ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तनहुँमा क्रसर उद्योगीको दादागिरी, दर्ता र मापदण्ड पूरा नगरी उद्योग सञ्चालन

२०७९ साउन, २१  
गण्डकी प्रदेश
Image Not Found
प्रतिकात्मक तस्वीर ।

साउन २१, तनहुँ । जिल्लाका विभिन्न स्थानमा रहेका क्रसर उद्योग दर्ताबिनै सञ्चालन हुँदै आएका छन् । जिल्लामा सञ्चालन भएका १९ क्रसर उद्योगमध्ये १० ओटाले दर्तासमेत गरेका छैनन् । अन्य ९ ओटा दर्ता भए पनि मापदण्ड पूरा गरेका छैनन् । 

क्रसर उद्योग सञ्चालनका लागि राजमार्ग र खोला वा नदी किनार, पक्की पुल, ऐतिहासिक तालतलैया, जलाशय र पोखरीबाट पाँच सय मिटर टाढा हुनुपर्ने मापदण्ड छ । त्यसैगरी, शिक्षण संस्था, स्वास्थ्य, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थान तथा सुरक्षा निकाय, अन्तरराष्ट्रिय सीमा, वन, निकुञ्ज तथा आरक्ष, घना बस्तीबाट दुई किलोमिटर, चुरे पहाडको फेदीबाट एक हजार पाँच सय मिटर र हाइटेन्सन लाइनबाट दुई सय मिटर दूरीमा उद्योग सञ्चालन गर्नुपर्ने प्रावधान छ । 

जिल्ला समन्वय समितिका अनुसार दर्ता र मापदण्ड पूरा नगरेका उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गर्न नेपाल विद्युत प्राधिकरणमा पत्राचारका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएकाे छ । मापदण्ड पूरा नगरी सञ्चालन गरिएका क्रसर उद्योगको भने नवीकरण रोकिएको समितिले जनाएको छ ।

जिल्ला समन्वय समितिका नायब सुब्बा नरबहादुर मगरातीले मापदण्डविपरीत सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न समितिले निर्णय गरे पनि उद्योगीले अटेर गरेको बताए । 

त्यसरी सञ्चालन भएका क्रसर उद्योगहरूमा शुक्लागण्डकी नगरपालिकाभित्र सात, म्याग्दे गाउँपालिकामा दुई र बन्दिपुरमा एक ओटा छन् । शुक्लागण्डकी–७ स्थित ए सिक्स एग्रिगेट कम्पनी प्रालि, मेलमिलाप ढुंगा, बालुवा, गिट्टी उद्योग, शुक्लागण्डकी–२ मा एसएन एलए एग्रिगेट एन्ड क्रसर उद्योग प्रालि, सिद्धेश्वर एग्रिगेट एन्ड कंक्रिट ब्लक उद्योग, जय महालक्ष्मी एग्रिगेट इन्डस्ट्रिज प्रालि र शुक्लागण्डकी–५ स्थित प्रोपर कन्स्ट्रक्सन एन्ड क्रसर इन्डस्ट्रिज प्रालि छन् । त्यसैगरी, म्याग्दे गाउँपालिका–४ र ५ मा क्रमशः सेती दोभान ब्लक एन्ड एग्रिगेट उद्योग र ढोर बाराही एग्रिगेट इन्डस्ट्रिज रहेका छन् । 

अधिकांश क्रसर उद्योग घरेलु तथा साना उद्योग समितिलगायत अन्य निकायमा पनि दर्ता नगरी सञ्चालन गरेको भेटिएकाले बन्द गर्नका लागि निर्णय गरी सम्बन्धित पालिकामा परिपत्र गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement