साउन २०, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २८ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले अघिल्लो आवमा रू. ५० करोड ३७ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. ६४ करोड ५२ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएसँगै खुद नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २४ प्रतिशत र सञ्चालन नाफा २८ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७८ करोड रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. १ अर्ब १० करोड, रिटेण्ड अर्निङमा रू. ४७ करोड १८ लाख र शेयर प्रिमियममा रू. ५ करोड ५१ लाख सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ दशमलव ७७ रहेकोमा गत आवमा बढेर रू. १७ दशलमव ०७ कायम भएको हो ।
त्यसैगरी, कम्पनीको निष्क्रिय कर्जा पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव २७ प्रतिशत रहेकोमा गत आवमा घटेर शून्य दशलमव ९६ कायम भएको छ ।
त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात २८ टाइम्स, तरलता अनुपात २६ दशमलव ८५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४३ दशमलव ०३ रहेको छ ।
रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुस्