ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

नेप्सेको वृद्धि एक दिन पनि टिक्न सकेन, यस्तो छ घट्नुको कारण 

२०७९ साउन, २३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन २३, काठमाडौं । नेप्से परिसूचक सोमवार घटेर बन्द भएको छ । लाभांशको सिजन शुरू हुन थालेको छ भने बैंकले ब्याजदर नबढाउने घोषणा गरेका छन् । 
यस्तो अवस्थामा पनि बजार बढ्न सकेको छैन । हालसम्ममा वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश कम्पनीहरू नाफामै छन् । शेयर बजारका लागि सकारात्मक पक्ष हुँदाहुँदै पनि बजार बढ्न सकेको छैन । 

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितोकर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह तथा नवीकरण गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ । 

आगामी दिनमा तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने निर्देशन जारी भएसँगै बैंक तथा वित्तीय संस्थाले कर्जा भुक्तानीका लागि दबाब दिएकाले पनि विक्री चाप देखिएको जानकारहरू बताउँछन् । 

शेयर बजारमा लगानीकर्ता मनोविज्ञान सकारात्मक हुनु जरुरी छ ।  यस्तै बजारको दीर्घकालीन सुधारका लागि वित्तीय प्रणालीमा तरलता सहज र ब्याजदर क्रमशः सस्तो हुँदै जानु आवश्यक हुन्छ । 

शेयर बजार घटबढ भइरहन्छ, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ । हल्लाका भरमा लगानी गर्नु हुँदैन, लगानी गर्नुपूर्व कम्पनीका हरेक गतिविधि केलाएर लगानी गर्न जानकारहरू सुझाउँछन् । 

सोमवार नेप्से परिसूचक १७ दशमलव ६८ अंक घटेको छ । नेप्से परिसूचक २ हजार १०६ दशमलव १५ विन्दुमा झरेको हो । यस दिन कारोबारमा आएका २१४ धितोपत्रको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर ४४ हजार ५५३ पटकमा रू. २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका २१४ धितोपत्रमध्ये दूई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

सोमवार सबैभन्दा बढी जानकी फाइनान्सका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ४ दशमलव ३१ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् । शेयर मूल्य प्रतिकित्ता रू. ४४० मा झरेको छ । त्यसैगरी दोस्रोमा एनआईसी एशिया सेलेक्ट फण्डको इकाई मूल्य ३ दशमलव ८४ प्रतिशत घटेर रू.८.५२ मा झरेको छ ।

सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको रू. २० करोड ७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । शेयर मूल्य प्रतिकित्ता रू. ७६४ कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. १० करोड ८५ लाख बराबरको भएको हो ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव १० प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव २७ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी अन्य समूहको परिसूचक २ दशमलव ४२ प्रतिशत घटेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement