ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

वैदेशिक लगानीको विकल्प : डिपोजिटरी रिसिप्ट

विदेशी विनियम सञ्चितिको बलियो आधार

२०७९ साउन, २४  
लेख | दृष्टिकोण
Image Not Found

नेपालको समग्र आर्थिक विकासका लागि भौतिक पूर्वाधारको विकास गरी औद्योगिक तथा पर्यटकीय क्षेत्रको समेत विकासमा ध्यान दिनु आवश्यक देखिन्छ । हालको नेपालको जनसांख्यिकीय वितरणको आधारमा हेर्दा अबको २ दशकभित्र आधारभूत पूर्वाधारको विकास र आर्थिक पुनः संरचनाको कार्य गरिसक्नुपर्ने हुन्छ । यसका लागि पूर्वाधारतर्फ करीब ८० देखि १०० खर्बसम्म पूँजीगत लगानी गर्नु आवश्यक देखिन्छ । अबको १ दशक विशेषतः भौतिक पूर्वाधारमा लगानी गरी आर्थिक वृद्धिको आधार तयार गर्नु पर्नेछ । उक्त आर्थिक विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न लाग्ने कुल पूँजीको स्रोत व्यवस्थापनमा आन्तरिक अर्थतन्त्रबाट मात्रै सम्भव छैन । तसर्थ उक्त भौतिक पूर्वाधारका लागि आवश्यक पूँजीको जोहो गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अन्तरराष्ट्रिय वित्त बजारबाट नेपालको अर्थतन्त्रमा वैदेशिक लगानी भित्र्याउन नितान्त आवश्यक छ । नेपालको अर्थतन्त्रको आकार, संस्थागत संरचना, वैदेशिक मुद्रा सञ्चितिको अवस्था र नेपालको अन्तरराष्ट्रिय वित्तीय पहुँचका आधारमा प्रत्यक्ष पूँजीलाई आकर्षण गर्न समग्र वित्तीय साख सन्तुलित बनाउनुपर्ने देखिन्छ । शुरू अवस्थामा अन्तरराष्ट्रिय पूँजी नेपाल भित्र्याई वैदेशिक मुद्रा सञ्चितिमा सन्तुलन ल्याउनका साथै आर्थिक गतिविधिहरूलाई चलायमान गराउनु आवश्यक छ ।

लगानी बैंकले कुनै विदेशी कम्पनीको एक निश्चित अंश शेयर खरीद गर्छ र उक्त शेयरलाई धितो राखी वा ट्रस्टीकोमा जम्मा गरी उक्त शेयरको बदलामा स्थानीय बजारमा एकाइ निर्माण गरी त्यसलाई आफ्नो बजारमा विक्री गरी कारोबारका लागि खुला गर्छ ।

प्रारम्भिक अवस्थामा नेपालको अर्थतन्त्रमा अन्तराष्ट्रिय पूँजीलाई भित्र्याउन र उक्त पूँजी भित्राएबापत भविष्यमा वैदेशिक मुद्रा सञ्चितिको अवस्थामा नकारात्मक असर पर्न नदिन स्थायी प्रकृतिको लगानी आकर्षित गर्नुपर्ने देखिन्छ । वैदेशिक पूँजी भित्र्याईसकेपश्चात् पूँजीगत खाता सटही सुविधाविना नै नेपालको पूँजी बजारमा वैदेशिक पूँजीलाई आकर्षित गर्न सकिने विकल्पतर्फ ध्यान दिनु आवश्यक देखिन्छ । यसको एक उपयुक्त विकल्प नेपाली कम्पनीहरूको शेयर निक्षेप पत्रका रूपमा अन्तरराष्ट्रिय बजारमा विक्री गरी ती युनिटलाई अन्तरराष्ट्रिय बजारमा सूचीकरण गर्ने प्रबन्ध गर्न सकिन्छ । यसरी शेयर विक्री गर्दा नेपालका स्थापित कम्पनीहरूको २० देखि ३० प्रतिशतसम्म स्वामित्व रहने गरी थप शेयर वास्तविक मूल्यमा विक्री गरी त्यसबाट प्राप्त वैदेशिक मुद्रा तत्तत् कम्पनीहरूमा प्राप्त हुन्छ । उक्त वैदेशिक मुद्रालाई ती कम्पनीले नेपाल राष्ट्र बैंकमार्फत सटही गरी आन्तरिक बजारमा लगानी गर्ने गर्छन् । यसले ती कम्पनीको व्यवसाय विस्तारका लागि स्रोतको सुनिश्चिततासमेत प्रदान गर्छ । यो नेपालको अर्थतन्त्र विस्तारमा सहयोगी हुन्छ भने अर्थतन्त्रले वैदेशिक मुद्रा प्राप्तिसमेत गर्छ । त्यस्तो वैदेशिक मुद्रा नेपालको आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि स्रोतका रूपमा परिचालन गर्न सकिन्छ । यस प्रक्रियाबाट नेपाल सरकार र नेपाली कम्पनीहरूमा कुनै करारीय वित्तीय दायित्व हुँदैन भने नेपालको वैदेशिक मुद्रा सञ्चिति (पूँजीगत खाता) समेत वृद्धि गर्छ । यसबाट समग्र वैदेशिक मुद्रा सञ्चितिमा सकारात्मक प्रभाव पर्नुका साथै पूर्वाधार विकासका चरणमा आवश्यक प्रविधि, निर्माण सामग्री तथा अन्य सेवाहरू आयात गर्न वैदेशिक मुद्राको आपूर्ति गर्छ । वैदेशिक मुद्रा सञ्चितिको अवस्था सहज बनाउन सकिएको अवस्थामा नेपाल सरकारको वित्तीय साखसमेत वृद्धि गरी अन्तरराष्ट्रिय बजारमा नेपालको प्रवेशलाई सहज बनाउन सकिन्छ । यस प्रक्रियामार्फत नेपाली कम्पनीहरूले अन्तरराष्ट्रिय पूँजी बजारमा सहज प्रवेश प्राप्त गर्छन् । नेपाली कम्पनीमा लगानी गरेका एकाइधनीको स्वामित्व राख्ने विदेशी लगानीकर्ताले नेपाललाई वैदेशिक मुद्रा सञ्चितिमा कुनै असर नै नपारीकन स्वतन्त्र रूपमा वैदेशिक मुद्रामै स्वामित्व हस्तान्तरणसमेत गर्न सक्छन् । त्यस्तै कम्पनीहरूको स्वामित्वको प्रतिनिधित्व अन्तरराष्ट्रिय वित्तीय संस्था (लगानी बैंक मर्चेन्ट बैक) ट्रस्टीले गर्ने हुँदा व्यावसायिक वातावरणमा त्यसले नकारात्मक असर पार्दैन । नेपाली कम्पनीको शेयर अन्तरराष्ट्रिय बजारमा समेत सूचीकृत हुने हुँदा नेपालको पूँजी बजारको दोस्रो बजारसमेत थप परिपक्व बन्न सहयोग गर्छ । साथै मूल्य अन्वेषणको काम गर्छ । यसबाट पूँजी बजारमा हुनसक्ने चलखेललाई नियन्त्रणमा ल्याउन सकिन्छ । नेपाली कम्पनीहरूमा संस्थागत सुशासनमा सुधार ल्याउन मद्दत मिल्छ । नेपालको राजस्वको आधार तथा रोजगारी स्तरमा समेत वृद्धि प्राप्त गर्न सकिन्छ ।

निक्षेपपत्र के हो ?
कुनै पनि लगानीकर्ताले आफ्नो देशभन्दा बाहिर प्रत्यक्ष्य पोर्टफोलियो लगानी गर्ने क्रममा आवश्यक कानूनी प्रबन्ध, सूचना र प्रत्यक्ष पहुँच राख्न नसक्ने हुन सक्छ । त्यस्तै प्रत्यक्ष लगानी गर्दा हुने प्रशासनिक तथा कार्यविधिसम्बन्धी झन्झट कम गर्न वा एकीकृत गरी हरेक लगानीकर्ताको प्रतिनिधिका रूपमा एक इन्भेस्टमेन्ट बैंकले कार्य गरी खुद्रा लगानीकर्तालाई अन्तरराष्ट्रिय पूँजी बजारमा प्रवेश गराउन र उनीहरूको पोर्टफोलियोलाई विविधीकरण गर्ने अवसर प्रदान गर्न तयार गरिएको वित्तीय उपकरण हो । यसमा लगानी बैंकले कुनै विदेशी कम्पनीको एक निश्चित अंश शेयर खरीद गर्छ र उक्त शेयर धितो राखी वा ट्रस्टीकोमा जम्मा गरी उक्त शेयरको बदलामा स्थानीय बजारमा एकाइ निर्माण गरी त्यसलाई आफ्नो बजारमा विक्री गरी कारोबारका लागि खुला गरिन्छ ।

लगानी बैंक वा ट्रस्टी वास्तविक रूपमा उक्त कम्पनीको शेयर होल्डर हुन्छ भने त्यसको अन्तिम हितग्राही एकाइधनी हुन्छन् । उक्त कम्पनीमा लगानी गरिसकेपश्चात् एकाइ धारकहरूका तर्फबाट सेवाप्रदायकका रूपमा सम्बद्ध ट्रस्टी रहन्छ । शेयरधनीले प्राप्त गर्ने लाभांश तथा अन्य लाभहरू प्राप्त गर्ने, एकाइधनीहरूका लागि वितरण गर्ने कार्य उक्त लगानी बैंकमार्फत गर्ने गरिन्छ । उक्त कार्य गरेबापत लगानी बैंकले सेवा शुल्कबापतको रकम प्राप्त गर्छ ।

यस प्रक्रियाबाट विदेशी कम्पनीमा लगानी गर्न चाहने खुद्रा लगानीकर्ताले आफ्नो मुद्रा (डलर) मै विदेशी कम्पनीको शेयरमा लगानी गर्न सक्छन् । त्यस्ता एकाइहरूलाई चाहेका बखत दोस्रो बजारमा आफ्नै मुद्रामा विक्रीसमेत गर्न सक्छ । एकाइधनीले प्राप्त गर्ने लाभांशसमेत आफ्नै मुद्रामा प्राप्त गर्न सक्छन् । यसबाट वैदेशिक बजारमा लगानी गर्दाका बखतको सम्पूर्ण प्रशासनिक झमेलाहरूबाट लगानीकर्ता मुक्त हुन्छ । उसले उक्त कम्पनीसँग शेयरधनीको हैसियतले राख्नुपर्ने हरेक सम्बन्धहरूमा व्यावसायिक प्रतिनिधि मुकर्रर गरे बराबरको सेवासुविधासमेत लगानी बैंकबाट प्राप्त गर्छ ।

शेयर विक्री गर्ने कम्पनीको (नेपाली) तर्फ बाट समेत शेयर विक्रीबापत अन्तरराष्ट्रिय बजार पहुँचका लागि वित्तीय सहजकर्ताको काम लगानी बैंकले गर्छ । शेयरधनीको तर्फबाट प्रतिनिधित्व ट्रस्टीले गर्छ । त्यस्ता लगानी बैंकहरूले एकाइहरू विक्री गर्ने क्रममा उक्त संस्थाको व्यावसायिक सुधार तथा वित्तीय विवरण तयार गर्न तथा शेयरको वास्तविक मूल्य निर्धारण गर्न विशेष भूमिका खेल्छ । वैदेशिक पूँजी बजारमा सूचीकरण  हुने भएकाले नेपाली कम्पनीहरूमा समेत विदेशी नियामकीय भूमिका भई स्वनियमनमा जोड दिने हुन्छ । साथै एकाइ विक्रीका बखत तथा वित्तीय विवरण र कर्पोरेट डिस्क्लोजरहरूमा कम्पनीका बारेमा निःशुल्क विज्ञापन तथा अन्तरराष्ट्रिय बजारको पहुँचमा समेत यसले सहयोग गर्छ । यसरी विक्री हुने शेयरहरू निश्चित ट्रस्टीको खातामा रहने हुँदा सोझै विक्रीवितरणमा आउँदैन । तसर्थ त्यस्ता एकाइहरूको कारोबारबाट नेपालको वैदेशिक मुद्रा सटहीमा कुनै असर पर्दैन । पूँजीगत खाता सटही सुविधाविना नै नेपाली कम्पनीहरूमा वैदेशिक लगानी भित्र्याउन सकिन्छ ।

प्रत्यक्ष वैदेशिक लगानी, पोर्टफोलियो लगानी र निक्षेपपत्र
प्रत्यक्ष वैदेशिक लगानीमा मूलतः प्रविधि, वैदेशिक श्रम, परामर्श सेवा तथा उपकरणहरू समेत सँगै भित्रिने हुँदा वैदेशिक लगानीको रकम बराबरको खुद वैदेशिक मुद्रा प्राप्त हुँदैन । त्यस्तै प्रतिबद्धता जनाएको अवधिदेखि कार्य सम्पन्न गर्ने अवधि लामो रहने हुँदा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धताबमोजिमको लगानी कार्य सम्पन्न गर्न लामो समय लाग्छ ।

पोर्टफोलियो लगानीका रूपमा लगानी भित्र्याउँदा लगानीकर्तालाई निश्चित समयपश्चात् लगानी फिर्ता लैजान चाहेको बखत वैदेशिक मुद्रा सटहीको सुविधा दिनुपर्ने हुन्छ । यसबाट वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापनमा ठूलो दबाब झेल्नुपर्ने हुन्छ । तर, निक्षेपपत्रमार्फत शेयर स्वामित्व विक्री गरी विदेशी पूँजी आकर्षित गर्दा लगानी एकपल्ट आएपश्चात् साधारण अवस्थामा फिर्ता हुँदैन । त्यस्तो लगानीबाट प्राप्त हुने लाभांशको अंश मात्रैका लागि वैदेशिक मुद्रा सटही सुविधा प्रदान गर्दा पुग्छ । शेयर विक्री गर्दाका बखत नै लगानीको कुल अंश वैदेशिक मुद्रामा एकमुष्ट प्राप्त हुन्छ । त्यस्तो वैदेशिक मुद्रालाई आन्तरिक लगानीबाट पूर्वाधार विस्तार गर्दा आवश्यक पर्ने वैदेशिक मुद्रा सटही सुविधामा प्रयोग गरी नेपालको प्राकृतिक स्रोतसाधनमा नेपाल र नेपालीकै नियन्त्रण कायम गर्न सकिन्छ ।

निक्षेपपत्रको सम्भावना
हाल नेपालको दोस्रो बजारमा सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरणको अंश करीब ३० अर्ब डलर बराबर पुगिसकेको अवस्थामा नेपालका व्यावसायिक घरानाहरूबाट प्रवर्द्धित अन्य व्यवसाय तथा नवप्रवर्द्धित व्यवसायहरू समेतले पूँजी संकलनको विकल्पका रूपमा निक्षेपपत्रलाई प्रयोग गर्न सक्छन् । यसअर्थमा सूचीकृत कम्पनीमध्येको करीब २० प्रतिशत बराबरका कम्पनीले मात्रै पनि आवश्यक नियामकीय प्रकृया पूरा गर्न सकेको  र त्यसको औसत २० प्रतिशतले निक्षेप पत्रमार्फत शेयर विक्री गर्न सकेको अवस्थामा समेत देशले करीब ३ अर्ब डलर बराबरको वैदेशिक लगानी भित्र्याउन सक्छ । अन्य कम्पनीहरू जो बजारमा सूचीकृत भएका छैनन् वा व्यवसाय विस्तारमै छन् त्यस्ता कम्पनीहरूलाई समेत निक्षेपपत्रमार्फत विदेशी पूँजी बजारमा प्रवेश दिलाउँदा निजीक्षेत्रसमेत थप उत्साहित हुन्छ । नवप्रवर्तनका क्षेत्रमा समेत थप गति प्रदान हुने देखिन्छ । उक्त प्रक्रियाबाट अबको १ दशकमा न्यूनतम पनि १० अर्ब डलर बराबरको वैदेशिक पूँजी नेपाल भित्र्याउन सम्भव छ । उक्त पूँजीले नेपालको वैदेशिक मुद्रा सञ्चिति र स्थिर प्रकृतिको मुद्राप्रदायमा प्रत्यक्ष भूमिका खेल्छ ।

नेपालको अर्थतन्त्रको आकारको वृद्धि, पूर्वाधार विकास तथा औद्योगिक पूर्वाधारका लागि आवश्यक आयातलाई धान्ने वैदेशिक मुद्राको प्राप्ति हुनुका साथै व्यवसायीहरूमा व्यवसाय विस्तारका लागि पूँजीको स्रोतको प्राप्तिको विकल्पसमेत प्राप्त हुन्छ । यसबाट नेपालको समग्र व्यावसायिक वातावरणमा समेत आमूल परिवर्तन आउन सक्छ । यस्तो प्रक्रियाले वैदेशिक मुद्रामा कुनै करारीय दायित्व सृजना नगर्ने हुँदा त्यस्तो प्राप्त हुने वैदेशिक मुद्रालाई दीर्घकालीन महत्त्वका क्षेत्रहरूमा परिचालन गर्न सकिन्छ । यसका लागि नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल लगानी बोर्डलगायत निकायहरूले आवश्यक कानून निर्माण तथा सहजीकरण गरिदिनुपर्छ र स्थानीय पूर्वाधार निर्माण गर्न पनि आवश्यक छ । यसबाट पूँजीका स्रोतहरूको थप विकल्प अर्थतन्त्रले प्राप्त गर्छ ।

लेखक वित्तीय जोखिम विश्लेषणकर्ता हुन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement