ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

चीनमा अटो विक्री झन्डै ३० प्रतिशतले बढ्यो

२०७९ साउन, २६  
अन्तरराष्ट्रिय
Image Not Found

साउन २६, पेचिङ (चीन) । गएको महीना चीनमा अटो बजारमा उल्लेख्य सुधार आएको छ । जुलाईमा चिनियाँ बजारमा कुल २४ लाख २० हजार थान अटो विक्री भएका छन् । योसँगै जुनमा गति लिएको अटो बजारले जुलाईमा पनि निरन्तरता पाएको छ । 

विक्रीको यो आकार गत वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ७ प्रतिशत धेरै भएको चीनको अटोमोबाइल निर्माता संघ (सीएएएम) को तथ्यांकले देखाएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागू गरिएको प्रतिबन्ध कसिलो पारिएको अनि सरकारले दिएको प्रोत्साहनका कारण विक्रीमा सुधार आएको हो ।

गत महीना विक्री सुध्रिएको भए पनि यस वर्षको पहिलो सात महीनाको अवधिको विक्री भने गत वर्षको तुलनामा २ प्रतिशत कम छ । शुद्ध विद्युतीय सवारी साधन, प्लग–इन हाइब्रिड र हाइड्रोजन फ्यूल सेलबाट चल्ने समेतका सवारी साधनसमेतको नयाँ ऊर्जाबाट चल्ने सवारी साधनको विक्री गत वर्षको सोही अवधिको तुलनामा १२० प्रतिशतले बढेको छ ।

आगामी केही महीना चीनको अटो बजारमा विक्री स्थीर रूपमा बढ्ने सीएएएमका वरिष्ठ अधिकारी सु हाइतोङ भन्छन् । गत वर्ष भने चिप अभावका कारण विक्री प्रभावित भएको थियो । जुलाईको विक्री जुनको भन्दा ३ दशमलव ३ प्रतिशत कम हो ।

देशभर उखर्माउलो गर्मीका कारण उत्पादन घटेको अनि शोरुमहरूमा उपभोक्ताहरूको आगमन घट्दा पनि जुलाईमा विक्री प्रभावित भएको हो । साना इञ्जिनबाट चल्ने सवारी साधनको विक्री कर घटाउने र परम्परागत इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय बनाउन अनुदान दिनेलगायत पहल गरेर चीनले अटो उद्योगलाई ब्यँताउन खोजिरहेको छ ।

यो वर्षको शुरूमा बल्झिएको कोभिडको संक्रमण नियन्त्रण गर्न शाङहाईसमेतका मुख्य अटो उत्पादन केन्द्रमा लकडाउन गरिँदा पनि उद्योग मारमा परेको थियो । समग्रमा अटो क्षेत्रको पुनःबहाली आएको भएपनि व्यवसायिक प्रयोजनका सवारी साधनको विक्री भने कमजोर नै छ ।

एक वर्ष अघिको तुलनामा जुलाईमा यस्ता सवारी साधनको विक्री २१ दशमलव ५ प्रतिशतले घटेको छ । यसले चीनको लजिष्टिक र पूर्वाधार विकास क्षेत्रमा गतिविधिहरु पूर्ण रुपमा सुचारु भइनसकेकोतर्फ संकेत गरेको छ । एजेन्सी 
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement