ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमालयन जाभालाई फर्निचर पसल ठानेर झुक्किन्थे मान्छे : सञ्चालक गगन प्रधान

२०७९ साउन, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन १९, काठमाडौं। नेपालमा ख्यातिप्राप्त हिमालयन जाभा कफीका संस्थापक गगन प्रधानले करीब २ दशक लामो व्यावसायिक यात्रामा भोगेका तीतामीठा अनुभव बुधवार आर्थिक अभियानसँग ‘शेयर’ गरेका छन् । 

त्यस क्रममा उनले नेपालको कफी विश्वस्तरमै उच्च कोटिको रहेको भन्दै यसको खेती प्रवर्द्धन गर्न सरकारी प्रयास बढाउन आवश्यक रहेको बताए । उनको बुझाइमा सरकारबाट आवश्यक तालीम, प्रचारप्रसार तथा अनुदानको व्यवस्था भए कफी खेतीमा कृषकको आकर्षण बढाउन सकिन्छ ।

आवश्यक शीप, प्रशिक्षण, दक्षता तथा लगानी अभावले अन्य खेतीको तुलनामा कफीमा कृषकको आकर्षण बढ्न सकेको छैन । यसले गर्दा मागअनुसार उत्पादन गर्न नसकेको उनले सुनाए । प्रधानका अनुसार नेपालमा उत्पादित कफी निर्यात गर्न सकिने प्रशस्त सम्भावना छ । यसका लागि सरकारले आवश्यक मात्रामा काम गर्न नसकेको उनको अनुभव छ ।

कफीखेती गर्दा क्रश फार्मिङ (कफीसँगै अन्य खेती) हुन्छ भन्ने ज्ञान नभएकाले यसमा कृषकको आकर्षण बढ्न नसकेको हो । रोपेको ६–७ वर्षमा उत्पादन शुरू हुने हुँदा कफीखेती गर्न गाह्रो छ ।

कफीको दाना उत्पादनपछि पनि विभिन्न चरण पार गरेरमात्र गुणस्तरीय बन्छ । त्यसो हुँदा प्रशोधनसम्म ल्याउन सरकारले विशेष नीति बनाउनु आवश्यक रहेको उनको भनाइ छ । प्रधानका अनुसार आवश्यक शीप तथा ज्ञानको अभावमा नेपालमा कफी उत्पादन वर्षेनि घटिरहेको छ ।

उनका अनुसार नेपालमा कफीको वार्षिक खपत १० हजार मेट्रिक टन छ । नेपालको कफी शतप्रतिशत अग्र्यानिक छ । यो प्रतिकिलो १ हजार २०० रुपैयाँमा विक्री हुने तथ्य कृषकले थाहा पाउन नसकेको उनले बताए । स्वदेशमा मागअनुसार कफी उत्पादन हुन नसक्दा भारत, इटाली, थाइल्यान्ड, इन्डोनेशियाजस्ता मुलुकबाट आयात भइरहेको छ ।
प्रधानका अनुसार नेपालमा कफी संस्कृतिको विकास गर्न हिमालयन जाभाले करीब २० वर्षदेखि व्यावसायिक रूपमा काम गरिरहेको छ । नेपालमा कफी संस्कृतिको विकास गर्ने श्रेय पाएको हिमालयन जाभा अन्तरराष्ट्रिय ब्रान्ड बनिसकेको छ ।

उच्च शिक्षा अध्ययन गर्न अस्ट्रेलिया पुगेका गगनले त्यहीँ कफी बनाउन सिके । पढाइ सकेपछि नेपालमै केही गर्ने उद्देश्य बोकेर फर्केका उनी व्यवस्थापनका थप कुरा सिक्न अमेरिका पनि पुगे । त्यहाँ उनले फेरि कफी बनाउने तालीम लिए, सञ्चालनको तौरतरीका पनि सिके अनि कफी बनाउने मेशिन लिएर स्वदेश फर्किए । त्यसताका काठमाडौंमा पाँचतारे होटेलले मात्र कफी बेच्थे । चिया पसल र रेस्टुराँमा सस्तो मूल्यमा तत्कालै खान मिल्ने कफीमात्र पाइन्थ्यो ।

अहिले उनको मेनुमा क्यापचिनो, एसप्रेसो, माकिआटो, अमेरिकानो, लाते, मोक्कालगायत विभिन्न कफीका स्वाद समावेश छन् । गगनका अनुसार स्वादिलो र गुणस्तरीय कफीका लागि दूधदेखि पानीसम्मको गुणस्तर राम्रो हुनुपर्छ । व्यवसायको क्रममा विभिन्न अनुभव बटुलेका उनले उपभोक्ताको कफी खाने बानीमा निकै परिवर्तन आएको देख्दा खुशी लागेको सुनाए ।

समयक्रमसँगै हिमालयन जाभामा मीठो कफी पाइने कुरा आफै प्रचार भएको देख्दा काम गर्ने हौसला अझ बढेको उनी बताउँछन् । स्वदेशमै केही गर्ने सोचका साथ फर्किएका गगनले शुरुआती समयमा बजार सर्वेपछि करीब १३ लाख रुपैयाँ लगानीमा हिमालयन जाभा स्थापना गरेका हुन् । हिमालयन जाभालाई फर्निचर पसल र कम्प्युटर ट्रेनिङ सेन्टर भनेर शुरूमा कतिपय मानिस झुक्किएको अनुभव पनि उनीसँग छ ।

उनको कम्पनीले अहिले कफीखेती, आयात, बरिस्ता तथा बेकरी तालीम पनि सञ्चालन गरिरहेको छ । काठमाडौंको हेरिटेज प्लाजाबाट शुरू गरेको व्यवसाय ठमेल, बौद्ध हुँदै स्वदेश तथा विदेशमा गरी ४० ओटा आउटलेटमा पुगेको गगनले जानकारी दिए । सञ्चालनमा रहेका आउटलेटमध्ये ५० प्रतिशत पे्रmन्चाइजको रूपमा छन् । व्यवसायीको अनुरोधमा फ्रेन्चाइज दिइएको उनले बताए । कोभिडको समयमा भने व्यवसाय विस्तार रोकियो । अहिले मुख्य राजमार्गमा रहेका शहरहरूमा फ्रेन्चाइज विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

उनले भने, ‘नेपालमा कफीखेतीको विकास र विस्तारका लागि अझ धेरै काम गर्नु आवश्यक छ । विदेशको कफीसँग प्रतिस्पर्धा गर्न पनि हमीले यहीँ कफीको व्यावसायिक खेती प्रवर्द्धन गर्नुपर्छ । यसका लागि उत्पादन र आपूर्ति शृंखला मिलाउनुपर्छ । यी सबै व्यवस्थापन गर्न सके नेपाली कफीको भविष्य देश विदेशमा एकदमै राम्रो छ ।’

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement