ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बढी तरलता व्यवस्थापन गर्न सहकारी महासंघको अपिल

२०७९ साउन, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सहकारी संघसंस्थाको केन्द्रीय छाता निकाय राष्ट्रिय सहकारी महासंघले सामान्य अवस्थामा भन्दा बढी तरलता व्यवस्थापन गर्न सहकारी संस्थाहरूलाई अपिल गरेको छ । कोभिड–१९ महामारी, रूस–युकेन तनावले बैंक तथा वित्तीय संस्था हुँदै सहकारीमा समेत तरलताको चाप पर्दा बचत फिर्तामा कठिनाइ भइरहेको उल्लेख गर्दै महासंघले कठिन समयमा धैर्यका साथ थप संयमित बन्न आग्रह गरेको हो । 

आइतवार काठमाडौं, कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त बनेको समाचार सार्वजनिक भएपछि सहकारीमा बचत गर्ने सर्वसाधारण डराएका छन् । उक्त समाचारसँगै सहकारी संस्थामा बचत फिर्ता माग्नेको संख्या बढेपछि महासंघले थप तरलता व्यवस्थापन गर्न आग्रह गरेको हो । 

हाल सहकारीले १५ प्रतिशत तरलता व्यवस्थापन गर्नुपर्ने कानूनी प्रावधान भए पनि न्यून तरलता राखेर कारोबार गर्दै आएका छन् । बजारबाट दैनिक रूपमा बचत संकलन गर्ने संस्थाले आवश्यक तरलतासमेत नराखी घरजग्गालगायत अनुत्पादक क्षेत्रमा लगानी गर्नुका साथै सञ्चालकहरूले नै चलाएका संस्थामा समस्या देखिएको सहकारीकर्मी बताउँछन् । 

महासंघका अध्यक्ष मीनराज कँडेलको हस्ताक्षरमा जारी ९ बुँदे अपिलमा सदस्य एवम् सरोकारवाला निकायसँग संस्थाको अवस्थाबारे निरन्तर समन्वय र सम्बाद गर्न, संस्थाको आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न र परिस्थिति सहज नहँुदासम्म घरजग्गालगायत अनुत्पादक क्षेत्र एवम् ठूलो लगानी नगर्न सचेत गराइएको छ । 

यसैगरी जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित हुन, महासंघ, संघ एवम् सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवम् तालिममा सहभागी हुन, यथासम्भव अभियानभित्रै कारोबार गर्न आग्रह गरेको छ ।

यसैगरी राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय संघहरूलाई आफ्ना सदस्य संस्थासँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा सहजीकरण गर्न भनिएको छ । महासंघले सर्वसाधारणलाई समेत ब्याजको लोभमा सहकारीमा जथाभावी कारोबार नगर्न आग्रह गरेको छ । सदस्यहरूलाई अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थासँग मात्र कारोबार गर्न महासंघले भनेको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement