ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

राष्ट्रिय योजना आयोगको पुनः संरचना

अन्तर्विरोध र असमन्वय हटाउन पूर्ण अधिकार

२०७९ साउन, २७  
लेख | दृष्टिकोण
Image Not Found
author avatar कृष्णराज बजगाईं

प्राचीन समयमा फ्रिजिया देशमा एक जना भविष्यवेत्ता थिए । जो पहिलोचोटि गोरुगाडामा उक्त नगरमा प्रवेश गर्छ ऊ नै फ्रिजियाको राजा हुने घोषणा उनले गरेका थिए । उनको भविष्यवाणी अनुसार गोरुगाडामा चढेर आएका गोर्डियस उक्त राज्यका राजा घोषित भए । यो चमत्कार देखेर त्यो गोरुगाडा दरबारको बाहिर जियस देउताका नाममा अर्पित गरी डोरीले खाँबोमा कसेर राखियो । कालान्तरमा फ्रिजिया राज्य कमजोर हुँदै गर्दा फेरि एकजना भविष्यवेत्ताले जसले गोर्डियनले पारेको गाँठो फुुकाल्न सक्छ ऊ सिँगो एशियाको राजा हुन सक्छ भन्ने भविष्यवाणी गरे । अनेक मानिसले अथक प्रयत्न गर्दा पनि उक्त गाँठो फुक्न सकेन । तर, एक जना तेजस्वी युुवकले त्यो गाँठो फुकाउने प्रयत्न गरे तर सकेनन् । केही शीप नलागेपछि उनले हातबाट तरबार झिकेर गाँठोलाई दुई टुक्रा पारे । तिनै युवा कालान्तरमा अलेक्जेन्डर द ग्रेट भएर निस्के ।

विदेशी प्रभाव, स्वदेशमा व्याप्त संकीर्ण राजनीतिक स्वार्थ, अदूरदर्शिता र स्वार्थ समूहको दबाब र डिपस्टेटको अनुपस्थितिका कारण अन्तर्विरोधका गाँठाहरूको संख्या घट्नुको साटो झन् झन् वृद्धि भइरहेको छ ।

त्यसयता गोर्डियनको गाँठोलाई सहज रूपमा समाधान गर्न नसकिने कुनै जटिल समस्यालाई चित्रण गर्न उपमाका रूपमा प्रयोग गर्ने गरिन्छ । यस्ता गाँठाहरू सबैभन्दा बढी अल्पविकसित देशहरूमा बाँधिने गरिन्छ । अल्पविकसित देशहरूले पनि गोर्डियसले झैं एकआपसमा जेलिएका कानून, संगठन, घोषणा, नीति, रणनीति र कार्यक्रमहरू घोषणा गर्ने गर्छन् कि जसलाई साधारण प्रयासबाट सुल्झाउन कठिन हुन्छ । जो सामान्य विधिको प्रयोगले यी बहुसञ्जालयुक्त गाँठाहरू फुकाल्ने प्रयत्न गर्छन् ती त्यही गाँठामै जेलिएर असफल हुन्छन् । जो ती गाँठाहरू फुकाउने प्रयत्न गर्दैननन् त्यस्ता नेतृत्वहरू व्यक्तिगत रूपमा त सफल हुन्छन् परन्तु राष्ट्र भने झन् झन् गहिरो भड्खालोमा फस्दै जान्छ । अल्पविकसित देशहरूको यो दुश्चक्रको उद्गम विन्दु भनेको यी देशले आफैले बाँधेका बहुकेन्द्र, बहुकानून, बहुघोषणा, बहुुनीति, बहुरणनीति र बहुकार्यक्रमरूपी गाँठाहरू नै हुन् ।

कुनै पनि वस्तुलाई पहिचान गरी तिनको व्यावसायिक उत्पादन गर्नु, तिनलाई आन्तरिक र बाह्य दुवै बजारमा प्रतिस्पर्धी बनाउनु र यी क्रियाकलापको निरन्तरता मुलुकको औद्योगिकीकरणका प्रारम्भिक चरण हुन् । यी अपरिहार्य चरणहरू पार गर्ने कार्यान्वयनमैत्री पद्धतिको विकास हुन जरुरी छ । परन्तु विश्वका अधिकांश अल्पविकसित मुलुक उपर्युक्त चरणमा कार्यान्वयनमैत्री पद्धतिको विकास नहुँदा यस क्षेत्रमा अपेक्षित उपलब्धि प्राप्त हुन नसकेको हो । सारमा भन्नुपर्दा अल्पविकसित देशहरूमा एउटै कार्यका लागि बहुकेन्द्र, बहु कानून, बहुकार्यक्रम, बहुनीति बहु रणनीति सृजना गर्ने उन्माद रहेको हुन्छ । सबै कार्यक्रम आफ्नै निकाय मातहत हुने गरी क्षेत्राधिकार बाहिरका क्षेत्रमा पनि सक्रिय हुने प्रवृत्ति हाबी भएको हुन्छ । यो क्षेत्राधिकार उल्लंघन गर्ने कार्य सरकारी निकायहरूमा मात्रै सीमित छैन । निजीक्षेत्रले गर्ने कार्यहरूमा सरकारको अनावश्यक उपस्थिति देखाउने प्रचलन अल्पविकसित मुुलुकहरूमा आम रूपमा अभ्यास भएको पाइन्छ ।

माथि उल्लेख भएझैं नेपालमा पनि एउटै कार्यका लागि बहुकेन्द्र, बहुकानून, बहुकार्यक्रम, बहुनीति बहुरणनीति सृजना गर्ने प्रवृत्ति हाबी हुँदै आएको छ । फलस्वरूप नेपालमा कुनै पनि क्षेत्र अर्थतन्त्रको मेरूदण्ड हुने गरी विकास हुन सकेको छैन । कुनै एउटा क्षेत्रको विकासको कुरा गर्दा त्यहाँ अन्तरनिकाय, अन्तरकानून, अन्तरकार्यक्रम, अन्तरनीति र अन्तररणनीतिबीच एक आपसमा विरोधाभास शुरू हुन्छ । एकआपसमा बिल्कुल विपरीत चरित्रका यस्ता विरोधाभासको भुलभुलैयामा अंकुरित विकास प्रष्फुटित हुन नपाउँदै निमोठिन जाने वातावरण सृजना हुन्छ । नेपालमा कुनै क्षेत्र केही समय एक्कासि माथि आउने र छोटो समयमै वर्षायामको भेलझैं बिलाएर जाने प्रवृत्ति यही विरोधाभासरूपी भुलभुलैयाको कारणले गर्दा हो ।

विश्वका कुनै समय पिछडिएका तर वर्तमान समयमा आर्थिक शक्तिका रूपमा उदाएका मुलुकहरूको दु्रत र दिगो विकासको पछाडिको रहस्यमा बहुकेन्द्र, बहुकानून, बहुकार्यक्रम, बहुनीति, बहुरणनीतिको परित्याग र यसको स्थानमा एकल नेतृत्वमा एकल केन्द्र, एकल कानून, एकल कार्यक्रम, एकल नीति र एकल रणनीतिको अंगीकार नै रहेको छ । रूसले विज्ञानका क्षेत्रमा गरेको विकास, चीनको आर्थिक शक्तिका रूपमा उदय, सिंगापुर र दक्षिण कोरियाको चामत्कारिक विकासका पछाडि यस्तै एकल नेतृत्वमा एकल केन्द्र, एकल कानून, एकल कार्यक्रम, एकल नीति र एकल रणनीतिको भूमिका रहेको छ ।

द्रुतगतिको सफलताका लागि रणनीतिकारहरू मंगोलियाका शासक सम्राट चँगेज खाँलाई सम्झने गर्छन् । उनले तयार गरेको यास्सा संहिता र उक्त संहिताअन्तर्गत एकल नेतृत्व र एकल नीति नै मंगोल साम्राज्यको विद्युतीय गतिको विस्तारको कारण रहेको विज्ञहरूको भनाइ छ । मंगोलियादेखि हंगेरीसम्म युद्ध सामग्री, बन्दोबस्ती र सञ्चारको व्यवस्थालाई आधुनिक व्यवस्थापन शास्त्रका विद्यार्थीका लागि अझै पनि विस्मयकारी अध्यायका रूपमा रहेको देखिन्छ ।

सन् १९७५ सम्म विश्वका पिछडिएको मुुलुकका रूपमा रहेको चीनले जब बहुकेन्द्र, बहुकानून, बहु कार्यक्रम, बहुनीति, बहुरणनीतिको परित्याग गर्‍यो र त्यसको स्थानमा एकल नेतृत्वमा एकल केन्द्र, एकल कानुून, एकल कार्यक्रम, एकल नीति र एकल रणनीति अंगीकार गर्‍यो अनि मात्र विश्व अर्थतन्त्रसँग एकाकार हुन सक्यो । यही कारण ऊ आज विश्वको पहिलो ठूलो निर्याकर्ता र दोस्रो ठूलो आयातकर्ता मुलुकका रूपमा आफूलाई उभ्याउन सफल भएको छ । राष्ट्रिय विकास तथा सुधार आयोगअन्तर्गत सम्पूर्ण योजना तर्जुमा, कार्यान्वयन र आर्थिक नीति तर्जुमा तथा कार्यान्वयन गतिविधिहरू केन्द्रित गरी चीनले यस प्रकारको सफलता प्राप्त गर्न सकेको हो । स्टेट प्लानिङ कमिशन र स्टेट डेभलपमेन्ट प्लानिङ कमिशनमा बाँडिएका आर्थिक विकासका गतिविधिहरूलाई एकीकृत गरी सीधै स्टेट काउन्सिलप्रति उत्तरदायी रहने गरी चीनको समग्र अर्थतन्त्रको व्यवस्थापन गर्ने योजना र प्रशासनिक नियन्त्रण गर्ने जिम्मेवारी राष्ट्रिय विकास तथा सुधार आयोगलाई प्राप्त भएपछि चीनको विकास ज्यामितीय ढंगबाट अघि बढ्न गएको हो ।

जापानले पनि आफ्नो द्रुतदर आर्थिक विकासका लागि सन् १९४९ मा अन्तरराष्ट्रिय व्यापार तथा उद्योग मन्त्रालयको गठन गरेको थियो । उक्त मन्त्रालयलाई अझ आर्थिक गतिविधिको दिशानिर्देश गर्ने गरी थप क्षेत्राधिकारसहित सन् २००१ मा आर्थिक, अन्तरराष्ट्रिय व्यापार तथा उद्योग मन्त्रालयको रूपमा पुनर्गठन गरिएको हो । जापानको वर्तमान आर्थिक उन्नत्ति र विश्व आर्थिक शक्तिका रूपमा उदय हुनुमा यो मन्त्रालयको ठूलो भूमिका रहेको छ, जसले जापानका आर्थिक क्रियाकलापहरूलाई एकल नेतृत्वमा सही दिशानिर्देश गर्दै आएको छ ।

संयुक्त राज्य अमेरिकाका आर्थिक स्वार्थहरू पूर्ति गर्न ट्रेड रिप्रेन्जेटिभको व्यवस्था गरिएको हुन्छ, जसले विदेशमा अमेरिकी आर्थिक गतिविधिहरूलाई सक्रिय तुल्याई अमेरिकी हितको प्रवर्द्धन गरिरहेका हुन्छन् ।

माथि दृष्टान्तहरूका माझ नेपालको आर्थिक विकासमा प्रमुख अवरोधकका रूपमा विगत लामो समयदेखि एकआपसमा विरोधाभास हुने गरी सृजना गरिएका अन्तरनिकायमा छरिएर रहेका क्षेत्राधिकार रूपी गाँठाहरू नै हुन् । चिन्ताको विषय यी गाँठामा थप जटिल गाँठाहरू थपिने क्रम रोकिएको छैन । विदेशी प्रभाव, स्वदेशमा व्याप्त संकीर्ण राजनीतिक स्वार्थ, अदूरदर्शिता र स्वार्थ समूहको दबाब र डिपस्टेटको अनुपस्थितिका कारण यसरी गाँठाहरूको संख्या घट्नुको साटो झन् झन् वृद्धि भइरहेको छ ।

उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालको द्रुतगतिको आर्थिक विकासका लागि सर्वप्रथम देशभर व्याप्त गाँठाहरू फुकाल्ने कार्यको शुरुआत नै हो । यसको शुरुआत वर्तमान राष्ट्रिय योजना आयोगको पुनः संरचनाबाट गरिनु जरुरी छ । राष्ट्रिय योजना आयोगको पुनः संरचनामा यसलाई पाँचओटा अधिकारसहित सक्रिय तुुल्याउन आवश्यक देखिन्छ । यी पाँचओटा अधिकारमा योजना तर्जुमा गर्ने अधिकार, योजनाका लागि बजेट विनियोजन गर्ने अधिकार, योजना कार्यान्वयन गर्ने अधिकार, योजना कार्यान्वयनमा सरकारका सम्पूर्ण संयन्त्रहरू परिचालन गर्ने परिचालन गर्ने अधिकार तथा योजना कार्यान्वयनमा दण्ड पुरस्कार दिन सक्नेसहितको अनुगमनको अधिकार पर्छन् ।

नेपालमा जेलिएको गोर्डियनको गाँठो फुकाउने यो नै अलेक्जेन्डरको तरबारको पहिलो प्रहार हो । यो प्रहारपश्चात् अन्य सानातिना गाँठाहरू मेसो लागेको स्वीटर उधारेजस्तै स्वतस्फूर्त रूपमा फुकाल्न सकिन्छ । जसले यो यो विधिबाट नेपाली राज्य संयन्त्रलाई जेलेर राखेको गोर्डियनको गाँठोलाई काट्न सक्छ, त्यही नेतृत्व वर्तमान युुगको युुगपुरुषका रूपमा रहने निश्चित छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement