ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सप्तकोशीको तटबन्ध भत्केपछि स्थानीयहरुको विचल्ली, वस्तुभाउ छोडेर सुरक्षित स्थानतर्फ लागे स्थानीय*

२०७९ साउन, १८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १८, काठमाडौं । सप्तकोशी नदीको तटबन्ध भत्किएर बस्तीमा पसेसँगै डुबानमा परेको बस्तीका बासिन्दाहरूको विचल्ली भएको छ ।

सप्कोशी नदीको तटबन्ध फुटेर बस्तीमा पसेको उदयपुरको बेलका नगरपालिका १,२,३,८ र ९ नम्बर वडाको क्षेत्रमा बाढी पसेको हो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडा पनि डुबानमा परिसकेको छ । बुधवार बिहान सप्तकोशी नदीको तटबन्ध फुटेर गाउँ पसेको थियो । जसको असर क्रमशः सप्तरी र सुनसरीमा समेत पर्ने देखिएकोले तीन जिल्लामा सतर्कता अपनाइएको छ ।

बस्तीमा पसेका कारण आसपासका उदयपुर, सुनसरी, सप्तरी लगायतका जिल्लाका करीब २० हजार मानिस प्रभावित हुनसक्ने आँकलन गरिएको छ ।

नदीको धार पुरानो ठाउँमा फर्किंदा बस्ती डुबानमा परेको स्थानीयहरुको भनाइ छ । बस्तीमा बाढी पसेसँगै स्थानीयहरु आफ्ना सामान पोको पारेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

गाउँ डुबिनसकेपनि सरकारले डुब्नसक्ने जोखिमका कारण सुरक्षित स्थानमा जान आग्रह गरेको स्थानीयहरु बताउँछन् । पानीको मात्रा बढीरहेकोले वस्तुभाउ छोडेर निस्किएको स्थानीयहरुले बताएका छन् ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् । पूर्वी नेपालमा अविरल वर्षाका कारण पानीको सतह झनै बढ्दै गएकोले जोखिम अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

पानीको सतह बढ्दै गए ४ हजार घरपरिवार प्रभावित हुने अनुमान गरिएको छ । जोखिम क्षेत्रको रेखाङ्कन गरेर थप सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ ।

नदी कटानले कोशीको बहाव गाँउतिर पसेको स्थानीयहरु बताउँछन् । बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएरातिबाट सप्तकोशीको भंगालो पसेकोले त्यहाँ फसेका बासिन्दालाई उद्धार गर्न समस्या भइरहेको बताइएको छ ।

सप्तकोसी नदीको तटबन्ध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोच क्षेत्रको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीसहितको टोलीले आज स्थलगत अनुगमन गरिसकेको छ भने प्रभावित बासिन्दाको सुरक्षा र उद्धार कार्यमा सहजीकरण गर्ने काम भइरहेको छ ।

सप्तकोशीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोशी नगरपालिकामा समेत क्षति गर्नसक्ने देखिएको छ । 

*हेडलाइन सच्याइएको - सम्पादक 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement