ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

शेयरबजारमा सकारात्मक कदम

२०७९ साउन, २९  
सम्पादकीय
Image Not Found

धितोपत्र बजारलाई सुधार गर्ने क्रममा नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताका मागलाई सम्बोधन गर्न प्रक्रिया शुरू गरेको छ । मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका कम्पनीहरूको विनाआधार शेयर कारोबार रोक्का हुने गरेकामा त्यसलाई सुधार गर्ने, नयाँ धितोपत्र व्यवसायी दलाल थप्ने तथा दलाल कम्पनीहरूको चुक्ता पूँजी बढाउनुपर्ने जस्ता सुधारात्मक प्रक्रिया अगाडि बढ्नु पूँजी बजारका लागि सकारात्मक कदम हो ।

जबसम्म शेयरबजार व्यवस्थित हुँदैन, तबसम्म सबै लगानीकर्ताले अपनत्व महसूस नगर्ने भएकाले बोर्डले सबैको विश्वास जित्न विवादरहित कदम चाल्दै जानुपर्छ ।

संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदा तयार पारी बोर्डले सरोकारावालाहरूलाई अध्ययनका लागि सार्वजनिक गरेको छ । यसको अध्ययन गरेर लागू गर्ने बोर्डको तयारी छ । मस्यौदाअनुसार मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका कम्पनीहरूको शेयर कारोबार बढीमा १५ दिनमात्रै रोक्का गरिनेछ । मर्जरमा गएका कम्पनीहरूको शेयर कारोबार लामो समयसम्म रोकिँदा लगानीकर्ताले आक्रोश नै व्यक्त गरेका थिए । लगानीकर्ताले आफूलाई परेको गर्जो टार्न शेयर विक्री गर्ने गरेका छन् । यस्तोमा कुनै कम्पनीको कारोबार रोकिनु भनेको उनीहरूलाई मर्कामा पार्नु हो । शेयरमा लगानी गर्नुको कारण मुनाफामात्रै होइन, यसमा रहेको तरलता पनि हो । अर्थात् आफूलाई चाहिएको बेलामा विक्री गरेर नगद प्राप्त गर्न सक्नु हो । थोरै पूँजी पनि लगानी गर्न सकिने तथा आवश्यक पर्दा सहजै विक्री गरेर नगद प्राप्त गर्न सकिने शेयरबाहेक लगानीको अन्य औजार छैन भन्दा पनि हुन्छ । यस्तोमा शेयर कारोबार रोकिँदा लगानीकर्ता निराश हुनु स्वाभाविक हो । अझ यसरी लामो समयसम्म कारोबार रोक्का राख्ने अन्तरराष्ट्रिय अभ्याससमेत पाइँदैन ।

यही भएर लगानीकर्ताले बारम्बार छोटो अवधिका लागि मात्रै कारोबार रोक्का राख्न माग गर्दै आएका छन् । खासमा धितोपत्र बोर्डभन्दा पनि बैंक तथा वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकका कारण बोर्डले कारोबार रोक्ने गरेको थियो । अहिले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यो व्यवस्था हटाउने बताएपछि बोर्डले पनि यस्तो व्यवस्था गर्न लागेको हो । त्यस्तै बोर्डको प्रस्तावअनुसार अर्थ मन्त्रालयले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली २०६४ को संशोधित मस्यौदा मन्त्रिपरिषद्मा लगेको छ । नयाँ ब्रोकर थप्ने, ब्रोकर कम्पनीहरूको चुक्ता पूँजी बढाउनेजस्ता प्रस्ताव मस्यौदामा राखिएको छ । स्टक डिलरको अनुमतिपत्रका लागि रू. १ अर्ब ५० करोड पूँजी चाहिने, सीमित कार्य गर्ने धितोपत्र दलालका लागि रू. २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालका लागि ६० करोड चुक्ता पूँजी प्रस्ताव गरिएको छ । त्यस्तै बोर्डले दलालको संख्या तोक्नुभन्दा पनि निश्चित मापदण्ड पूरा गरेका कम्पनीलाई अनुमति दिने नीति लिएको बताएको छ ।

यसरी पूँजी बजारको सुधारका लागि ल्याइएका नयाँ व्यवस्था सकारात्मक छन् । धितोपत्र दलाल कम्पनीहरूले नै शेयर धितोमा कर्जा दिनेजस्ता कुराका लागि संशोधन मस्यौदाका प्रावधानले बाटो खुल्ने देखिन्छ ।

धितोपत्र बोर्डले आफ्नो क्षेत्राधिकारभित्रको काम अझै प्रभावकारी रूपमा सम्पादन गर्न नसकेको आरोप पनि छ । बजारलाई पूर्ण रूपमा आधुनिक बनाउने काम अझै पूरा भएको छैन । कारोबारका नयाँनयाँ उपकरण ल्याउन सकेको छैन । शेयरबजारभित्र हुने चलखेल रोक्न प्रभावकारी काम भएको छैन । त्यस्तै यस्तो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउन सकेको पनि देखिँदैन । त्यसैले त्यतातर्फ पनि बोर्डले सक्रियता देखाउन आवश्यक छ ।

केही समयअघि बोर्डका पदाधिकारीहरू भारतीय पूँजी बजारको अध्ययन गर्न गएका थिए । भारतीय पूँजी बजार निकै परिपक्व मानिन्छ । त्यहाँको असल अभ्यासलाई नेपालमा लागू गर्न सके शेयरबजार निकै परिपक्व र विश्वसनीय बन्न सक्छ । त्यसैले बोर्डले आफ्नो सक्रियता अझै बढाएर ५२ लाखभन्दा बढी लगानीकर्ताको मन जित्न आवश्यक छ । जबसम्म शेयरबजार व्यवस्थित हुँदैन, तबसम्म सबै लगानीकर्ताले अपनत्व महसूस नगर्ने भएकाले बोर्डले सबैको विश्वास जित्न विवादरहित कदम चाल्दै जानुपर्छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement