ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सहकारी विभागको सिफारिस 

२०७९ साउन, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं । सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी संस्थाका रूपमा घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरेको छ । 

विभागले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सहकारी ऐन, २०७४ को दफा १०४ (१) बमोजिम गौतमश्री सहकारीलाई समस्याग्रस्त संस्थाका रूपमा घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको जनाएको हो । 

सदस्यहरूको हित विपरीतका कार्य गरेको, निर्धारित शर्तबमोजिम बचत फिर्ता नगरेको, सहकारी मूल्य, मान्यता एवं सहकारी ऐन, नियम र निर्देशन पालना नगरेको भन्दै विभागले उक्त सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गर्न सिफारिस गरेको विज्ञप्तिमा उल्लेख छ । 

सहकारी ऐन अनुसार मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि संस्थाको सम्पत्ति तथा दायित्व छानबिन गरी बचतकर्ताको रकम फिर्ता गर्ने अधिकार समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई रहेको छ । 

विभागका अनुसार गत मंगलवारसम्म उक्त सहकारी संस्थाका ११ सयभन्दा बढी बचतकर्ताहरूले १ अर्ब ७५ करोडको मागदाबीसहित विभागमा उजुरी निवेदनहरू दिएका छन् । उजुरी निवेदनहरू दर्ता हुने क्रम जारी रहेको विभागले जनाएको छ । 

काठमाडौं, कुलेश्वरस्थित उक्त सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरू भने सम्पर्कविहीन छन् । 

उक्त सहकारी संस्थाका सञ्चालक र कर्मचारीहरूलाई विभागमा उपस्थित गराउन जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्राचार गरे पनि अहिलेसम्म कोही सम्पर्कमा नआएको विभागले जनाएको छ । 

विभागले सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम र उनकी पत्नी निर्मला खत्री गौतमको नाममा नेपालभर रहेको घरजग्गा रोक्का राख्नका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागलाई गत मंगलबार पत्राचार गरेको जनाएको छ । 

सहकारीले बचत फिर्ता नदिएको भन्दै बचतकर्ताहरूले गत आइतबार सहकारी विभागमा उजुरी निवेदन दिएका थिए । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement