ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

३ वर्षयता दोस्रो पटक मन्दीमा गयो हङकङ, यस्ता छन् कारण

२०७९ साउन, १८  
अन्तरराष्ट्रिय
Image Not Found

हङकङ । हङकङ पुनः मन्दीमा गएको छ । सोमवार सार्वजनिक भएको सरकारी तथ्यांकले यस्तो देखाएको हो । विश्वभर बढ्दै गइरहेको ब्याजदर, कमजोर विश्व व्यापार र कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न नगरमा अपनाइएको कठोर उपायहरू आदिका कारण अर्थतन्त्र खुम्चिएको हो । 

गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा अर्थतन्त्र १ दशमलव ४ प्रतिशत खुम्चिएको त्यहाँको जनगणना तथा तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । चालू वर्षको पहिलो त्रैमासमा पनि अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले खुम्चिएको थियो । 

पछिल्लो संकुचनसँगै हङकङको अर्थतन्त्रमा गत वर्ष देखिएको ६ दशमलव ३ प्रतिशतको वार्षिक वृद्धि लगभग गुमेको छ । यद्यपि, दोस्रो त्रैमासको संकुचन पहिलो त्रैमासको भन्दा कम छ । योसँगै सन् २०१९ मा महिनौंसम्म चलेको व्यापक विरोध प्रदर्शन यता दोस्रो पटक हङकङको अर्थतन्त्र मन्दीमा गएको छ ।

बाह्य व्यापारमा कमजोर प्रदर्शनका कारण आर्थिक गतिविधिमा सुधार अपेक्षाकृत कम भएको बताइएको छ । अघिल्लो त्रैमासको तुलनामा अप्रिल–जुन त्रैमासमा वस्तु व्यापार ४ दशमलव २ प्रतिशतले घटेको छ । योसँगै यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा बाँकी विश्वसँगको व्यापारमा २ खर्ब ६ अर्ब १० करोड डलर व्यापार घाटा भएको छ ।

घाटाको यो आकार आयातित वस्तुको ८ दशमलव २ प्रतिशत बराबर भएको बताइएको छ । विश्वको माग कमजोर भएको अनि मुख्यभूमि चीन र हङकङबीचको सीमा आरपारमा कार्गो आवतजावतमा निरन्तरको अवरोधका कारण हङकङको निर्यात दबाबमा आएको सरकारले बताएको छ ।

विश्वका प्रमुख अर्थतन्त्रका केन्द्रीय बैंकहरूले एक पछि अर्को गर्दै ब्याजदर बढाइरहँदा विश्वका मागमा उल्लेख्य कमी आउने अपेक्षा गरिएको छ । चीनले कोभिड नियन्त्रण गर्न अपनाएको शून्य कोभिड नीतिका कारण पनि हङकङको निर्यात मारमा परेको छ । एजेन्सी 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement