ढाका (बंगलादेश) । बंगलादेशले बहुपक्षीय कर्जादाताहरू विश्व बैंक र एशियाली विकास बैंक (एडीबी)सँग २ अर्ब डलर मागेको छ । सुक्दै गएको विदेशी विनिमय सञ्चितिलाई उकास्न त्यहाँको सरकारले सो बराबरको आर्थिक सहायता मागेको हो । बंगलादेशको सरकारले दुवै बैंकहरूलाई १/१ अर्ब डलर माग्दै पत्र लेखेको यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै ब्लुम्बर्गमा समाचार छापिएको छ ।
यसअघि भने घरेलु पत्रिका डेली स्टारले आईएमएफसँग सरकारले साढे ४ अर्ब डलर चाहेको भन्दै समाचार छापेको थियो । गएको हप्ता मात्रै आईएमएफले बंगलादेशले कर्जाका लागि गरेको अनुरोधमा छलफल गर्ने बताएको छ । यस विषयमा बंगलादेशका अर्थमन्त्री, विश्व बैंक र एडीबीले कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।
अघिल्लो आवमा २ अर्ब ७८ करोड डलर रहेको बंगलादेशको चालू खाता घाटा गत आवमा १७ अर्ब २० करोड डलरमा उक्लिएको छ । व्यापार घाटा चुलिएको छ भने विप्रेषणमा तीव्र कमी आएको छ । विश्वव्यापी मागमा आएको कमी र ऊर्जा संकटका कारण बंगलदेशको तयारी पोशाक उद्योग मारमा परेको छ । एजेन्सी