ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

लगातार चार दिन घट्यो नेप्से, घटेको बजारमा यस्तो लगानी रणनीति अपनाउनु उपयुक्त

२०७९ साउन, २६  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

साउन २६, काठमाडौं । लगातार चार दिन नेप्से परिसूचक घट्दो क्रममा रहेको छ । गत सोमवारदेखि घटेको नेप्से परिसूचक बिहीवार पनि घटेर बन्द भएको छ ।

पछिल्लो समय बजार घट्नुको कारण भदौ ८ गतेसम्म रू. १२ करोडभन्दा माथिको बाँकी रहेको शेयर धितोको ऋण तिर्नुपर्ने बाध्यताले पनि बजारमा आपूर्ति बढेको जानकारहरू बताउँछन् । शेयर बजारमा लगानीकर्ता मनोविज्ञान सकारात्मक हुनु जरुरी छ । यस्तै बजारको दीर्घकालीन सुधारका लागि वित्तीय प्रणालीमा तरलता सहज र ब्याजदर क्रमशः सस्तो हुँदै जानु आवश्यक हुन्छ । 

शेयर बजार घटबढ भइरहन्छ, लगानीकर्ताले लगानी गर्नुपूर्व बजारको ट्रेण्ड हेरी कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा राम्रो प्रतिफल पाइन्छ । कसैको हल्लाका भरमा लगानी गर्नु हुँदैन, लगानी गर्नुपूर्व कम्पनीको हरेक गतिविधि हेरेर लगानी गर्न जानकारहरू सुझाउँछन् । 

अहिले घटेको बजारमा सस्तो मूल्यमा शेयर किनेर एभरेजिङ गर्ने रणनीति लिनु उपयुक्त हुन सक्ने बजारका जानकारहरू बताउँछन् । दीर्घकालिन लगानी गर्ने हो भने यतिबेला राम्रा कम्पपनीको शेयर किनेर राख्नुपर्ने जानकारहरू बताउँछन् ।

साताको पाँचौं कारोबार दिन बिहीवार नेप्से परिसूचक १८ दशमलव ९६ अंक घटेको छ । नेप्से परिसूचक २ हजार ३७  दशमलव ९२ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२३ धितोपत्रको ६२ लाख ९८ हजार ६३८ कित्ता शेयर ३६ हजार २६४ पटकमा रू. १ अर्ब ७६ करोड १० लाख २३ हजार ३८ बराबरको शेयर किनबेच भएको हो ।

यस दिन कारोबारमा आएका २२३ धितोपत्रमध्ये सबैभन्दा बढी हिमालयन हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी दोस्रोमा अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भएर रू. १४३ दशमलव २० पुगेको हो । 

बिहीवार सबैभन्दा बढी युनिलिभर नेपालको शेयर मूल्य ८ दशमलव २३ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८ हजार ९०५ कायम भएको छ । त्यसैगरी दोस्रोमा बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्य ७ दशमलव ५६ प्रतिशत घटेर रू. ४०२ मा झरेको छ । यस दिन सर्वाधिक शेयर खरीदविक्री शिवम् सिमेन्टको भएको छ ।

कम्पनीको रू. ७ करोड २७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७३३ कायम भएको छ । त्यसैगरी सर्वाधिक दोस्रोमा हिमालयन डिष्टीलरीको रू. ६ करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव ४६ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूहको समूहगत परिसूचक २ दशमलव ३८ प्रतिशत घटेको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement