ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन

२०७९ साउन, २५  
प्रदेश ०१
Image Not Found

खोटाङ । जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रू एक करोड ५० लाख लगानीमा स्थापना गरिएको हो ।  

अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिइन् । मुन रक्स इन्टरनेशनल प्रालिले जडान गरेको प्लान्ट जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले औपचारिक रूपमा शुभारम्भ गरेका छन् ।

अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएसँगै सिलिन्डरमा अक्सिजन भरेर प्रयोग गर्न शुरू गरिएको बताइएको छ । प्लान्टबाट उत्पादन भएको अक्सिजन अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी रू. १५ मा विक्री गर्ने निर्णय भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राईले जानकारी दिए ।

प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन खरिद गर्न विराटनगरलगायतका ठाउँ धाउनुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका प्रमुख डा. नितु लामाले बताए । ‘प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि हामी अक्सिजनमा आत्मनिर्भर भएका छौँ,’ उनले भने, ‘बिरामीका लागि अक्सिजन निःशुल्क भएपछि हामीलाई काम गर्न पनि सजिलो भएको छ ।’

अहिले सिलिन्डरमा भरेर प्रयोग गर्न शुरू गरिएको अक्सिजन आगामी दिनमा निर्माणाधीन ५० शय्याको अस्पताल सञ्चालनमा आएपछि पाइप लाइनमार्फत बिरामीको शय्यामा पुर्‍याउने लक्ष्य राखिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ३० वर्षपछि सङ्घीय सरकारको करीब रू. २१ करोड लगानीमा ५० शय्यामा स्तरोन्नति गर्ने काम थालिएको छ ।

मुन रक्स इन्टरनेशनल प्रालिले जडान गरेको अक्सिजन प्लान्टको ट्रस भने कच्चा बनेको भन्दै चौतर्फी विरोध भइरहेको छ । विरोधपछि प्रालिले ट्रसमा प्रयोग गरिएको जाली फेर्नुका साथै पर्खाल प्लास्टर गरेर जस्तापाता लगाएको छ । अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर बनाइएको छ । तर ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन । अन्य ठाउँमा पनि सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने हेभीवेट गाडीको कम्पनीले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने जोखिम देखिएको छ । रासस

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement