ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा पुनः आन्दोलन घोषणा

२०७९ साउन, २७  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पेट्रोलियम ढुवानी व्यवसायीले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । यसअघि गत चैतमा आन्दोलन गरेका व्यवसायीले नेपाल आयल निगमसँग सहमति गरेर आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए । तर साउन २२ गते बसेको पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय पदाधिकारीको बैठकले उक्त माग कार्यान्वयनका लागि आयल निगमलाई झकझक्याउने र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ ।

निगमले सहमति पालना नगरेपछि आफूहरू पुनः आन्दोलित हुन बाध्य भएको महासंघका अध्यक्ष खगेश्वर बोहोराले बताए । भदौ १ सम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र आन्दोलनका अन्य कार्यक्रम गरिने महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको जिकिर छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्र्यांकर चलाउन नसकिने बताएको छ ।

बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्र्यांकर व्यवसायीहरू गतवर्षदेखि नै आन्दोलित छन् । भाडा बढाउनेबारे गतवर्ष आयल निगमले विज्ञ समूहमार्फत अध्ययन गराएको थियो । तर, व्यापार निश्चित भएको क्षेत्रमा अधिक भाडादर समितिले निर्धारण गरेपछि तत्कालीन निगम नेतृत्व भाडा समायोजन नगर्ने अवस्थामा पुगेको थियो ।

निगमको अध्ययन समितिले रूटअनुसार ३ देखि १६ प्रतिशतसम्म भाडा बढाउन सुझाव दिएको थियो, जसलाई निगमले अधिक भएको भन्दै थप अध्ययन गर्न पुल्चोक इन्जिनीयरिङ कलेजलाई अध्ययन प्रतिवेदन थमाएको थियो ।

आयल निगमको वर्तमान सञ्चालक समिति इन्धनको मूल्यवृद्धिले जनताको ढाड सेकिएको बेला व्यवसायीको भाडा बढाउन सहमत छैन । तर, व्यापारीबाट प्रभावित भएर निगमले सञ्चालक समितिमा ७ पटकसम्म भाडा वृद्धिको प्रस्ताव लगेको बोर्ड सदस्यहरूले बताउने गरेका छन् ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement