ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

घरजग्गा व्यवसाय गर्ने कम्पनी 'सीई' ले आईपीओ जारी गर्ने, १ हजार मेगावाट विद्युतमा पनि काम गर्दै

२०७९ साउन, २२  
समाचार घरजग्गा
Image Not Found
author avatar अभियान संवाददाता

साउन २२, काठमाडौं । सीई कन्स्ट्रक्शनका अध्यक्ष विजय राजभण्डारीले निकट भविष्यमै कम्पनीले प्राथमिक शेयर निष्कासन (आईपीओ) गर्ने योजनाका साथ काम गरिरहेको बताएका छन् । आर्थिक अभियानसँगको कुराकानीका क्रममा उनले ८ अर्ब रुपैयाँभन्दा बढीको टर्नओभर भइसकेकाले सर्वसाधारणका लागि चाँडोभन्दा चाँडो आईपीओ जारी गर्ने बताएका छन् । 

करीब ३ दशकअघि स्थापित सीई कन्स्ट्रक्शन मुलुकको पायोनियर निर्माण कम्पनीअन्तर्गत पर्छ । कम्पनीले हाउजिङ र घरजग्गाबाहेक हाइड्रोपावरमा पनि लगानी गरेको छ ।

सीईले हाउजिङ, अपार्टमेन्ट, जलविद्युत्, होटल, अस्पताल, सडकलगायत पूर्वाधार निर्माण गर्दै आएको छ । करीब ५ हजारलाई रोजगारी दिएको कम्पनीले गत आर्थिक वर्षमा मात्रै ५ अर्ब रुपैयाँ बराबरको कारोबार गरेको राजभण्डारीले जानकारी दिए । दर्जनौं परियोजनाको निर्माण गरिसकेको सीईले अहिले पनि पूर्वाधार निर्माणका ठूला परियोजना अघि बढाइरहेको छ ।

उनका अनुसार सीईले हरेक नेपालीको आवासमा पहुँच हुनुपर्छ भन्ने सोचका साथ आवास निर्माण परियोजना अघि बढाएको छ । काठमाडौंको सीतापाइलास्थित ४२ रोपनीमा साझेदारीमा शुरू गरेको कम्फर्ट हाउजिङको सफलतापछि दोस्रो परियोजनाका रूपमा टोखामा हाउजिङ बनाएको उनले बताए । कम्पनीले हालसम्म करीब २ हजार घर र आठओटाभन्दा बढी अपार्टमेन्ट निर्माण गरिसकेको छ ।

कम्पनीले व्यवस्थित शहरी आवास निर्माण गर्ने क्रममा विराटनगर, पोखरा, भैरहवामा पनि हाउजिङ निर्माण गरिरहेको छ । रियल इस्टेट क्षेत्रमा आक्रामक रूपमा अगाडि बढेको उक्त कम्पनी पछिल्लो समय काठमाडौं उपत्यकाबाहिर परियोजना विस्तारमा केन्द्रित छ ।

कम्पनीले रूपन्देहीको तिलोत्तमामा माया कम्प्लेक्स शुरू गरेको छ । क्षेत्रीय विस्तारको एक अंशको रूपमा सीई रूपन्देही पुगेको हो । सीईले त्यहाँ आवास, अपार्टमेन्ट र व्यावसायिक कम्प्लेक्स निर्माण गर्नेछ । हाल उक्त ग्रूपअन्तर्गत ३० ओटा कम्पनी सञ्चालनमा छन् ।

व्यवसायको विविधीकरण गर्ने क्रममा कम्पनीले जलविद्युत् आयोजनामा पनि लगानी गरेको छ । उनका अनुसार विभिन्न ४५६ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा कम्पनीले लगानी गरेको छ । कम्पनीको लगानीमा अहिले ८० मेगावाट क्षमताको अप्पर म्याग्दी हाइड्रोपावर निर्माणाधीन छ । ९ दशमलव ५ मेगावाट क्षमताको माइबेनी हाइड्रोपावर राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेको छ । अन्य जलविद्युत् आयोजना निर्माणाधीन छन् । उनका अनुसार सन् २०३० सम्ममा १ हजार मेगावाटका परियोजना सञ्चालन गर्ने लक्ष्य छ ।

उनले हाइड्रोपावरले नै मुलुकलाई समृद्धिको बाटोमा लैजाने भएकाले सरकारले निजीक्षेत्रलाई काम गर्न सहयोग हुने गरी समयसापेक्ष नीति ल्याउनुपर्ने बताए । सरकारले समयसापेक्ष नीति ल्याउन नसक्दा जलविद्युत् आयोजनाको लागत बढिरहेको भन्दै उनले विद्युत् उत्पादन, वितरण तथा व्यापारका लागि सहज हुने गरी ऐन जति चाँडो ल्याउन सक्यो त्यत्ति नै मुलुकको आर्थिक वृद्धिमा टेवा पुग्ने बताए ।

कम्पनीले देशका विभिन्न क्षेत्रमा दर्जनौं ठूला प्रोजेक्टमा काम गरिरहेको छ । ‘हामी समय, क्वालिटी र प्रोजेक्ट म्यानेजमेन्टलाई विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘पैसा तिरेपछि त्यही अनुसार प्रोडक्टको आशा राख्नु स्वाभाविक नै हो । प्रोजेक्टका लगानीकर्ताको आशा र चाहनाअनुसार हामीले गुणस्तरीय काम समयमै सम्पन्न गर्ने गरेका छौं ।’

सरकारको घरजग्गासम्बन्धी नीतिनियम अस्थिर रहेकाले व्यवसायीलाई काम गर्न समस्या भएको भन्दै उनले रियल इस्टेटतर्फ ऋण पाउन २० प्रतिशत ऋण चुक्ता गर्नुपर्ने नियमले व्यवसायीलाई झन् समस्यामा पार्ने बताए । सरकारले कृषि र आवास क्षेत्र छुट्ट्याएर मात्र घर निर्माण गर्न सकिने नीति ल्याएको भन्दै उनले अध्ययन र योजनाविना हचुवाको भरमा निर्णय गर्दा त्यसले अन्योल सृजना गरेको बताए ।

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement