ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

विकल्प सकिँदै गएपछि श्रीलंकै फर्किंदै गोताबाया, ३ महीना थाइल्याण्ड बसेर स्वदेश आउने 

२०७९ साउन, २६  
अन्तरराष्ट्रिय
Image Not Found
author avatar अभियान संवाददाता

कोलम्बो (श्रीलंका) । श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजापाक्ष नोभेम्बरमा श्रीलंका फर्किने भएका छन् । जाने ठाउँ कहीं नभएपछि उनी अन्ततः स्वदेश फर्किने बताइएको  छ । ९० दिनको थाइल्याण्ड बसाइपछि उनी श्रीलंका फर्किन लागेको डेली मिररले समाचार छापेको छ । 

गोताबाया श्रीलंकाबाट भागेर माल्दिभ्स पुगेयता छिमेकी देशहरूमा अस्थायी आश्रय माग्दै बसिरहेका छन् । विकल्पहरू समाप्त हुँदै गएकाले उनी स्वदेश फर्किने भएका हुन् । 

गोतबाया बिहीवार सिंगापुरबाट थाइल्याण्ड जाने भन्दै सञ्चार माध्यमहरूले समाचार छापेका छन् । ९० दिन थाइल्याण्ड बस्ने योजना भए पनि उनले त्यहाँ शरण नखोजेको राजनीतिक स्रोतहरूले बताएका छन् । 

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले बुधवार विदेशी सञ्चार माध्यमहरूसमक्ष राजापाक्षलाई मानवीय नाताले प्रवेशको अनुमति दिइएको र उनको बसाइ अस्थायी हुने बताएका थिए । 

श्रीलंका सरकारले गोताबायाको तर्फबाट थाई सरकारलाई अनुरोध गर्दैै उनलाई छोटो अवधि त्यहाँ बस्न अनुमति दिन भनेको थियो । गत महीना श्रीलंकाबाट भागेर राजापाक्ष माल्दिभ्स गएका थिए । त्यति बेला पनि श्रीलंका सरकार माल्दिभ्स सरकारसँग सम्पर्कमा थियो । 

उनी सिंगापुरमा जाँदा पनि श्रीलंका सरकारले नै अस्थायी आश्रयको व्यवस्था मिलाइदिएको थियो । थाइल्याण्डले दिएको ९० दिनको भिसा नोभेम्बरमा सकिन्छ । त्यसपछि भने गोताबाया स्वदेश नै फर्किने बताइएको छ । 

राष्ट्रपतिबाट पदच्यूत भए पनि उनी श्रीलंकाकै नागरिक हुन् । नागरिक भएको नाताले स्वदेशमा बस्न पाउने उनको कानूनी अधिकार भएकोले अब राजापाक्ष स्वदेश नै फर्किने राजनीतिक स्रोतले बताएका छन् । 

गोताबायाको अस्थायी बसोबासको व्यवस्था सरकारले मिलाइरहेको भए पनि एउटा देशबाट अर्को देशमा जान आवश्यक रकम भने गोताबाया र उनका छोरा मनोजले बेहोरिरहेको बताइएको छ । 

गत महीना गोताबाया दम्पतीलाई कोलम्बोबाट मालेसम्म सरकारी विमानबाट पुर्‍याउन भने सरकारी कोषको पैसा चलाइएको थियो । गोताबाया धनी व्यापारी पनि हुन् । उनको परिवारको सीमापार पनि राम्रो सम्बन्ध छ । उनले मध्य पूर्वदेखि अमेरिकासम्म नै शरण खोज्ने कयौं प्रयास गरेका थिए । कसैले पनि उनलाई आश्रय दिन नमानेपछि उनीसँग अब स्वदेश फर्किनबाहेक अरू विकल्प नभएको बताइएको छ ।  एजेन्सी 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement