ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

विद्यालय खुले पनि पठनपाठनमा अन्योल

२०७९ साउन, २३  
मधेश प्रदेश
Image Not Found
फाईल फोटो
author avatar अभियान संवाददाता

महोत्तरी । महोत्तरीको बर्दिबास नगरक्षेत्रका सामुदायिक विद्यालय गर्मी बिदापछि आज खुले पनि पठनपाठन भने अव्यवस्थित बनेको छ ।

बर्दिबास नगर कार्यपालिकाको कार्यालयले नगरभित्रका करारका नगर शिक्षकको म्याद नथपिएकाले तिनलाई हाजिर नगराउन सबै विद्यालयलाई परिपत्र गरेपछि नगरका ५५ सामुदायिक विद्यालयको पठनपाठनमा असर परेको हो । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गत शुक्रवार मातहतका सबै विद्यालयलाई नगर शिक्षकलाई हाजिर नगराउन विद्यालय प्रशासनलाई परिपत्र गरेपछि अहिले यहाँ तनाव बढेको छ । नगरभित्र २२ माध्यमिक र ३९ आधारभूत सामुदायिक विद्यालय छन् । आधारभूत विद्यालयमध्ये आठओटामा बाल कक्षादेखि आठसम्मको पठनपाठन हुँदै आएको छ ।

अन्यमध्ये कतिपयमा पाँच कक्षासम्म र कतिपय  भर्खरै कक्षा थप गर्दै लाने प्रक्रियामा छन् । विद्यालय र विद्यार्थी संख्याको अनुपातमा शिक्षक अभावले पठनपाठनमा असर परेपछि २०७७ चैत २७ गते प्रक्रिया थालेर नगरपालिकाले गतवर्ष भदौ एक गतेदेखि ६५ नगर शिक्षक करारमा नियुक्त गरेर व्यवस्थापन गरेको थियो ।

अहिले ती नै शिक्षकलाई हाजिर नगराउनु भन्ने परिपत्रले पठनपाठनमा समस्या भएको शिक्षकसम्बद्ध संघ, संगठनले बताएका हुन् । गतवर्ष करारमा नियुक्त भएका शिक्षकमा १८ माध्यमिक, २५ उच्च प्रावि (निमावि), १५ प्रावि तह र सात कम्प्युटर शिक्षक थिए । नगर कार्यपालिकाले विभिन्न कानुनी प्रक्रिया पूरा गर्दै खुला प्रतिस्पर्धामा उत्कृष्ट भएमध्येबाट विषय मिलान गरी ६५ शिक्षक करारमा नियुक्त गरेको थियो । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement