ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

कृषकलाई दुई करोड अनुदान

२०७९ साउन, २४  
गण्डकी प्रदेश
NA

म्याग्दी । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले आर्थिक वर्ष २०७८/७९ मा करीब रू. दुई करोड अनुदान वितरण गरेको छ । केन्द्रद्वारा सञ्चालित विभिन्न कार्यक्रम मार्फत ४३२ कृषक, फार्म, समूह र सहकारीले रू. एक करोड ७९ लाख अनुदान पाएका हुन् । केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले दूध, मासु, अण्डा उत्पादन वृद्धि, नश्ल सुधार, पशु बीमा, आहारा, पूर्वाधार निर्माणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको बताए । ‘प्रदेश र संघीय सरकारबाट रू. चार करोड पाँच लाख ८० हजार बजेट विनियोजन भएको थियो,’ उनले भने, ‘रू. तीन करोड ५९ लाख ३६ हजार ३९२ खर्च भएको छ ।’

बेनी नगरपालिकाका ६ ओटा वडालाई समेटेर सञ्चालन भएको बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रमबाट ४३ कृषकलाई बाख्राको खोर निर्माण, मासु पसल सुधार, घाँस काट्ने यन्त्र उपकरण, नश्ल सुधारका लागि बोका र औषधि खरीदका लागि रू. ३४ लाख एक हजार अनुदान उपलब्ध गराइएको छ । रू. ५२ लाख ५० हजार बजेट विनियोजन भएको साना पशुपंक्षी तथा मत्स्य व्यावसायिक फार्म स्थापना तथा विस्तार कार्यक्रमका लागि छनोट भएका ४० मध्ये ३८ फार्मले रू. ४९ लाख ८७ हजार ५०० अनुदान पाएका छन् । रू. आठ लाख बजेट विनियोजन भएको डेरी, मासु तथा माछा पसल सुधार कार्यक्रमबाट पाँच फार्मले रू. चार लाख २४ हजार तीन सय ५९ अनुदान पाएका छन् ।

बेनीको दोभान कृषि सहकारी संस्थामा आवद्ध २१ कृषकले गोठ सुधार, दाना र घाँस भण्डारण भवन, उपकरण, क्यान खरिदका लागि रू. १० लाख अनुदान पाएका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी गणेश रिजालले बताए । कृत्रिम गर्भाधानबाट जन्मेका २४ ओटा पाठा बाच्छा हुर्काएबापत आठ कृषकले रू. दुई लाख ४० हजार अनुदान पाएका छन् । रू. १८ लाख बजेट विनियोजन भएको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत दोभान, बास्कुना र सिमलचौर कृषि सहकारीमा आबद्ध एक सय कृषकले प्रतिलिटर रू. दुई रुपैया ५० पैसाका दरले रू. १५ लाख ९० हजार अनुदान पाएका छन् । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement