नेपाल राष्ट्र बैंकले विक्री गर्न लागेको सुन र चाँदीले यसको बजार मूल्य नघट्ने व्यवसायीहरूले बताएका छन् । ‘यसबाट अहिले बजारमा देखिएको अभाव पनि हट्दैन र बजार पनि सच्चिँदैन ।’ नेपाल रत्न तथा आभूषण संघका महासचिव विजय ताम्राकारले अभियानसँग भने । यस भनाइमा पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री पनि सहमत छन् । उनका अनुसार राष्ट्र बैंकको बोलकबोलमार्फत सुन विक्री गर्ने निर्णयले सुनको माग अझै बढ्नेछ । ‘यसले डलरमा भएको लगानी सुनमा आउँछ र सुन जम्मा गरेर राख्ने प्रवृत्ति अझ बढ्छ’ उनले भने । क्षेत्रीले बोलकबोलमा जसले बढी रकम लगानी गर्न सक्छ उसले नै सुन पाउने हुँदा बजारका लागि आवश्यक सुनको प्रवाह भने नहुने र मूल्य पनि नघट्ने तर्क गरे ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बजारमा देखिएको सुन र चाँदीको अभावलाई सम्बोधन गर्न १ हजार किलोग्राम सुन र मागअनुसार चाँदी हप्ताको १ हजार किलोको दरले विक्री गर्ने सूचना शनिवार सार्वजनिक गरेको थियो ।
‘राष्ट्र बैंकले विक्री गर्न लागेका सुन र चाँदीले समस्याको समाधान गर्नुभन्दा राष्ट्रिय ढुकुटी रित्याउने काम मात्र गर्छ’ महासचिव ताम्राकारले भने, ‘तत्कालको आवश्यकता पूर्ति गर्न राष्ट्रिय ढुकुटी रित्याउने कामलाई उचित मान्न सकिन्न ।’
राष्ट्र बैंकले सुन व्यवसायीका तीनवटै संघलाई सुन विक्री वितरणको जिम्मा लगाएप्छि तेजरत्न शाक्य नेतृत्वको सुनचाँदी व्यवसायी संघले गत महिनादेखि नै आफ्नो भागमा परेको सुन विक्रीका लागि ल्याएको छैन ।
वर्ष ६ अंक १४, आइतवार, ३ असोज, २०६७