ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा

२०७९ साउन, २४  
सुदूरपश्चिम प्रदेश
NA

बैतडी । बैतडीका आठ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र पुरचौंडी नगरपालिका सहित पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपलिका र डिलाशैनी गाउँपालिका पहिरोको उच्च जोखिममा रहेका हुन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले उक्त स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको देखाएको हो । सुर्नया गाउँपालिका र पाटन नगरपालिका पहिरोको मध्य जोखिममा रहेको योजनामा उल्लेख छ ।

उक्त स्थानीय तहहरूमा बाढीको समेत जोखिम रहेको छ । सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा अन्य तहको तुलनामा बाढीको बढी जोखिम रहेको बताइएको छ । त्यहाँको स्थानलाई विगतका वर्षमा पहिरो र बाढीले गरेको क्षति तथा विभिन्न सर्वेक्षणका आधारमा उच्च र मध्यजोखिम भनेर छुट्ट्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । ‘उच्च र मध्य जोखिम छुट्याइएका छौं,’ उनले भने, ‘सोही आधारमा सम्बन्धित स्थानीय तहलाई पूर्वतयारी गर्न भनिएको छ ।’ उक्त स्थानीय तहहरूलाई सुरक्षित स्थानको पहिचान गर्न पनि आग्रह गरिएको उनले बताए ।

वर्षात्को समयमा विपद्का घटना हुन सक्ने भएकाले सम्भावित घटनाबाट जोगिन आवश्यक उपाय अपनाउन जिल्ला प्रशासन कार्यालयले जोड दिएको छ । पहिरोका कारण विगतमा जनधनको क्षति भएकोमा अहिले पनि पहिरोको जोखिम बढिरहेकोले सतर्क रहन आग्रह गरिएको पन्थीको भनाइ थियो ।

गत वर्षमात्रै जिल्लामा पहिरोमा परेर चार जनाको मृत्यु भएको र करोडौंको सम्पत्ति तथा कृषिबालीमा क्षति पुगेको थियो । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement