साउन १८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ६ दशमलव ७१ अंक घटेको छ । नेप्से परिसूचक २ हजार १८६ दशमलव ७७ विन्दुमा कायम भएको हो ।
यस दिन कारोबारमा आएका २१८ धितोपत्रको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ५७ हजार ४२४ पटकमा रू. ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ बराबरको शेयर खरीदविक्री भएको छ । पछिल्लो समय लगानीकर्ताहरूले छोटो समयमै प्रोफिट बुक गर्न थालेका छन् । त्यसैले केही दिन बजार बढ्ने बित्तिकै करेक्सन आउने गर्दछ ।
राष्ट्र बैंकले बुधवार मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गरेको छ । सो निर्देशनमा पनि पुँजी बजार सुधारमा सहयोग पुग्ने किसिमकै व्यवस्था गरिएको छ । नगद लाभांश वितरणमा गरिएको कडाइ पनि फुकुवा गरिएको छ । अब बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो क्षमता अनुसार लाभांश वितरण गर्ने बाटाे खुलेको छ ।
त्यसैगरी एक बैंकबाट रू. १२ करोडसम्म शेयर धितो कर्जा लिन पाइने भएको छ । मौद्रिक नीतिमा आएका प्रावधानहरूलाई कायमै राखेर निर्देशन जारी भएका छन् । यसले गर्दा पनि सकारात्मक प्रभाव पर्ने देखिन्छ ।
यद्यपि लगानीकर्ताले हल्लाको भरमा शेयर खरीदविक्री गर्न चाहिँ हुँदैन । आफूले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रो सँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने गर्दछ ।
कारोबारमा आएका २१८ धितोपत्रमध्ये सबैभन्दा बढी सामलिङ्ग पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६१५ दशमलव ७० पुगेको छ । त्यसैगरी दोस्रोमा बलेफी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९७ प्रतिशत बढेर रू. ३२९ दशमलव ७० कायम भएको छ ।
बुधवार सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशत घटेर प्रतिकित्ता रू. ४५६ मा पुगेको छ । त्यसैगरी दोस्रोमा गुडविल फाइनान्सको शेयर मूल्य ३ दशमलव ४३ प्रतिशत घटेर रू. ५८९ दशमलव १० कायम भएको छ ।
बुधवार सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको रू. २५ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ८०९ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अपि पावर कम्पनीको रू. १५ करोड १७ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ ओटा समूहगत परिसूचकमध्ये व्यापार समूहको ३ दशमलव ८१ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव २२ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १५ प्रतिशत र हाइड्रोपावर समूहको १ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको छ ।