ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बन्दीपुरमा निर्माणाधीन केबुलकार सञ्चालन र आईपीओ खुला एकैसाथ हुने

२०७९ साउन, १८  
समाचार
Image Not Found
प्रतिकात्मक तस्वीर ।
author avatar अभियान संवाददाता

साउन १८, तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार सञ्चालनमा आएपछि आईपीओ पनि ल्याइने भएको छ । 
आईपीओका लागि एसबीआई मर्चेन्टसँग सम्झौता भइसकेको छ भने केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा ल्याउने गरी काम भइरहेको छ । 

समयअनुरूप पर्यटकहरूलाई नयाँपन दिनका लागि केबुलकारभित्र रेष्टुरेन्ट सञ्चालन गर्ने योजना रहेको बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । प्रत्येक दिन साँझ ५ बजेपछि केबुलकारले मानिस बोक्ने व्यवस्था बन्द गरी उक्त सेवा सञ्चालन गरिने उनले बताए ।  

उक्त समयपश्चात् इच्छुक पर्यटकहरूले केबुलकार रिजर्भ गरी केबुलकार भित्रको रेष्टुरेन्टमा मनोरञ्जन लिन पाउनेछन् । ‘केबुलकारभित्र ग्लासको क्याबिन जडान गरिनेछ,’ उनले भने‘, रेष्टुरेन्टका लागि रू. २५ हजार शुल्क तिरेपछि खाना, बस्न, सुत्न लगायतका सबै सुविधाको व्यवस्था हुनेछ ।‘ 

केबुलकार भित्रै शौचालय सहितको सुविधासम्पन्न बनाउनका लागि  कति लोड धान्न सक्छ भनेर अनुसन्धान कार्य पनि भइरहेको उनले बताए । अघिल्लो दसैंदेखि केबुलकार सञ्चालन गर्ने तयारी गरिए पनि कृत्रिम अभावका कारण सामान समयमा उपलब्ध नहुँदा निर्माणमा ढिलाइ हुन गएपछि अन्य थप सुविधा थप्दै व्यवस्थित गर्न लागेको उनले बताए । 

आगामी नयाँ वर्षदेखि केबुकार सञ्चालनमा ल्याउने गरी काम थालिएको उनले जानकारी दिए । केबुलकारका लागि ल्याउनुपर्ने आवश्यक पर्ने सामान र जनशक्ति बाहिरबाट ल्याइसकिएको उनले बताए । केबुलकारबाट बन्दीपुर गाउँपालिका–४ ठूल्ढुंगामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्म १ किलोमिटर ६ सय मिटर दूरीको यात्रा गर्न पाउनेछन् । 

केबुलकार सञ्चालनमा आएपछि एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास गरिएको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजमको लागत रू. १ अर्ब ६६ करोड ८९ लाख रहेको बताइएको छ । केबुलकार र चारतारे होटल निर्माणसहित कुल रू. ३ अर्ब लगानी हुने देखिएको अध्यक्ष शर्माले जानकारी दिए । पहिला गरिएको सामानको इष्टिमेटको तुलनामा कम्तीमा २५ प्रतिशत सामानको मूल्य वृद्धि भएकाले लागत बढ्ने सङ्केत देखिएको उनले जानकारी दिए । 

केबुलकारसँगै आईपीओ शुरू 
यसैगरी बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले केबुलकारसँगै आईपीओ सुरु गर्ने जनाएको छ । आईपीओका लागि एसबीआई मर्चेन्टसँग सम्झौता भइसकेको जनाइएको छ । केबुलकार र आईपीओसँगै सञ्चालनमा ल्याइने गरी काम अघि बढाइएको अध्यक्ष शर्माले बताए । 

शेयर निष्कासन गरी २० प्रतिशत सर्वसाधारणलाई र १० प्रतिशत कम्पनी भित्रका कर्मचारीहरूलाई प्रदान गरिनेछ । यसअघि बन्दीपुर केबुलकारमा १ हजार ४ सय जनालाई शेयर वितरण गरिसकिएको छ । उक्त परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्शन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडको ६१, पञ्चासे केबुलकार एन्ड टुर्स लिमिटेडको २५ र बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत शेयर रहेको छ । -रासस
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement