ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

बिचरा विचारधारा

२०७९ साउन, २७  
तीतो मीठो
author avatar मदन लम्साल

मानिसहरूले भन्न थालेका छन्– राजनीतिक दलहरू कुनै विचारधारा अनुसार चलेका छैनन् र तिनका नेताहरूमा अहिले विचारशून्यता छ, विचारको धारा नै छैन । तर संविधानको धारा नै राम्रोसँग नचलेको देशमा जाबो विचारको धारा के चल्थ्यो र ?

कुर्सीजीवी जन्तुहरूका विचारधाराले उत्सव मनाइरहेको छ । बाँकी अन्य सबैका विचारधारामा खिया लागेको छ वा अँधेरो सुरुङभित्र तकिया राखेरै सुतिरहेको छ ।

नेताहरू धुँवाधार विकासे भाषण पनि गर्छन् । तर त्यसमा धार हुँदैन, धुँवा मात्र हुन्छ । किनकि विचार नभएपछि बाँकी त धुँवा मात्र न हुने हो । त्यसैले देशमा उपलब्धिहरू शून्य शून्य नै छन् । तर देशको उपलब्धि शून्य भएर के भो र देश हाँक्नेको उपलब्धि कति हो कति, गनेर र भनेर साध्यै छैन ।

तैपनि हाम्ले हाम्रा नेताका बारेमा यो छ, त्यो छैन भनेर किन भनिरहनु ? उनीहरूले यो गरे, त्यो गरे भनेर पनि किन गुनासा गरिरहनु ? उनीहरू जस्ता भए पनि हाम्रै हुन् । उनीहरूले पहिले वाइड बडीको कति खाए, त्योभन्दा पहिले धमिरा(जा) लगाएर खाए, लाउडाबाट खाए, चेज गरेर खाए, सडक खाए, पुल खाए, के के खाए खाए । अहिले कहाँ कहाँबाट के खाइरहेका छन् भनेर किन कराइरहने ? ५० लाख खाए, ५० करोड खाए, अर्बौं पनि खाए त के भो ? हाम्रै हुन्, आफ्नै त हुन् । आफ्नै देशको खाएका छन् । कराउने किन ? आफ्नाले नखाए कसले खान्छ त ? यो देशको सम्पत्तिमा सबैको अधिकार छ । तपाईं पनि खानुस् र ऐश गर्नुस् । विपक्षीहरू संसद्मा कराइरहेका छन् । त्यहाँ तिनीहरू नै कराइरहेका छन्, जसले आफू खान पाएका छैनन्, खान पाएको बेलामा उनीहरू नै देशमा रामराज्य छ जस्तो गर्थे त !

त्यसैले पाए तपाईं पनि खानुस् न । खाने कुरामा कुनै समस्यै छैन त । खाने पिउने कुरामा कसैले बोल्ने कामै छैन नि । अख्तियार होस् कि अदालत, प्रशासन होस् कि प्रहरी, खान पाएको बेला नखाने त मूर्ख पो हो त । अचेलको जमानामा नखाई कोही बस्ला त ? त्यसैले नेताहरूले खाए पिए भनेर गाली गर्ने काम बन्द गरौं । कसले के खायो के पियो भनेर त्यसमा तपाईंलाई के लेना देना ? बरु आफ्नो आत्मविश्वास बढाउनु नि खानपिनमा । न आफू खाने, न अरूलाई सजिलैसित खान दिने । के हो यस्तो ? यो त अलि हजम भएन नि । अतिरिक्त आय गर्नु अन्याय हो रे । अन्याय भनेको त अन्य प्रकारको आय हो नि । यो आय प्राप्त गर्दा के अन्याय भो त ?

सरकारले आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेको छ । बरु तपाईं पनि चुनाव लडनुस्, जित्नुस् । कुनै मालदार मन्त्रालय मिलाउनुस् । अनि मज्जासँग खान शुरू गर्नुस् । तपाईंलाई कसले रोक्न सक्छ, कसले छेक्न सक्छ ? त्यसैले त निर्वाचन नामक नाटकमा भाग लिन आयोगमा राजनीतिक दल दर्ता हुने क्रम बढ्दो छ ।

तर म भने यता राजनीतिक विचारधारामाथि चिन्तन गरिराछु । जुन दल हेर्छु, उसको विचारधारा गायब देख्छु । विचारभन्दा माथि देश भन्ने, तर सबैभन्दा माथि पेटलाई राख्ने पो हो त । बिचरा विचार एकातिर छ, धारा अर्कैतिर । यसरी राजनीतिक विचारधारा शून्य पाएपछि मैले विचारधारालाई अन्यत्रै खोज्ने निश्चय गरेँ ।

शिक्षा स्वास्थ्यमा पनि विचारधारा शून्य पाएँ । पूर्वाधार, परराष्ट्र सम्बन्धमा पनि विचारधारा शून्य नै पाएँ । जुनजुन क्षेत्रतिर हेरे पनि सबैतिर विचारधारा शून्य शून्य नै पाएँ । कतै नभेटेपछि सोचेँ संगीत, साहित्यतिर पो छ कि विचारधारा भनेर । तर त्यसमा पनि शून्य शून्य नै हात लाग्यो । यता समान विचारधारा भएका भनिएका मानिसहरू पनि सँगसँगै हिँडेको मैले कहिल्यै देख्न पाइनँ । बरु विरोधी विचारधाराका व्यक्तिहरू चैं कहिलेकाहीँ साथसाथ हिँडिरहेकोे देखेको छु । आफू आफू मिल्न नसक्ने, तर विरोधीसँग मिल्ने गजबको धारा पाएँ । खाने पानीको धाराभन्दा पनि तगडा पो रहेछ यो धारा त ! खाने धाराले सबै विचारधारालाई जोड्दो रछ । तर आफ्नै विचार भएकालाई चाहिँ तोड्दो रछ । त्यही भएर त एकातिर पार्टी तोडफोडको महाअभियान चलिरहेको छ, अर्कातिर गठजोडको महामारी भइरहेको छ ।

बरु विचारधारा नामका बिचराहरूको धारा चैं धेरै बनेका छन् । थुप्रै विचारधाराहरूका थुप्रै गुट, उपगुटहरू देखिएका छन् । गुटभित्र गुट । गुट बाहिर गुट । गुटका पछाडि गुट । गुटका अगाडि गुट । अखण्ड हुनुपर्ने विचारधारा खण्ड खण्ड हुँदै पाखण्डतिर फैलिरहेको छ ।

मैले हिम्मत हारिनँ र विचारधारा खोज्न कुनै कसर छाडिनँ । खोज्दा खोज्दै पाएँ कि हिजोआज बेइमान र बिचौलियाहरूको विचारधारा सबैतिर छाएका छन् । चोर डाँकाहरूको विचारधारा बरु एकअर्कोसित मेल खाएका छन् । कुर्सीजीवी जन्तुहरूका विचारधाराले उत्सव मनाइरहेको छ । बाँकी अन्य सबैका विचारधारामा खिया लागेको छ वा अँधेरो सुरुङभित्र तकिया राखेरै सुतिरहेको छ ।

मैले स्वयं आफ्नै विचारधारा पनि खोज्ने प्रयास गरेँ । तर मेरो निजी विचारधारा टुटेफुटेको, जीर्ण जीर्ण, छरपस्ट भएको पो देखेँ । अनि मैले विचारशून्य भएर विचारधारा खोज्ने क्रम जारी राखेँ । त्यसपछि के देखेँ भने कतिपय विचारधाराहरू तेलको डिपोको अगाडि लाइनमा अस्तव्यस्त उभिएका छन् । फरक फरक विचारधाराहरूको फरक फरक लाइन । आआफ्नै विचारधाराका आआफ्नै मन पर्ने तेल । मैले आफ्नो विचारधाराको तेल पहिचान गर्ने प्रयास गरेँ । तर चिन्न सकिनँ । थकित, गलित भएपछि मैले आफ्नै जस्तो देखिने एउटा झुत्रो, मटमैलो, जीर्ण विचारधाराको पिठ्युँमा थपथपाएँ । भनेँ, ‘हेलो माई डियर विचारधारा ! मैले वर्षौंदेखि तिम्रोे प्रतीक्षा गरिरहेको थिएँ । कहाँ हराएका थियौ तिमी ? मेरो यो अभिवादन मुद्रायुक्त व्यवहारबाट विचारधारा चिन्तित देखियो । उसले मलाई भन्यो, ‘भाग यहाँबाट । अरूको विचारधारालाई आफ्नो भन्न लाज लाग्दैन तिम्लाई ? मलाई आफ्नै रंगढंगको तेल लिन देऊ । म कति समयदेखि आफ्नो रँगको तेल लिन यो लाइनमा उभिरहेको छु ।’

यसो भनेर विचारधारा फेरि तेल लिने लाइनमा लागी । मैले विचारधारालाई फेरि सोधेँ, ‘तिमीसँग त तेल लिने भाँडो समेत छैन । अनि तिमी तेल चैं केमा हाल्छौ ?’ अनि विचारधाराले आफ्नो कान देखाएर भनी, ‘यसैमा थाप्छु तेल ।’ अनि सबै विचारधाराले एकस्वरमा भने, ‘हो हो कानमा तेल !!!’ यस्तो सुनेपछि मेरो टाउकोलाई रिँगाटा लाग्न थाल्यो । लाग्छ मेरो विचारधारा पनि तेल लिन गयो । राजनीतिको विचारधारा त उहिल्यै तेल लिन गइसकेको छ । साहित्य, संगीत, शिक्षा, स्वास्थ्य आदिका विचारधारा पनि कम छैन तेल लिन जानेमा । यता जुन जुन विचारधाराहरूले तेल लिए, ती विचारधाराहरूले तेललाई आफ्ना कानमा हाल्न शुरू गरे । म भने रनभुल्ल परेर फेरि आफ्नै गोरखधन्दामा फर्किएँ । के तपाईंले देख्नुभएको छ त स्वतन्त्र विचारधारा कतै, जो कानमा तेल हाल्दैन ? अनि तपाईंको विचारधारा चैं के छ नि ?

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement