ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

चार करोड सकिएपछि लम्सुवाघाट पुलको ठेक्का रद्द

२०७९ साउन, २२  
प्रदेश ०१
Image Not Found

साउन २२, भोजपुर । झण्डै रू. ४ करोड खर्च गरेपछि भोजपुर-संखुवासभा जोड्ने अरुण नदीमा बन्दै गरेको लम्सुवाघाटको पुलको ठेक्का रद्द गरिएको छ ।
१२ वर्षसम्म पनि पुल निर्माण नभएपछि ठेक्का प्रक्रिया रद्द गरिएको  हो । पुल निर्माणमा हालसम्म रू. ३ करोड ८५ लाख खर्च भइसकेको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ ।

पुल निर्माण चाँडो सम्पन्न गर्न पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले ढिलाइ गरेपछि ठेक्काको सम्झौता नै रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटारका प्रमुख राजेन्द्रप्रसाद शाहले जानकारी दिए । 

स्वच्छन्द निर्माण कम्पनीले २०६७ सालमा पुल निर्माण सुरु गरेको थियो । सम्झौता अनुसार २०७० सालमा पुल निर्माण सम्पन्न गर्नुपर्ने थियो । निर्माणमा ढिलाइ भएको विषयमा जानकारी माग्दा निर्माण कम्पनीका प्रमुख दयाराम लामिछानेले पुल बनाउन नसक्ने लिखित जवाफ दिएपछि ठेक्का रद्द गरिएको शाहले बताए । 

‘हामीले कार्यालयको तर्फबाट गर्न सक्ने काम गरेका हौँ । निर्माण कम्पनीलाई पटकपटक काम चाँडो गर्न आग्रह गर्दा गर्न नसक्ने जानकारी दिएको छ,’ उनले भने । पुल निर्माणका क्रममा जग खन्ने ठाउँमा ठूलो चट्टान भेटिएको भन्दै कम्पनीले काम अघि बढाउन नसेकेको बताउँदै आएको थियो । ठेक्का रद्द गरेर अहिले कम्पनीको धरौटीबापतको रू. ७७ लाख रोकेर कालोसूचीमा राख्नका लागि पत्र पठाएको शाहको भनाइ छ । धरौटी नरोक्न तथा कालोसूचीमा नहाल्न कम्पनीले पाटन अदालतमा मुद्दा हालेको शाहले बताए । 

मुद्दा परेपछि काम नगर्न अदालतले आदेश दिएकाले थप प्रक्रिया अघि बढ्न नसकेको शाहले जानकारी दिए । ‘हामीले बैंकमा रहेको धरौटी बापतको रकम रोक्का गरेर कालो सूचीमा हाल्ने प्रक्रिया थालेका छौँ,’ उनले भने । 

पुल निर्माणका लागि छ पिलर उठाइएको भए पनि काम अघि बढ्न सकेको छैन । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेर काठको डुंगाबाट यात्रा गर्छन् । तत्कालीन समयमा सडक डिभिजन कार्यालय धनकुटा र निर्माण कम्पनीबीच सम्झौता भए पनि पछि उक्त पुल सडक डिभिजन कार्यालय तुम्लिङटार मातहात आएको बताइएको छ । 

पुलको डिजाइनमा समेत त्रुटि रहेको पाइएको छ । यहाँ सुरुमा १६० मिटर लामो पुल बनाउने सम्झौता गरिएको थियो । पछि १२ मिटर बढाएर १७२ मिटर निर्माण गर्ने गरी काम थालिएको थियो । प्राविधिकले डिजाइन गरेभन्दा करिब ७२ मिटर छोटो रहेको पाइएको छ । ‘घाटको जम्मा लम्बाइ २३४ मिटर छ । सम्झौता १७२ मिटर लामो बनाउन भनिएको छ,’ उनले भने । 

पुलले भोजपुरको षडानन्द नगरपालिका-६ सतिघाट र संखुुवासभाको मनकामनालाई जोड्ने छ । पुल बनाउन संघीय सरकारले रू. २४ करोड उपलब्ध गराएको थियो । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement