ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सचिव फेर्दै अर्थमन्त्री शर्मा: निकट व्यक्तिसँग थाले परामर्श, को-को छन् लविङमा ?

२०७९ साउन, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं । राजीनामाको २५ दिनमै पुनः अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्मा अर्थसचिव फेर्ने तयारीमा लागेका छन् ।

शर्माले बजेटको अघिल्लो रात बाहिरी मान्छे ल्याएर करका दर हेरफेर गराएको आरोपबारे छानविन गर्न संसदीय समिति गठन भएपछि असार २२ मा राजीनामा दिएका थिए । 

संसदीय छानविन समितिले उनीमाथि लागेको आरोप पुष्टि हुने प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि शर्मा साउन १५ मा पुनः अर्थमन्त्री नियुक्त भएका थिए ।

सचिव मधुकुमार मरासिनीबाट सहयोग नपाउने देखेपछि शर्मा उनको सट्टामा अरूलाई नै ल्याउने तयारीमा लागेका हुन् । मरासिनी पनि शर्मासँग काम गर्न अनिच्छुक छन् । अर्थमन्त्रीमाथि दबाब बढ्दै गर्दा मरासिनीले आकस्मिक रूपमा बिदा बसेर असहयोग गरेका थिए । शर्मा पुनः अर्थमन्त्री नियुक्त भएर कार्यभार सम्हाल्न आउँदाको स्वागत कार्यक्रममा पनि मरासिनी सहभागी भएनन् । 

‘शर्मा पुनः मन्त्री बनेर आउने थाहा पाएपछि मरासिनी बिदामा बस्नुभयो, त्यसैले उहाँ आफै अर्थसचिवको भूमिकामा रहन चाहेको देखिएन,’ मन्त्रीनिकट स्रोतले भन्यो । शर्मानिकट स्रोतका अनुसार पदबहाली गरेको दोस्रो दिनबाटै शर्माले सचिव फेर्न निकट व्यक्तिसँग परामर्श थालेका छन् ।

शर्मा मन्त्रालय फर्किने सुइँको पाएपछि मरासिनी मुख्यसचिवसँग बिदा स्वीकृत गराई पोखरा पुगेका थिए । मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जान इच्छुक रहेको स्रोतको भनाइ छ । पोखराबाट फर्केपछि मरासिनी अर्थ नगई सिधै प्रधानमन्त्री कार्यालयमा सरूवा मिलाई हाजिर हुने तयारीमा रहेको स्रोत बताउँछ ।

एक दिनपछि अवकाश लिन लागेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको ठाउँमा मरासिनीलाई लग्ने सम्भावना छ । 

शर्मासँग काम गर्न नसक्ने भन्दै प्रधानमन्त्री कार्यालय जान सचिव मरासिनीले मुख्यसचिवलाई भनिसकेको निकट स्रोत बताउँछ । मरासिनीको असहयोगका कारण शर्माले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूमाथि लागेका आरोपमा स्पष्टीकरण दिनसमेत पाएका थिएनन् ।

त्यो बेला राजस्व सचिव कृष्णहरि पुष्कर पनि विदेशमा थिए । अनिश्चितकालीन बिदामा बसेका मरासिनी अर्थमन्त्रीले राजीनामा दिएको भोलिपल्टै मन्त्रालय फर्केका थिए । 

अर्थमन्त्री शर्माले सचिव फेर्न खोजेको चाल पाएपछि अर्थमा जान सचिवहरूको लबिङ शुरू भएको छ । अर्थसचिवमा राजस्व सचिव पुष्करको सम्भावना बलियो रहेको अर्थका अधिकारीहरूको आकलन छ । राजस्व सचिवले आइतबार मन्त्रीलाई स्वागत गरेका थिए भने उनले मन्त्री शर्मालाई पूर्ण सहयोग गर्ने वाचा समेत गरेका थिए ।

‘जुन उद्देश्य राखेर बजेट निर्माण गर्यौं, अब त्यहीअनुसार कार्यान्वयन हुने भएको छ र मन्त्रीज्यूलाई मेरो तर्फबाट पूर्ण सहयोग हुनेछ,’ मन्त्री शर्माको स्वागत गर्न आयोजित कार्यक्रममा पुष्करले भनेका थिए ।  

अर्थसचिवका लागि लबिङ गर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्याल, उद्योग सचिव अर्जुन पोखरेल र राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी छन् । उनहरू सबैले अर्थमा काम गरिसकेका छन् ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement