भोजपुर, २१ साउन । भोजपुरमा यस वर्ष ९० प्रतिशत धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा ८९ प्रतिशत रोपाइँ भएको थियो ।
यस वर्ष समयमै वर्षा भएका कारण समयमै धान रोपाइँ भएको र हालसम्म जिल्लाभर ९० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास अम्गाईंले बताए ।
उनले भने, ‘भोजपुरमा हालसम्म ९० प्रतिशतको हाराहारीमा रोपाइँ सकिएको छ । दुई बाली लाग्ने क्षेत्रमा अझै पनि रोपाइँ भइरहेको अवस्था छ । समयमा वर्षा भएकाले गत वर्षको तुलनामा अलि बढी क्षेत्रमा रोपाइँ भएको हो ।’
जिल्लाभर १८ हजार ९२ हेक्टरमा धानबाली हुने गरेकामा साउन २० सम्म १६ हजार २ सय ८२ हेक्टरमा रोपाइँ सकिएको सूचना अधिकारी अम्गाईंले बताए । जिल्लाका नौ ओटै स्थानीय तहको तल्लो भेगमा धानबाली हुने गरेको छ । पछिल्लो समय बसाइँसराइका कारण खेत बाँझै राख्ने गरिएको छ ।
समयमै मल नपाएर समस्या भएको कृषकले गुनासो गरेका छन् । स्थानीय जोखिमका किसान धनबहादुर थापाले मल नपाउँदा समस्या भएको बताए । उनले भने, ‘सरकारले समयमा मल नदिँदा किसानलाई समस्या भएको छ । युरिया मल बाहिरी बजारबाट प्रतिबोरा रू. २ हजार ४०० मा ल्याउन बाध्य छौँ ।’ रासस