ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लगानीकर्ताको विश्वास बढाउन सके मात्र बजारको भविष्य राम्रो हुन्छ : बोर्ड अध्यक्ष हमाल

२०७९ साउन, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताहरूको विश्वास कायम राख्न सके मात्र धितोपत्र बजारको विकास हुने बताएका छन् । बिहीवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पूँजीबजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले आफ्नो कार्यकालमा आम लगानीकर्ताको हितलाई ध्यानमा राखेर अघि बढ्ने बताएका हुन् । लगानीकर्ताले विश्वास गरे मात्र बजारको विकास हुने र बजारको विकास भए बजार सम्बद्ध सबै पक्षलाई फाइदा हुने तर्क हमालले गरे । ‘लगानीकर्ता छन् र त धितोपत्र बजार छ,’ उनले भने, ‘लगानीकर्ताको हित सोच्ने हो भने मात्रै सुरक्षित ठाउँमा पुग्न सकिन्छ ।’

धितोपत्र बजारमा समस्या र चुनौती धेरै रहेको उल्लेख गर्दै उनले चुनौतीभित्र नै सम्भावना रहेको बताए । बोर्डमा अध्यक्षको जिम्वेवारी पाएको पाँच महीना पुरा भएको अवस्थामा बजारका सम्बन्धमा यस अघि भएका कमीकमजोरीलाई औल्याउँदै समाधानको बाटो पहिल्याउन अग्रसर रहेको हमालको भनाइ छ । बजारमा सन्तुलन कायम गर्न वास्तविक क्षेत्रका कम्पनीहरूलाई भित्र्याउनुपर्ने अहिलेको आवश्यकतालाई औल्याउँदै उनले  बुक बिल्डिङ विधिलाई प्रभावकारी रूपमा अघि बढाउन सरोकारवाला सबैले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए । बजारको अहिलेको आवश्यकतालाई ध्यानमा राखी क्यापिटल मार्केट इन्टिच्युट यहि वर्ष स्थापना गर्ने लक्ष्य समेत हमालले लिएका छन् । एसएमइ प्लेटफर्म आगामी दुई महीनाभित्र निर्माण गरिसक्ने लक्ष्य रहेको हमालको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले धितोपत्र बजारमा जोखिमलाई बुझेर लगानी गर्न सक्नेको लगानी हुनुपर्ने बताएका छन् । पछिल्लो समय बजारमा लगानीकर्ताको सहभागिता उत्साहजनक देखिन्छ । यो बजारको लागि राम्रो हो । तर, सबै क्षेत्र सबै मानिसका लागि उपयुक्त नहुन सक्छ । यसर्थ कम्पनी विश्लेषण गर्ने र बजारको जोखिम विश्लेषण गर्न सक्ने लगानीकर्ता मात्र बजारका लागि उपयुक्त हुने तर्क उनले गरे ।

मर्चेण्ट बैंकर एशोसिएशन अफ नेपालका अध्यक्ष मेख बहादुर थापाले धितोपत्र बजार विकासका लागि नयाँ नीतिहरू ल्याउनुको सट्टा पुरानै बजारका लागि आवश्यक नीति कार्यान्वयनका लागि सम्बन्धित सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र स्टक ब्रोकर एशोसिएशन अफ नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यवाहक उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तर्फबाट प्रबन्धक निरञ्जन फुयाल र स्टक ब्रोकर एशोसिएशनको तर्फबाट अध्यक्ष सन्तोष मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्र प्रस्तुत गर्दै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सन्तोष मैनालीले ब्रोकरको पूँजी नभई नेटवर्थलाई हेरेर नीति बनाउँनुपर्ने बताए । ब्रोकरको संचरनाका लागि चुक्तापूँजीभन्दा पनि नेटवर्थको धारणा हुनुपर्नेमा जोड दिए ।

उनले अहिले भईरहेको कारोबार मध्ये ७० प्रतिशत उधारो कारोबार हुने र सेटलमेन्टमा ५ रूपैयाँ ब्रोकरबाट उपलब्ध नहुँदा सेटलमेन्ट नभई ब्रोकर कारवाहीमा पर्ने उनले बताए । उधारो कारोबार गर्ने लगानीकर्ताको शेयर बेचेर सेटलमेन्ट गर्न नसकिने धारणा समेत उनले राखे ।

सबैको नजर ब्रोकर कमिशनमा हुने तर व्यवसाय गर्ने नेप्से भन्दा बढी कमिशन नियामक धितोपत्र बोर्डको रहेकोमा कसैको ध्यान नगएको प्रति चिन्ता व्यक्त गरे । दक्षिण एशियामा नेपालको ब्रोकर कमिसन तुलनात्मक रूपमा कम रहेको समेत उनले बताए । त्यस्तै नेप्सेका प्रबन्धक निरञ्जन फुयालले धितोपत्र बजारमा ८० प्रतिशत फाइनान्सियल सेक्टरको सहभागिता रहेको भन्दै वास्तविक क्षेत्रको प्रतिनिधित्व बढाउनुपर्ने बताए । सरकारी लगानीको संस्था हुँदा नेप्सेलाई पफर्मेन्स देखाउन गाह्रो छ । एउटा प्रविधि ढल्यो भने त्यसलाई खरिद गर्ने खरिद नियमावली अनुसार ९ महीना लाग्ने उनले बताए । बजारको आवश्यकता अनुसार अर्को स्टक एक्सचेञ्ज भित्रिनुपर्नेमा समेत उनले जोड दिए ।

नेपाल धितोपत्र बोर्डको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै उप–कार्यकारी निर्देशक नारायण प्रसाद शर्माले बजारमा सबै विज्ञ हुनुभन्दा पनि बजारप्रतिको जोखिम र प्रतिफल सम्बन्धी धारणा बनाउनुपर्ने बताए । नियामक निकाय बोर्डलाई जवाफदेहि सहितको स्वायत्तता हुनुपर्ने धारणा पनि उनले राखे । बजार विकासका लागि नेप्सेकोे कारोबार प्रणाली थप प्रविधियुक्त हुनुपर्ने र क्षमता बढाउनुपर्नेमा समेत उनले जोड दिए ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement