ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनसान छन् बागलुङका होमस्टे

२०७९ साउन, १९  
गण्डकी प्रदेश
NA

गलकोट । बर्खा लागेपछि बागलुङका होमस्टे (घरबास) पाहुनाविहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमन घटेपछि होमस्टे पनि सुनसान बनेका हुन् । होमस्टे सञ्चालक पनि खेतीपातीमा व्यस्त छन् ।

बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय होमस्टे कार्यक्रम निकै चलनमा छ । बर्खामा ग्रामीण सडक समस्याग्रस्त हुने, पर्यटक आगमनमा कमी आउनु र बाढीपहिरो लगायतका कारणले होमस्टे सुनसान बनेका सञ्चालक बताउँछन् ।

कोभिडका कारण दुई वर्ष थला परेका होमस्टे कोरोनापछि विस्तारै गति लिन लागेका थिए । पछिल्लो समय असारदेखि सुनसान छन् ।

बर्खामा होमस्टेमात्रै नभएर जिल्लाका अन्य पर्यटकीय क्षेत्र पनि सुनसान बनेका छन् । अतिथि सत्कार होमस्टे भकुण्डे, किकल्टा होमस्टे ताराखोला, काठेखोला गाउँपालिकास्थित धम्जाको बेलढुङ्गालगायतका होमस्टे पनि पछिल्लो समय सुनसानजस्तै छन् ।

भकुण्डेस्थित अथिति सत्कार होमस्टे सञ्चालक अप्सरा थापाले भदौपछि मात्रै पर्यटकको संख्या बढ्ने बताइन् । ‘फाट्टफुट्ट पाहुना आएका छन्’ उनले भनिन्, ‘बर्खामा सडकको अवस्था नाजुक भएका कारण चैत वैशाख जस्तो पर्यटक छैनन् ।’

यो समय पर्यटकका लागि राम्रो सिजन नभएको काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक होमस्टेका सञ्चालक गोपाल श्रीशले बताए । अब दशैं–तिहारको बेला पर्यटक बढ्ने उनले बताए । ‘होमस्टेमा पूरै अग्र्यानिक उत्पादन खुवाउने गरिन्छ, अहिले आलु थन्क्याउने चटारो समेत छ,’ उनले भने, ‘बाँकोको सिन्की बनाउने काम समेत भइरहेको छ ।’

दशैं–तिहारको सिजनमा आउने पाहुनालाई अग्र्यानिक उत्पादन खुवाउन बुधवारदेखि सङ्कलन तथा भण्डारणमा जुटेको श्रीशको भनाइ थियो । पाहुनालाई खुवाइने अग्र्यानिक उत्पादनमा जोड दिँदै यहाँका किसानले भाङ्गो, आलु र सिन्की भण्डारण गरिरहेको उनले बताए । जिल्लामा २८ सामुदायिक होमस्टे रहेका छन् । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement