ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

घरेलु बजारमा गहुँको मूल्य वृद्धि रोक्न ४० प्रतिशत आयात शुल्क खारेज गर्दै भारत 

२०७९ साउन, २३  
अन्तरराष्ट्रिय उपभोक्ता
Image Not Found

नयाँ दिल्ली (भारत) । भारतले घरेलु स्तरमा गहुँको मूल्य वृद्धि रोक्न गहुँको आयात महसुल खारेज गर्ने भएको छ । केन्द्र सरकारले घरेलु स्तरमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न मे महीनामा गहुँको निर्यातमा प्रतिबन्ध लगाएको थियो भने चर्को आयात महसुल पनि थोपरेको थियो ।

घरेलु स्तरमा गहुँको मूल्य कीर्तिमानी उच्च स्तरमा उक्लिएपछि केन्द्र सरकारले गहुँ आयातमा लगाउँदै आएको ४० प्रतिशत आयात महसुल खारेज गर्ने योजना बनाइरहेको बताइएको छ ।

यसको साथै व्यापारीहरुले आफ्नो साथमा थुपारेर राख्न पाउने सञ्चितिको परिमाणमा पनि सीमा तोकिने भएको छ । प्रतिबन्धले समेत भारतीय बजारमा गहुँको मूल्य वृद्धि रोक्न सकेको छैन । विश्व बजारमा पनि गहुँको भाउ भारतको भन्दा निकै माथि छ । फलतः भारतीय व्यापारीहरुलाई विदेशबाट गहुँ किन्नु अव्यवहारिक बनेको छ ।

सरकारले आयात महसुल खारेज गर्यो र विश्व बजारमा पनि गहुँको भाउ घट्यो भने व्यापारीहरुले आयात सुचारु गर्न सक्ने छन् । भारतमा चाडपर्वको मौसममा गहुँको माग उच्च हुने गरेको छ । यस्तोमा सरकारले सतर्कतापूर्वक कदम चालेन भने चाडपर्वको मौसममा गहुँको भाउ झनै अकासिने चिन्ता बढेको छ । 

आफूहरुले मूल्य घटाउन सम्भव भएसम्मका सबै विकल्पहरुको खोजी गरिरहेको गत हप्ता एक वरिष्ठ सरकारी अधिकारीले बताएका थिए । मूल्य नियन्त्रण गर्नका लागि सरकारले ४० प्रतिशतको आयात शुल्क खारेज गर्ने र थोक विक्रेता तथा व्यापारीहरुले थुपार्न पाउने गहुँको परिमाणमा सीमा तोक्न सक्ने आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले भनेको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले एक समाचारमा भनेको छ । 

गत हप्ता भारतमा एक टन गहुँको मूल्य २४ हजार रुपयाको कीर्तिमानी उच्च स्तरमा उक्लिएको थियो । सरकारले मे १४ मा अप्रत्याशित रुपमा गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि न्यून स्तरमा झरेयता घरेलु बजारमा गहुँको भाउ १४ प्रतिशतले बढीसकेको छ । विश्व बजारमा युक्रेनी गहुँ निर्यात निकासी बन्द भएको अवस्थामा घरेलु स्तरमा उत्पादित गहुँको निर्यात रोकेर मूल्यलाई टेवा दिन सकिन्छ भन्ने आशा सरकारले गरेको थियो । 

भारतमा गहुँ कीर्तिमानी उच्च स्तरमा भएपनि यो विश्व बजारको तुलनामा चाहिँ झन्डै एक तिहाई कम छ । भारतले यस अघि आर्थिक वर्ष २०१७/१८ मा गहुँ आयात गरेको थियो । विश्व बजारमा गहुँको भाउ अर्को २० प्रतिशतले घट्यो र भारतमा मूल्य निरन्तर बढिरह्यो भनेचाहिँ केही महीनापछि आयात सम्भव हुन सक्ने मुम्बईस्थित ग्लोबल ट्रेडिङ फर्मका एक व्यापारीले बताएका छन् । भारतमा नयाँ गहुँ आउन अझै ९ महीना कुर्नुपर्ने अवस्था छ । एजेन्सी 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement