ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

परराष्ट्रमन्त्री र चिनियाँ समकक्षी भेटवार्ताकाे सहमतिबारे संयुक्त विज्ञप्ति नआउँदा अन्याेल

२०७९ साउन, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यी र खड्काबीच बुधवार दुईपक्षीय सहमति भएको भनिए पनि त्यसबारे औपचारिक रूपमा संयुक्त विज्ञप्ति आएको छैन । नेपाल र चिनियाँ परराष्ट्र मन्त्रालयले भेटबारे सामान्य जानकारी दिन विज्ञप्ति जारी गरे पनि भएका सहमतिबारे संयुक्त विज्ञप्ति नआउँदा अन्योल सृजना भएको छ ।

डा‍ खड्का र वाङको भेटवार्तामा चीनले नेपाललाई यस वर्ष ८० करोड युयान अनुदान दिने घोषणा गरेको चिनियाँ विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । तर, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसबारे केही उल्लेख छैन ।

‘दुवै पक्षले यथाशक्य चाँडो बेल्ट एन्ड रोड कार्यान्वयन योजनामा हस्ताक्षर गर्नेछन् । यस वर्षभित्रै संयुक्त आर्थिक र व्यापार समिति तथा निर्वाध व्यापार कार्य समूहको बैठक आयोजना हुनेछ,’ चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

वार्तापछि परराष्ट्रद्वारा बुधवार राति जारी विज्ञप्तिमा दुई परराष्ट्रमन्त्रीले नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरीबी निवारण, कृषि, विपत् व्यवस्थापन, शिक्षा, संस्कृतिलगायतको थप प्रवर्द्धन गर्ने सहमति गरेको भनिएको छ । परराष्ट्रका अनुसार नेपाल–चीन संयुक्त सीमा निरीक्षण समितिको विद्यमान संयन्त्रका लागि आवश्यक तयारी गर्न द्विपक्षीय प्राविधिक समिति गठन गर्ने सहमति पनि भएको छ । 

परराष्ट्रमन्त्री खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता दोहोर्‍याउँदै नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने आश्वासन दिएको बताइएको छ । ‘नेपाली पक्षको अनुरोधमा चिनियाँ पक्षले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्भाव्यता अध्ययन गर्न सकारात्मक रूपमा विचार गर्ने आश्वासन दिएको छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा छ ।

दुवै परराष्ट्रमन्त्रीले सीमा क्षेत्रमा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय गरेका छन् । ‘चीनको स्वशासित क्षेत्र तिब्बतमा कोभिड–१९ को महामारी नियन्त्रण भएपछि रसुवा–केरुङ र तातोपानी–जाङ्मु बन्दरगाह दुईतर्फी व्यापारका लागि र हिल्सा–पुलाङ बन्दरगाह एकतर्फी व्यापारका लागि खोल्ने सहमति भएको छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ । यसबारे चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा केही उल्लेख छैन ।
 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement