ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पोखरा महानगरपालिकाले बाख्रापालक समूहलाई वितरण गर्‍यो २० लाख अनुदान

२०७९ साउन, २१  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

साउन २१, कास्की । पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख रुपैयाँ बराबरको अनुदान वितरण गरेको छ ।

मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत कृषकलाई ५ लाख रुपैयाँका दरले अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा शाखाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषकका चार ओटा समूहलाई ५/ ५ लाख रुपैयाँका दरले अनुदान वितरण गरेका हुन् ।

अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा - १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा- १८,लगनशील बाख्रा पालन कृषक समूह पोखरा - ३२ र बेगनास बाख्रा पालन समूह पोखरा - ३१ रहेका छन् । 

महानगरको अनुदानबाट १०० जनाभन्दा बढी कृषकहरू लाभान्वित हुनेछन् । कार्यक्रममा मौजा हिल लाईभस्टक फार्म पोखरा - २० का कृषक दुर्गा बहादुर गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ घोषणासहित सम्मान गरिएको छ । पोखराका विभिन्न स्थानलाई बाख्रापालनको पकेट क्षेत्रको रूपमा विकास गर्न र कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गरेकाले उनलाई सम्मान गरिएको हो । 

यस्तै पोखरा महानगरपालिका भित्र रहेका १७ ओटा उत्कृष्ट कृषि फार्मलाई पनि सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्महरूमा १०० भन्दा बढीको संख्यामा बाख्रापालन गरिएको छ ।

उक्त समारोहमा बोल्दै मेयर आचार्यले आगामी ५ वर्षभित्र पोखरा महानगरपालिकालाई कृषि तथा पशुजन्य उत्पादनहरू तरकारी, दूध, अण्डा, मासु, फलफूललगायतमा आत्मनिर्भर बनाइने बताए । उलने कृषकहरूलाई निर्वाहमुखीभन्दा पनि व्यवसायीकरणमा जोड दिंदै महानगर कृषकहरूको साथमै रहेको उल्लेख गरे । 

मेयर आचार्यले कृषि उपजको ढुवानी र बजारीकरणका लागि कोल्ड स्टोरसहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने तयारी गरिएको बताउँदै महानगर भित्र अनुकूलता अनुसारको कृषि व्यवसाय सञ्चालन गर्न सुझावसमेत दिए ।

उनले कृषि तथा पशु बीमामा सबै किसानलाई सामेल हुन आग्रह गर्दै कृषी बीमालाई थप व्यवस्थित गरिने पनि बताए । ग्रामीण क्षेत्रमा बाँदरको आतंक रोक्नका लागि उपयुक्त निकास खोजिने पनि उनको भनाइ छ । 

पोखरा - १३ का वडा अध्यक्ष किरण बराल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे, कृषि विकास महाशाखाका प्रमुख मनोहर कोरिया, बाख्रा पालन किसान समूह कास्कीका अध्यक्ष दुर्गा बहादुर गुरुङ, पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, नमूना प्राङ्गारिक कृषि सहकारी संस्थाका अध्यक्ष टेकनाथ बराल र बाख्रा पालक किसान मिना गुरुङलगायतले पशुपालनको महत्वको बारेमा प्रकाश पारेका थिए ।  पोखरा क्षेत्रमा कृषकहरुले वर्णशंकर र शुद्ध प्रजातिका  ६७ हजारभन्दा बढी बाख्राहरू पालेका छन् । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement