारले आफ्ना बगान अक्शनमा समेट्न नचाहेकाले व्यावसायीले सरकारलाई साथ नदिएको स्रोतको दाबी छ ।

देश, विदेशका चिया किसान र व्यापारीको पहुँच रहने गरी सफ्टवेयर विकास गरेर अनलाइन प्रणालीमार्फत चिया खरीदविक्री कारोबार गर्ने प्रक्रिया नै अक्शन प्रणाली हो । अक्शनअन्तर्गत विकास गरिएको सफ्टवेयरमा विभिन्न ब्रान्डका चियाका नमूना र तिनको मूल्यसूची राखिएको हुन्छ । क्रेताले अनलाइनमै हेरेर आफ्नै देशबाट आफूलाई मन परेको चिया अर्डर गरेर किन्न पाउँछ । बेलायतबाट शुरू भएको यो बजार भारतले सन् १९८० देखि नै प्रयोगमा ल्याएको छ । नेपालमा भने लागू गर्ने कि नगर्ने भन्नेमै विवाद छ ।

अक्शन बजार लागू भए चियाक्षेत्रमा देखिएका ९० प्रतिशतभन्दा बढी समस्या समाधान हुने साना किसान चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष हर्क तामाङ बताउँछन् । उनका अनुसार चियाको पारदर्शी व्यापार गर्न, गुणस्तर कायम राख्न, कम मूल्यको बिल बनाएर हुने कर छली नियन्त्रण गर्न, आयात–निर्यातको तथ्यांक सही रूपमा राख्न र किसान, व्यापारी, मजदूर, मूल्यलगायत विषयमा उठ्ने सबै समस्या समाधान गर्न यो बजार निकै प्रभावकारी मानिन्छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०२०/२१ मा नेपालमा १६ हजार ९ सय २० हेक्टर जमीनमा २ करोड ३७ लाख ४५ हजार ९ सय केजी चिया उत्पादन भएको थियो । सोही वर्ष १५ करोड १३ लाख रूपैयाँभन्दा बढीको ३ लाख ४६ हजार ८ सय केजी चिया आयात भएको थियो । त्यस वर्ष ३ अर्ब ७९ करोड ७१ लाख ३९ हजार रूपैयाँ बराबरको १ करोड १९ लाख २० हजार ७ सय केजी चिया निर्यात भएको तथ्यांक छ ।

नेपालमा भारत, चीन, अर्जेन्टिना, अस्ट्रेलिया, जर्मनी, हङकङ, फ्रान्स, क्यानडालगायत देशबाट चिया आयात हुन्छ । यहाँको चिया बेल्जियम, चीन, भारत, फिनल्यान्ड, चेक रिपब्लिक, इटाली, जापानलगायत देशमा निर्यात हुन्छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ५ साउनमा संसद्मा विशेष समय लिएर चिया अक्शन सञ्चालनमा ल्याउन माग गरेका थिए । अक्शन नहुँदा चिया उत्पादकले ठीक ढंगले व्यापार गर्न नपाएको उनको भनाइ थियो । उनले चिया अक्शन बनाउन सरकारलाई कसले रोकेको छ भनी प्रश्नसमेत गरेका थिए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement