ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

मौद्रिक नीति र बजेटको उद्देश्य

२०७९ साउन, २४  
लेख | दृष्टिकोण
Image Not Found

सामान्यतया नेपाल सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई मूर्तरूप दिन बजेट तयार परेको हुन्छ । उक्त बजेटलाई समन्वय गर्ने हिसाबले मौद्रिक नीति तर्जुमा गरिएको हुन्छ । यसका साथै मुद्रास्फीतिलाई नियन्त्रण गर्ने, शोधनान्तर स्थितिलाई सुधार गर्ने र आर्थिक वृद्धिको दिशातिर मुलुकलाई डोर्‍याउने नीतिका रूपमा पनि मौद्रिक नीतिले कार्य गरेको हुन्छ । बढ्दो शोधनान्तर घाटालाई परिपूर्ति गर्नुपर्ने र बजेटले लिएको वार्षिक ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मूल्यवृद्धिलाई नियन्त्रण गर्ने उद्देश्यका साथ मौद्रिक नीति सार्वजनिक गरिएको छ ।

आर्थिक वर्ष (आव) २०७९/८० मा विस्तृत मुद्राप्रदाय १२ प्रतिशतमा राख्ने लक्ष्य लिइएको छ भने निजीक्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर १२ दशमलव ६ प्रतिशतमा राख्ने प्रक्षेपण गरिएको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात भदौ १ देखि ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था लागू गरिएको छ जुन गत आवमा ३ प्रतिशत थियो । त्यसैगरी वैधानिक तरलता अनुपात ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले १२ प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले १० प्रतिशत गर्नुपर्ने व्यवस्था लागू गरिएको छ जुन गत आवमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई १० प्रतिशत र ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाहरूलाई क्रमशः ८ प्रतिशत र ७ प्रतिशत थियो । अहिले बैंक दर पनि बढाएर ८ दशमलव ५ प्रतिशत पुर्‍याइएको छ ।

पन्ध्रौं योजनाको तथ्यांकअनुसार नेपालको पूँजी उत्पादन अनुपात ४ दशमलव ९ ः १ रहेको छ । अर्थात् वार्षिक १० प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न कुल गार्हस्थ्य उत्पादनको ४९ प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन ४८.२५ खर्ब रहेको छ । यसलाई हेर्ने हो भने वार्षिक ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न करीब १९ खर्बको लगानी गर्नुपर्ने देखिन्छ । तर, निजीक्षेत्रतर्फ जाने कर्जा वृद्धिदरको प्रक्षेपण अघिल्लो आवको तुलनामा ७ प्रतिशत कम रहेको देखिन्छ । यस्तो अवस्थामा सरकारले लिएको वार्षिक ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न पक्कै पनि सजिलो देखिँदैन । त्यसैगरी बैंक दर, अनिवार्य तरलता अनुपात र वैधानिक तरलता अनुपातमा भएको वृद्धिका कारण हाम्रो ब्याजदर अझै बढ्ने देखिन्छ । ब्याजदर बढ्ने स्थितिमा निजीक्षेत्रले विस्तार गर्ने कर्जा थप कमी आउने देखिन्छ भने हाम्रो उत्पादनको प्रतिस्पर्धात्मक क्षमतामा समेत नकारात्मक असर पर्न जान्छ ।

अहिले रूस र युक्रेन युद्धका कारण खाद्य वस्तुको भाउ बढेको छ भने पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अमेरिकी डलरको मूल्य बढ्दा मुद्रास्फीति दर बढ्दो क्रममा छ । आव २०७८/७९ को ११ महीनाको तथ्यांकअनुसार वार्षिक मुद्रास्फीति दर ८ दशलमव ५६ प्रतिशत रहेको देखिन्छ । यद्यपि सरकारले बजेटमार्फत आगामी आवभित्र ३० प्रतिशतले खाद्य तथा फलफूलको आयातमा कमी गर्ने उद्देश्य लिएको छ जुन एक आवभित्रै पूरा हुन कठिन छ । यस्तो अवस्थामा वार्षिक मुद्रास्फीति दर ७ प्रतिशतमा सीमित राख्ने बजेटको उद्देश्य पनि कठिन नै हुने अवस्थामा छ । एकातिर ८ प्रतिशतको वार्षिक आर्थिक वृद्धि प्राप्त गर्न उपकरण तथा अन्य कच्चा सामग्रीहरूको आयात गर्नुपर्ने हुन्छ भने आयात खुला गर्ने स्थिति सृजना भएमा शोधानान्तर स्थितिमा थप चाप पर्न आई ७ महीनालाई धान्न पुग्ने वैदेशिक मुद्राको सञ्चितिको उद्देश्य प्राप्त गर्न कठिन पर्न सक्छ । यस्तो अवस्थामा बजेटले लिएको उद्देश्य र मौद्रिक नीतिले लिएको उद्देश्य विरोधाभास रहेको देखिन्छ । यसर्थ शोधनान्तर घाटाको अवस्थालाई हेरेर आयात न्यूनीकरण गर्ने हो भने त्यसको प्रत्यक्ष असर आर्थिक वृद्धिमा पर्न जान्छ भने तत्काल नै खाद्य तथा पेट्रोलियम पदार्थको आयात रोक्न नसकिने हुँदा मुद्रास्फीतिको चाप पनि काम हुने देखिँदैन ।

बढ्दो व्यापारघाटा र शोधनान्तर स्थितिको अवस्थालाई हेरेर राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिएको छ । नीतिले कृषि, निर्यात र कोभिड प्रभावित व्यापारलाई सहुलियत पुनर्कर्जाको साथै कर्जालाई उत्पादनको क्षेत्रमा लगाउने नीति अगाडि सारेको छ । त्यसैगरी उत्पादन तथा व्यापारको ब्याजदर फरक गर्ने नीतिसमेत अगाडि सारेकाले सरकारले लिएको उत्पादकत्व बढाउने नीतिलाई भने केही सहयोग पुग्ने देखिन्छ । आगामी आवमा नै ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मूल्यवृद्धि नियन्त्रण गर्न कठिन भए पनि कर्जालाई उत्पादनको क्षेत्रमा लगाउन सकियो भने दीर्घकालमा अर्थतन्त्रले पक्कै पनि सकारात्मक दिशा समात्ने गरी मौद्रिक नीति अवलम्बन गरिएको छ ।

लेखक आरआर क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा अध्ययरत छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement