ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

काउन्टर साइक्लिकल क्यापिटल बफरका सैद्धान्तिक पक्ष

पूँजीकोष बलियो बनाउन राष्ट्र बैंकले लिएको नीति

२०७९ साउन, २५  
लेख | दृष्टिकोण
Image Not Found

मौद्रिक नीतिमा घोषणा गरेअनुरूप केन्द्रीय बैंकले हालै जारी गरेको निर्देशनअनुसार बासेलको पूँजी पर्याप्ततासम्बन्धी संरचना २०१५ अनुसार आगामी आर्थिक वर्षदेखि बैंकहरूले काउन्टर साइक्लिकल क्यापिटल बफरका रूपमा अतिरिक्त पूँजी जगेडा राख्नुपर्ने व्यवस्था गरेसँगै यसको सैद्धान्तिक आधार र पक्षहरूका बारेमा थप चर्चा गर्नु सान्दर्भिक देखिएको छ ।

कर्जा र कुल गार्हस्थ्य उत्पादनको अन्तरलाई मात्र आधार मानेर यस्तो काउन्टर साइक्लिकल क्यापिटल बफर दर निर्धारण गर्दा कहिलेकाहीँ त्यसले नकारात्मक नतीजा पनि दिनसक्ने भएकाले अन्य परिसूचकलाई पनि ध्यान दिनुपर्छ ।

ऐतिहासिक पृष्ठभूमि
सन् २००८ मा विश्व अर्थतन्त्र र विशेष गरी बैंकिङ क्षेत्रमा संकट देखिएपछि भविष्यमा पनि त्यस्तै प्रकारका संकट उत्पन्न हुन सक्ने आकलनका साथ बैंकहरूलाई थप बलियो बनाउनुपर्ने अवश्यकता महसूस भयो । परिणामस्वरूप बैंकिङ सुपरिवेक्षणसम्बन्धी वासेल समितिले सन् २०१० मा जारी गरेको पूँजी पर्याप्ततासम्बधी संरचना (बासेल ३) ले बैंकहरूलाई संकटबाट जोगाउने प्रयोजनको लागि अतिरिक्त पूँजीको जगेडा गर्नुपर्ने प्रावधानसहित काउन्टर साइक्लिकल क्यापिटल बफरसम्बन्धी प्रावधान थप गरी पूँजी पर्याप्तता सम्बन्धमा नयाँ व्यवस्था गरेको देखिन्छ ।

के हो काउन्टर साइक्लिकल क्यापिटल बफर ?
बैंकहरूमा आवश्यक पर्ने पूँजीको मात्रालाई समग्र अर्थव्यवस्थाले निर्देशित गरिरहेको हुन्छ । यदि अर्थव्यवस्था स्वस्थ छ र अर्थतन्त्रका परिसूचकहरू पनि सकारात्मक छन् भने बैंकिङ क्षेत्र पनि स्वस्थ र जोखिमरहित हुने कुरामा विवाद छैन । तर, विभिन्न कारणले कुनै पनि देशको अर्थ व्यवस्था कुनै पनि बेला संकटमा नपर्ला भन्न सकिँदैन । यसरी अर्थव्यवस्थामाथि संकट परेको अवस्थामा स्वाभाविक रूपमा त्यसले बैंकिङ क्षेत्रमाथि पनि संकट पैदा गर्छ । यस्तो संकटबाट उन्मुक्ति पाउन बैंकहरूले अतिरिक्त रूपमा पूँजी जोहो गरेर राख्नुपर्ने हुन्छ । अर्थ व्यवस्थामा आउन सक्ने यही आकस्मिक संकटको प्रभावबाट सुरक्षित राख्न बैंकहरूले अतिरिक्त रूपमा जोहो गर्ने यही पूँजीको अंशलाई ‘काउन्टर साइक्लिकल क्यापिटल बफर’ भनेर बुझ्न सकिन्छ ।

अझ अर्को शब्दमा भन्ने हो भने यस्तो संकटको अवस्थामा समग्र अर्थतन्त्रमाथि कर्जाको अत्यधिक भार रहन सक्छ र कर्जाको माग पनि बैंकहरूले थेग्न नसक्ने गरी बढ्न सक्छ । पूँजीको पर्याप्तताको अभावमा बैंकहरू थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा हुन सक्छन् । यस्तो अवस्थाले एक प्रकारले समष्टिगत अर्थ व्यवस्थामा गतिहीनता पैदा हुन सक्छ र प्रणालीगत जोखिमको अवस्था सृजना हुन सक्छ । त्यस्तो सम्भावित प्रतिकूल आर्थिक अवस्थामा पनि आफूलाई पूँजीको खम्बामा दरिलो गरी उभ्याउन सफल भई कर्जा प्रवाह गर्न बैंकहरूसक्षम होऊन् र देशको अर्थतन्त्रको गतिलाई चलायमान बनाउन सकून् भन्ने उद्देश्यले यस्तो काउन्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्था गरिएको हुन्छ । वास्तवमा अर्थतन्त्रको जग हल्लिन नदिने उद्देश्यले बैंकिङ क्षेत्रलाई सुदृढ बनाउने मौद्रिक उपकरणमध्ये यसलाई महत्त्वपूर्ण र प्रभावकारी अस्त्रका रूपमा लिने गरिन्छ । यसले तत्कालका लागि बैंकहरूको कर्जा विस्तारमा संकुचन त ल्याउन सक्छ तर संकटमा त्यही अहिले संकुचनमा रहेको कर्जाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ विश्वका अधिकांश मुलुकमा यो उपकरणको प्रयोग भएको पाइन्छ । यसले एकातिर सामान्य अवस्थामा अधिक कर्जा विस्तारको कारण हुनसक्ने सम्भावित दुष्परिणामबाट अर्थतन्त्रलाई मुक्त बनाउने गर्छ भने अर्कोतर्फ प्रणालीगत जोखिमका कारण अर्थतन्त्र संकटमा परेको बेला कर्जा विस्तारको क्षमतालाई यथावत् कायम गर्न मद्दत गर्ने भएकाले यो उपकरणको प्रयोग अर्थतन्त्रको सामान्य र असामान्य दुवै अवस्थाका लागि त्यत्तिकै उपयोगी मान्न सकिन्छ ।

बासेल समितिको पूँजी पर्याप्ततासम्बन्धी संरचना (बासेल ३) अनुसार काउन्टर साइक्लिकल क्यापिटल बफर विशेष गरी पाँच प्रकारका सिद्धान्तका आधारमा निर्धारित हुने गर्छ । यसको पहिलो सिद्धान्तअनुसार प्रणालीगत जोखिमको कारण सृजित अत्यधिक कर्जा विस्तारले भविष्यमा निम्त्याउन सक्ने आर्थिक संकटबाट बैंकहरूलाई सुरक्षा गर्ने उद्देश्य प्राप्तिका लागि काउन्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्था गरिन्छ ।

यसको दोस्रो सिद्धान्तअनुसार काउन्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्था कुल गार्हस्थ्य उत्पादन र कर्जा विस्तारको अन्तरलाई एक सीमाभित्र कायम गर्ने उद्देश्यले गरिएको हुन्छ । यो सिद्धान्तअनुसार कर्जा विस्तार र देशको कुल गार्हस्थ्य उत्पादन बीचको अन्तरको आधारमा शून्यदेखि अधिकतम २ दशमलव ५ प्रतिशतसम्म यस्तो अतिरिक्त पूँजीको व्यवस्था गर्नुपर्ने बासेल ३ को पूँजी पर्याप्ततासम्बन्धी संरचनाले व्यवस्था गरेको छ ।  

अझ विस्तृत रूपमा भन्ने हो भने कर्जा विस्तार र देशको कुल गार्हस्थ्य उत्पादनबीचको अन्तर भनेको  कर्जा र जीडीपीको अनुपात र यस्तो अनुपातको ५ वर्षसम्मको औसत अनुपातबीचको अन्तर हो । यदि यस्तो अन्तर ५ प्रतिशतसम्म भएमा कुनै पनि प्रकारको काउन्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्था गर्नु नपर्ने तर त्यस पछिको प्रत्येक अतिरिक्त २ दशमलव ५ प्रतिशतसम्मको अन्तरका लागि अतिरिक्त आधा प्रतिशतका दरले काउन्टर साइक्लिकल क्यापिटल बफरको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको छ । यो सिद्धान्तलाई सामान्यतया सबैले अवलम्बन गर्ने निर्देशिकाका रूपमा पनि ग्रहण गर्ने गरिएको छ र सोहीअनुसार नेपालमा पनि विसं २०८० को साउनदेखि बैंकहरूले अधिकतम २ दशमलव ५ प्रतिशतसम्मको अतिरक्त पूँजीकोष कायम गर्नुपर्ने निर्देशन केन्द्रीय बैंकले गरेको छ । यो प्रावधानअनुसार यदि कुनै बैंकले निर्धारित मात्रामा यस्तो पूँजी कायम गर्न असमर्थ भएमा १ वर्षसम्मको लागि नगद लाभांश वितरण मात्र गर्न नदिने गरी पूँजी पर्याप्तता कायम गराउने अवसर प्रदान गर्ने प्रावधान पनि राखिएको छ ।

काउन्टर साइक्लिकल क्यापिटल बफर निर्धारणसम्बन्धी तेस्रो सिद्धान्तअनुसार माथि उल्लेख गरिएको दोस्रो सिद्धान्तको आधारमाथि पुनर्विचार गर्नुपर्ने भन्ने छ । अर्को शब्दमा भन्नु पर्दा कर्जा र कुल गार्हस्थ्य उत्पादनको अन्तरलाई मात्र आधार मानेर यस्तो बफर दर निर्धारण गर्दा कहिले कहिले त्यसले नकारात्मक नतीजा पनि दिनसक्ने भएकाले अन्य परिसूचकहरूलाई पनि दृष्टिगत गरी उक्त सिद्धान्तको अनुसरण गर्नुपर्छ । यस्ता अन्य परिसूचकहरूमा विभिन्न प्रकारका सम्पत्तिहरूको मूल्यमा आएको उतारचढाव, वास्तविक जीडीपीको वृद्धि दर, कर्जाको अवस्थासम्बन्धी सर्वेक्षण आदि पर्छन् । यो सिद्धान्तअनुसार यदि यी सबै पक्षलाई विश्लेषण गरेर काउन्टर साइक्लिकल क्यापिटल बफर निर्धारण गर्ने हो भने त्यसले बैंकिङ तथा अर्थव्यवस्था माथि नै दिगो तथा दीर्घकालीन सुरक्षा कवच प्रदान गर्छ ।

काउन्टर साइक्लिकल क्यापिटल बफरको चौथो सिद्धान्तले अर्थ व्यवस्थामा आएको संकटको अवस्थामा हुनसक्ने कर्जा संकुचनको अवस्थालाई सामान्य बनाउन यसरी व्यवस्था गरिने अतिरिक्त पूँजीको परिचालनमार्फत कर्जा विस्तारलाई सामान्यीकरण गर्ने कुरालाई विशेष महत्त्व दिएको छ । यसको ठीक विपरीत कर्जा विस्तारको मात्रा अधिक भएको अवस्थामा त्यसले अर्थतन्त्रमा पार्ने दूरगामी नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै बैंकहरूको कर्जा दिने क्षमतामा संकुचन ल्याउने उपकरणका रूपमा पनि यो काउन्टर साइक्लिकल बफरलाई उपयोग गर्न सकिन्छ भन्ने कुरालाई यसको पाँचौं सिद्धान्तका रूपमा व्याख्या गरिएको छ ।

लेखक बैंकर हुन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement