ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चिनियाँ अदालतको आदेश : ‘हिमालयन र बीओकेलाई ग्यारेन्टीको रकम दिनू’

२०७९ साउन, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकलाई मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न चिनियाँ अदालतले आदेश दिएको छ । चीनको उच्च अदालतले नेपाली बैंकहरूलाई काउन्टर ग्यारेन्टीबापतको रकम फिर्ता गर्न आदेश दिएसँगै दुई बैंकको गरी डेढ अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता हुने भएको छ । 

बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण मास्केले उच्च अदालतबाट आफ्नो पक्षमा फैसला आएको भन्दै अब रकम फिर्ता हुने बताए । ‘चीनको उच्च अदालतबाट हामीले मुद्दा जितेको जानकारी आएको छ,’ उनले भने, ‘अब रकम दाबी प्रक्रिया अघि बढाउँछौं ।’ 

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेलवेलाई चाइना कन्स्ट्रक्शन बैंकले दिएको बैंक ग्यारेन्टीमा नेपाली बैंकको तर्फबाट बीओकेले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयनले ६६ लाख अमेरिकी डलर बराबरको काउन्टर ग्यारेन्टी दिएका थिए । 

चाइना रेलवे कम्पनीले सम्झौताअनुसार आयोजनाको काम गर्न नसकेपछि ठेक्का रद्द गरी आयोजनाले ग्यारेन्टीबापतको रकम दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो । अदालतको आदेशअनुसार नेपाली बैंकहरूले आयोजनालाई ग्यारेन्टी रकम भुक्तानी गरे पनि चिनियाँ बैंकबाट रकम पाएका छैनन् । 

ठेकेदार कम्पनी चाइना रेलवेले चीनको अदालतमा हालेको मुद्दामा नेपाली बैंकलाई चाइना कन्स्ट्रक्शन बैंकले काउन्टर ग्यारेन्टीको भुक्तानी दिन नपर्ने आदेश जारी भएको थियो । त्यसपछि नेपाली बैंकहरूले चीनमा कानूनी परामर्शदाता पठाएर उच्च अदालतसम्म मुद्दा लडेका हुन् । उच्च अदालतले नै भुक्तानी दिन आदेश दिएपछि अब ग्यारेन्टीबापतको रकम फिर्ता हुने सीईओ मास्केले बताए । 

 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement