ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रशोधित तेलको निकासी बढेपछि वीरगञ्ज नाकाबाट ५० प्रतिशत बढ्यो निर्यात, चालू आवमा सीमा शुल्क बाधक बन्ने !

२०७९ साउन, १८  
समाचार मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्ज नाकाबाट निर्यात व्यापार उल्लेख्य परिमाणमा बढेको छ । गत आर्थिक वर्ष (आव) २०७८/७९ मा वीरगञ्ज भन्सार कार्यालय हुँदै ८० अर्ब ४९ करोड रूपैयाँ बराबरको निर्यात भएको हो । 

आव २०७७/७८ को तुलनामा यो निकासी परिमाण ५० प्रतिशत बढी भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘आव २०७७/७८ मा ५३ अर्ब ६८ करोड रूपैयाँको मालसामान निर्यात भएको थियो । गत आवमा निकासी व्यापार उल्लेख्य बढेको छ,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने । 

अधिकांश निकासी भारतमा भएको भन्सारको तथ्यांकले देखाउँछ । गतवर्ष यो नाकाबाट ७५ अर्ब ९२ करोड रूपैयाँको वस्तु भारतमा निर्यात भएको छ । सबैभन्दा ठूलो व्यापारिक साझेदार भारतबाट यो अवधिमा वीरगञ्ज हुँदै ५ खर्ब २४ अर्ब २७ करोड रूपैयाँबराबरको आयात भएको देखिन्छ । 

वीरगञ्ज नाकाबाट भारतसित भएको व्यापारमा मात्रै नेपाललाई करीब साढे ४ खर्ब रूपैयाँ घाटा छ । नेपालबाट भारततर्फ निर्यात हुने मुख्य वस्तुको सूचीमा प्रशोधित तेल अग्रस्थानमा छ । भारतले तेलको कच्चा पदार्थ आयातमा सीमा शुल्क घटाएकाले अब प्रशोधित तेल निकासी सम्भव नहुने उद्योगी सुरेश रुंगटा बताउँछन् । 

प्रशोधित खानेतेलको टेकोमा उभिएको नेपालको निर्यात व्यापार चालू वर्षमा खस्किने अनुमान सरोकारवालाको छ । यो नाकाबाट खानेतेल निर्यात अहिले नै घटिसकेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । 

भारतमा अर्धप्रशोधित तेलको आयातमा ४० प्रतिशतसम्म शुल्क तोकिएको समयमा नेपालका तेल उद्योगीले उक्त नीतिको फाइदा उठाएका थिए । उनीहरूले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गर्दै आएका थिए । 

भारतले बजार मूल्य नियन्त्रणका लागि आयातमा लाग्ने शुल्क शून्यदेखि साढे २ प्रतिशतसम्म तोकेपछि अब नेपालबाट निकासी हुन नसक्ने देखिएको छ ।

वीरगञ्जबाट कुल वैदेशिक व्यापार ३७ प्रतिशतले बढ्दा आयात ३९ प्रतिशत बढेको भन्सारले बताएको छ । गतवर्ष ७ खर्ब ८६ अर्ब ७८ करोड रूपैयाँको वैदेशिक व्यापार भएकोमा आयातमात्रै ७ खर्ब ६ अर्ब २९ करोड रूपैयाँबराबर थियो । यो नाकाबाट मुख्य रूपमा इन्धन, गाडी र औद्योगिक कच्चा पदार्थ आयात हुन्छ ।  
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement