ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

चीनले सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकालाई उपलब्ध गरायो स्काभेटर

२०७९ साउन, २१  
प्रदेश ०१
Image Not Found
सांकेतिक फोटो

साउन २१, फुङलिङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकालाई मित्रराष्ट्र चीनले अनुदानमा स्काभेटर उपलब्ध गराएको छ । चीनसँग सीमा जोडिएको स्थानीय तहको विकास निर्माणका लागि चीनले सो स्काभेटर उपलब्ध गराएको हो ।

फक्ताङलुङ गाउँपालिका–७ ओलाचुङगोलामा रहेका टिप्ताला नाका बन्द रहेकाले सिन्धुपाल्चोक जिल्लाका तातोपानी नाकाबाट गत साता फक्ताङलुङ गाउँपालिकामा स्काभेटर  ल्याइपुर्‍याएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । 

तातोपानी नाकादेखि ताप्लेजुङको सदरमुकाम फुङलिङमा एक सातामा र फुङलिङदेखि दुई दिनमा फक्ताङलुङ गाउँपालिका क्षेत्रमा स्काभेटर पुर्‍याइएको गाउँपालिकाले जनाएको छ । 

स्काभेटर रू. १ करोड ३५ लाख बराबरको रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए । उनका अनुसार चीनदेखि नेपाल ल्याउनका लागि लाग्ने भन्सार शुल्क रू. २५ लाख नेपाल सरकारले छुट दिएको छ ।

नेपाल सरकारले भन्सार शुल्क छुट दिएसँगै तातोपानी नाकादेखि ढुवानी शुल्क मात्र गाउँपालिकाले बेहोर्नुपरेको अध्यक्ष लिम्बूले बताउए । स्काभेटर गाउँपालिका पुगेसँगै गाउँपालिका भित्रका सडक मर्मत गर्न थालिएको छ ।

निरन्तर वर्षाका कारण सदरमुकाम फुङलिङदेखि गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक अवरुद्ध भएको थियो । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा दैनिक सवारी साधन चलाउने व्यक्तिले सास्ती खेप्दै आएका थिए तर अहिले स्काभेटरले सडक मर्मत गर्न थालेसँगै दैनिक यातायातमा सहजता आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्र ठाउँठाउँमा सडकको ट्र्याक खोलिएकामा अब तिनको मर्मत तथा स्तरोन्नति गर्ने काम गाउँपालिकाले गर्ने पालिका अध्यक्ष लिम्बूले बताए । उनले भने, ‘विगतमा झैं सडकका नाममा रकम विनियोजन गर्नेभन्दा सडक मर्मत तथा स्तरोन्नतिको काम गाउँपालिका आफैँले गर्नेछ । स्काभेटरका लागि इन्धन मात्र खरिदका लागि मात्र बजेट विनियोजन हुन्छ ।’

लिम्बूका अनुसार सबै वडादेखि पालिका केन्द्रसम्म बाह्रै महिना यातायात सञ्चालन हुने गरी पालिकाले सडक मर्मत गर्नेछ । गाउँपालिकाभित्रका कृषि सडकका लागि गाउँपालिका आफैंले ट्र्याक खोल्ने मर्मत गर्ने भएको छ ।

विगतमा झैँ कृषि सडकको ट्र्याक खोल्ने, सडक मर्मत तथा स्तरोन्नतिमा ठूलो बजेट खर्च भएकामा आगामी दिन शिक्षा, स्वास्थ्य र उत्पादनमूलक क्षेत्रमा लगानी गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सडक मर्मत गर्न थालेसँगै स्थानीयवासी खुसी भएका छन् । बिरामी हुँदा, दैनिक रूपमा आवतजावत गर्न, आवश्यक सामग्री ढुवानी गर्न उनीहरूलाई सहज भएको छ । रासस
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement