ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

टी अक्शनमा विलम्ब

२०७९ साउन, १९  
सम्पादकीय
Image Not Found

नेपालले भारततर्फ गर्ने चिया निकासीमा बारम्बार गैरभन्सार अवरोध भोग्नु परिरहे पनि त्यसको विकल्पमा तेस्रो बजार खोज्न बलियो प्रयास भएको छैन । भारतबाहेक तेस्रो विश्वमा चिया निर्यातका लागि टी अक्शन सबैभन्दा उपयुक्त माध्यम भए पनि सरकार र व्यवसायीबीच कुरा नमिल्दा त्यसो हुन सकेको छैन । भारतले नेपाली चिया आयातमा बेलाबेला प्रतिबन्ध लगाउने गर्दा टी अक्शनको आवश्यकता झनै बढेको छ ।

टी अक्शन स्थापना गरेर मात्र चियाको विक्री बढ्ने होइन, यसका लागि एक किसिमको ‘इकोसिस्टम’ नै बन्नुपर्छ ।

नेपालमा उत्पादित चिया गुणस्तरीय भए पनि विश्व बजारमा पुग्न सकेको छैन । विश्व बजारमा पुर्‍याउन विभिन्न प्रयास नभएका पनि होइनन् । चिया निर्यात सहज बनाउनु सामूहिक ब्रान्ड ‘नेपाल टी’ को व्यवस्था ती मध्ये एक हो । यसका माध्यमबाट नेपाली चियालाई यूरोपको बजारमा पुर्‍याउन प्रयास भएको छ । अर्थोडक्स चिया निर्यात सहज भए पनि सामान्य चियाको निर्यातमा भने नेपालले विभिन्न समस्या भोग्नु परिरहेको छ । भारतले आफ्नो उत्पादन बढेको बेला नेपालको चिया भित्र्याउन विभिन्न किसिमका अवरोध गर्ने र कम उत्पादन भएका बेला सहज रूपमा नेपालसँग किन्ने गरेको छ । भारतका व्यापारीले नेपाली चिया किनेर दार्जलिङ चियाको ब्रान्डमा विदेश निर्यात गर्ने गरेको समेत बताइन्छ । यद्यपि नेपाली चियामा विषादी र रासायनिक मल हालिएको बारेमा भने विदेशीले चासो राखेको बताइन्छ । अर्थोडक्स चियामा भने यस्तो समस्या नरहेको बताइन्छ ।

त्यसैले नेपाली चियाको बजारीकरण गर्न १३ वर्षअघि अक्शन बजारको व्यवस्था गर्ने कुरा चलेको थियो । करीब ८ वर्षअघि चिया व्यवसायी सुरेश मित्तलको अध्यक्षतामा एउटा समितिसमेत बनेको थियो । समितिले अक्शनका लागि गाइडलाइन पनि तयार पारेको थियो । त्यस्तै १ करोड रुपैयाँको लगानीमा झापाको बिर्तामोडमा अक्शन बजारका लागि आवश्यक पर्ने ल्याब र सफ्टवेयरसमेत विकास गरेको थियो । तर, व्यवसायी र सरकारबीच केही कुरा नमिल्दा यो अक्शन बजार सञ्चालनमा आउन सकेन । चिया निर्यातका लागि यो ठूलो दुर्भाग्य हो जसका लागि नेपाल आफै दोषी बनेको छ ।

अक्शन बजार सरकार र व्यवसायी दुवैले आवश्यक देखेर काम थाले पनि एकअर्कालाई दोष लगाएर सञ्चालनमा बेवास्ता गर्नु हदैसम्मको गैरजिम्मेवारी हो । सरकारी पक्षले व्यवसायीमाथि दोष लगाएको छ । तर, व्यवसायीको माग गलत भने होइन । गोदाममा राखेको चिया बैंकमा धितो राखेर कर्जा लिन पाउनुपर्ने तथा निर्यातमा अनुदान दिनुपर्ने माग अन्यथा होइन । चियामात्रै होइन, कुनै पनि कृषि उपज गोदाममा राखेपछि त्यसको निस्साको आधारमा कर्जा दिनु आवश्यक छ । यसले कृषि उपजको बजारीकरणमा विद्यमान समस्यालाई सम्बोधन गर्छ । अन्य वस्तुको निर्यातमा अनुदान दिने नीति सरकारले लिएकाले चिया निर्यातमा पनि यस्तो अनुदान दिन कन्जुस्याइँ गर्नुपर्ने देखिँदैन ।

टी अक्शनमा देश विदेशका चिया किसान र व्यापारी दुवैको पहुँच हुने गरी सफ्टवेयरको विकास गरिएको हुन्छ । त्यसले गर्दा यसको कारोबार पारदर्शी हुन्छ । यसबाट सरकारलाई पनि फाइदा हुन्छ । अक्शन सफ्टवेयरमा चियाका नमूना र मूल्य राखिएको हुन्छ । त्यो हेरेर व्यापारीले चिया आयातका लागि अर्डर गर्न सक्छन् । बेलायतबाट शुरू भएको यो प्रणाली १९८० मै भारतले उपयोगमा ल्याइसकेको थियो । तर, नेपालमा भने अझै त्यसप्रति चासो नदेखाउन चियाको बजारका लागि सकारात्मक होइन ।

विगतमा यूरोपका चिया व्यापारीहरू नेपाली चिया बगानमै आएर चिया चाखेर नेपाली चिया किन्न तयार हुन्थे । तर, यसको परिणाम भने कम हुन्थ्यो तैपनि यसले नेपाली चिया गुणस्तरीय भएको सन्देश त्यहाँ पुगेको थियो । उनीहरूले चियाको प्रशोधन प्रक्रियामा सुधार ल्याउन पनि सहयोग गरेका थिए । अझै त्यस्तो प्रक्रियामा सुधार आवश्यक देखिन्छ । चिया नेपालले विदेशी मुद्रा आर्जन गर्नसक्ने सम्भावना बोकेको क्षेत्र हो । तर, यसलाई व्यवस्थित गर्न नसक्दा सधैं विक्रीमा निरीहजस्तो हुनुपर्ने अवस्था छ । भारतीय व्यापारीलाई चित्त बुझेन भने विक्रीमै समस्या आउने गरेको छ । अहिलेको समय प्रतिस्पर्धात्मक छ । त्यसैले नेपाली चिया विक्री गर्न पनि प्रतिस्पर्धा हुने वातावरण सृजना गर्नुपर्छ । टी अक्शनले प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने भएकाले यसको आवश्यकता देखिएको हो । टी अक्शन स्थापना गरेर मात्र चियाको विक्री बढ्ने होइन, यसका लागि एक किसिमको ‘इकोसिस्टम’ नै बन्नुपर्छ । पहिलो कुरा त उत्पादन वृद्धि गर्नुपर्छ, यसको साथै चिया गुणस्तरीय हुनुपर्छ । र, विभिन्न मुलुकबाट आउने विज्ञहरूले नेपाली चियाको गुणस्तरलाई प्रमाणीकरण गर्न सक्ने व्यवस्था हुनुपर्छ । यसो भए विश्व बजारमा नेपाली चियाको माग झनै बढ्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement